logo
२०८१ बैशाख २६ बुधवार



बाढीपहिरो पीडितका लागि स्वास्थ्यसेवा

मुख्य समाचार |


बाढीपहिरो पीडितका लागि स्वास्थ्यसेवा


सरोज ढुङ्गेल

मेलम्ची, असार १३ गते । सिन्धुपाल्चोकको मेलम्ची तथा हेलम्बु क्षेत्रमा बाढीपहिरोपछि पानीजन्य सङ्क्रामक रोग नियन्त्रणका लागि मेलम्ची नगरपालिकाले विभिन्न सङ्घसंस्थाको सहयोगमा काम सुरु गरेको छ । नगरपालिकाले छुट्टै हेल्थ डेस्क स्थापना गरी समिति बनाएर काम सुरु गरेको हो ।
बाढीपहिरो प्रभावित क्षेत्र सिन्धुपाल्चोकको मेलम्चीमा पानीजन्य रोगको सङ्क्रमण देखिन सुरु गरेको छ । बाढीपहिरोबाट विस्थापित भएका मेलम्चीमा एकै परिवारका पाँच जनामा झाडापखालाको समस्या देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापागाईंले बाढीपहिरोपछि देखिनसक्ने रोग नियन्त्रणका लागि प्रभावकारी ढङ्गले काम भइरहेको बताउनुभयो । उहाँले हेलम्बु तथा मेलम्चीमा विस्थापित भई बसेका स्थानीयवासीलाई चिकित्सकसहितको स्वास्थ्य शिविर सञ्चालन गरिएको जानकारी दिनुभयो ।

चिकित्सकसहितको टोली
परिचालन : चापागाईं
पक्कै पनि बाढीपहिरोपछि पानी तथा सरसफाइबाट विभिन्न सरुवा रोगहरू सर्ने हुन्छन् । मेलम्ची र हेलम्बुमा पनि बाढीले ठूलो धनजनको क्षति गरेको छ । विस्थापितहरू बसेको ठाउँमा चिकित्सकसहितको छुट्टै टोली परिचालन गरिएको छ । आकस्मिक औषधिको व्यवस्था पनि गरिएको छ । खानेपानीमा सङ्क्रामक रोग निम्त्याउने भाइरसहरू छन् कि भनेर स्वास्थ्य कार्यालयको प्राविधिकसहितको टोलीले छ स्थानमा खानेपानीको नमुना सङ्कलन गरी परीक्षण गरेको थियो ।
परीक्षण गर्दा त्यस्ता भाइरस कतै भेटिएन । खानेपानीबाहेक सरसफाइ गर्ने तथा शौचालयका लागि प्रयोग हुने स्थानमा भने भाइरस देखिएको छ । धेरै जना मानिस एकै ठाउमा बस्दा कोरोना सङ्क्रमण फैलनसक्ने भएकाले एन्टिजेन परीक्षणको व्यवस्था पनि गरेका थियौँ । एन्टिजेन परीक्षणमा १८ जनामध्ये एक जनालाई पोजेटिभ देखाएको छ भने मेलम्चीमा सात जनालाई परीक्षण गरिएकोमा सातै जनालाई नेगेटिभ देखाएको छ । बाढीपहिरोपछि तत्काल रोग नियन्त्रणमा जुटेको हुनाले हालसम्म कुनै सङ्क्रामक रोग
लागेको छैन ।

रोग नियन्त्रणको प्रयास : घोरासैनी
मेलम्ची नगरपालिका स्वास्थ्य शाखा प्रमुख ज्ञानेन्द्र घोरासैनीले विभिन्न सङ्घसंस्था, हरेक वडाका स्वास्थ्य इञ्र्चाज, नर्स, पारामेडिक्स सम्मिलित समिति बनाएर बाढीपहिरोपछि देखिन सक्ने रोग नियन्त्रणमा लागिएको जानकारी दिनुभयो । उहाँले एक परिवारका पाँच जनालाई झाडापखालाको समस्या देखिए पनि हाल नियन्त्रणमा आइसकेको जानकारी दिनुभयो । दाताले दिएको खाद्यान्न म्याद नाघेको हुनाले पाँच जनालाई झाडापखालाको समस्या देखिएको उहाँको भनाइ छ ।
उहाँले पानीजन्य रोग लाग्न नदिन जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको जानकारी दिँदै रेडक्रस तथा सामाजिक सङ्घसंस्थाहरूको सहकार्यमा औषधि, उपचारका लागि व्यवस्था गरिएको बताउनुभयो । हालसम्म जनचेतनाको कारणले अन्य रोग लाग्नबाट बचाउन सकिएको उहाँले जानकारी गराउनुभयो ।

राहत व्यवस्था प्रभावकारी : मेयर डम्बरबहादुर अर्याल
केही दिन अघिसम्म विद्यालयमा छ सय जनालाई राखेका थियौँ । उनीहरूलाई खाना तथा बस्ने व्यवस्था मिलाइएको छ । अहिले पनि २५ परिवार विद्यालयमा बसोबास गरिरहेका छन् । छुुट्टै कोठा लिएर बस्नेलाई नगरपालिकाले भाँडाकुँडा किनेर दिएको छ । खाद्यान्नको व्यवस्था पनि गरेको छ । केही परिवार खाना विद्यालयमै खाएर बस्न अन्यत्र जाने गरेका छन् ।
धेरै घर बाढीले बगाएको हुँदा कोठामा बस्ने मानिस झनै प्रभावित छन् । धेरैजना मानिस एकै ठाउँ बस्दा स्वास्थ्य समस्या हुने भएकाले स्वास्थ्यकर्मीसहितको टोली परिचालन गरिएको छ । औषधि उपचारको व्यवस्था पनि गरेका छौँ ।

खोपमा प्राथमिकता :स्वास्थ्य प्रवक्ता पौडेल
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बाढीपहिरोबाट विस्थापित भएकालाई स्वास्थ्य मन्त्रालयले खोप लगाउने निर्णय गरिसकेको बताउनुभयो । उहाँले जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा बाढीपछि आउन सक्ने रोग नियन्त्रणको काम पनि भइरहेको जानकारी दिनुभयो । बाढी पहिरोपछि झाडापखाला, कमलपित्त, लामखुट्टेको टोकाइबाट सर्ने रोग डेङ्गु, मलेरिया फैलन सक्ने भएकाले सचेत हुनुपर्ने उहाँले बताउनुभयो । यस्तै टाइफाइड, आउँ, हेपाटाइटिसलगायतका समस्या हुने भएकाले विस्थापितले यी रोग लाग्न नदिन खानेपानी र सरसफाइमा विशेष ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?