logo
२०८० चैत्र १५ बिहीवार



निःशुल्क चिकित्सकीय परामर्श

चिकित्सकको परामर्शबिना आफैँ किनेर सेवन गरिएका औषधिले पछिका दिनमा असर गर्ने ।

मुख्य समाचार |


निःशुल्क चिकित्सकीय परामर्श


सरोज ढुङ्गेल

काठमाडौँ, असार ७ गते । भक्तपुरका सबिन अधिकारीलाई केही समयअघि कोरोना सङ्क्रमण पुष्टि भयो । कोरोना देखिएपछि सामान्य असर देखिन थाल्यो । अस्पतालमा शøया खाली थिएनन् । त्यसैले सबिन घरमै छुट्टै कोठामा बस्नुभयो ।
स्वास्थ्यमा असहज भएपछि उहाँले स्वास्थ्य मन्त्रालयको फेसबुक पेजमा आउने नम्बरमा फोन गर्नुभयो । त्यो फोन लागेन । लागेको बेला पनि उठ्दै उठेन । त्यसपछि सामाजिक सञ्जालमा नेपाल चिकित्सक सङ्घले उपलब्ध गराएको मोबाइल नम्बर भेट्नुभयो । त्यहाँ फोन गर्दा उहाँको स्वास्थ्य समस्या बताइसकेपछि चिकित्सकले राम्रो सल्लाह दिनुभयो । सोही सल्लाहअनुसार घरमै बसेर उहाँले कोरोना परास्त गर्नुभयो । टोखा निवासी प्रतीक न्यौपानेलाई पनि कोरोना देखिएको थियो । जिउ दुख्ने, ज्वरो आउने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने जस्ता समस्या देखिएपछि न्यौपानेले अस्पताल जाने निधो गर्नुभयो । अस्पताल जानलाई शøया नपाउने समस्याले कुनै चिकित्सकसँग परामर्श गर्न सकिन्छ कि भनेर पहल गर्नुभयो । त्यो पहल सार्थक भएन । चिनजानका साथीमार्फत टेकुस्थित शुक्रबार ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलासँंग टेलिफोनमै सम्पर्क भयो । डा. बास्तोलाको सुझावअनुसार प्रतीकले अनुसरण गर्दै जानुभयो । अहिले उहाँलाई पूर्ण रूपमा कोरोना ठीक भइसकेको छ । डा. बास्तोलाले स्वास्थ्यमा समस्या नभएपछि एकपल्ट छातीको एक्स–रे गरेर पठाउनु भनेकाले न्यौपानेले छातीको एक्स–रे गर्नुभयो, पठाउनुभयो र समस्या समाधान पनि भयो ।
कोरोना कालमा सामाजिक सञ्जालमा आएका भ्रमपूर्ण विज्ञापन हेरेर सङ्क्रमितले आफूखुसी औषधि सेवन गरिरहेका छन् । चिकित्सकको परामर्शबिना आफैँ किनेर सेवन गरिएका औषधिले आउँदा दिनमा असर गर्ने चिकित्सकको भनाइ छ ।
वरिष्ठ फिजिसियन डा. भूपेन्द्रकुमार बस्नेतले आफूखुसी वा सामाजिक सञ्चालमा आएका विज्ञापनलाई हेरेर एन्टिबायोटिक तथा अन्य औषधि सेवन गर्नाले त्यसले असर गर्ने बताउनुहुन्छ । सङ्क्रमित भइसकेपछि फोनबाटै भए पनि चिकित्सकका सल्लाहअनुसार आफ्नो उपचार गर्दा धेरैलाई राम्रो भएको अनुभव सुनाउनुभयो । कोरोना सङ्क्रमित भएका बेला स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल चिकित्सक सङ्घलगायत चिकित्सा पेसासँग सम्बन्धित विभिन्न सङ्घ–संस्थाले टेलिफोनमार्फत सङ्क्रमितलाई सुविधा दिएका थिए ।

नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. लोचन कार्कीले कोरोना सङ्क्रमण भई घरकै एकान्तबासमा बसेका सङ्क्रमितका लागि कल सेन्टरको स्थापना गरेर सङ्घले सेवा दिएको जानकारी दिनुभयो । उहाँले ११५६ मा निःशुल्क फोन गरी विशेषज्ञ चिकित्सकसँग परामर्श गर्न सकिने जानकारी दिँदै हालसम्म एक हजार जनाले त्यस्तो सेवा लिएको जानकारी दिनुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले फागुनदेखि दुईवटा कल सेन्टरमार्फत सङ्क्रमितलाई सेवा दिँदै आएको छ । उक्त कल बिहान ६.०० बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने गर्छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले १११५ र १११३ कल सेन्टरमा सङ्क्रमित तथा कोभिड–१९ सम्बन्धी सेवा र परामर्श लिन सकिने बताउनुभयो । उक्त कल सेन्टरबाट करिब दुई हजार जनाले सेवा लिने गरेका छन् ।
नेपाल चिकित्सक सङ्घका महासचिव डा. बद्री रिजालले नेपाल चिकित्सक सङ्घ, अमेरिका नेपाल मेडिकल फाउन्डेसन, नेपाल टेलिकम तथा ॐ आदि फाउन्डेसनले संयुक्त रूपमा हट लाइन सेवा ११५६ सुरु गरेको र त्यसबाट पनि धेरै सङ्क्रमितले सेवा लिएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?