logo
२०८० चैत्र १६ शुक्रवार



खोप प्रमाणीकरणमा सहज

मुख्य समाचार |


खोप प्रमाणीकरणमा सहज



सरोज ढुङ्गेल

काठमाडौ, साउन १० गते । रामेछामको लिखु तामाकोसी गाउँपालिका–४ का रामहरि दाहाल यतिखेर कतार जानका लागि तयारी अवस्थामा हुनुहुन्छ । यसअघि उहाँ तीन वर्ष कतार बसेर आउनुभएको हो । कोरोना भाइरसका कारण सिर्जना भएको दोस्रो बन्दाबन्दी (निषेधाज्ञा)अघि उहाँ काठमाडौ आउनुभएको थियो ।
निषेधाज्ञापछि उहाँ कतार जान पाउनुभएको छैन । दुई महिनाका लागि बिदामा आउनुभएका दाहाल अहिलेसम्म नेपालमै हुनुहुन्छ । कतारमा काम गरिरहेको संस्थाले कोरोनाविरुद्धको खोप लगाएर मात्र आउन भनेपछि उहाँ अहिलेसम्मै नेपालमै रहने अवस्था सिर्जना भएको हो । अमेरिकाले कोरोनाविरुद्धको जोन्सन एन्ड जोन्सन खोप नेपालमा पठाएपछि सरकारले विदेश जाने कामदारका लागि भिसा भएकालाई पनि खोप लगायो ।
उहाँले वीर अस्पतालमा छ घण्टा लाइनमा बसेपछि बल्लतल्ल खोप लगाउनुभयो तर पनि उहाँ कतार जान पाउनुभएको छैन । खोप लगाएको प्रमाणका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बिहान ९ बजे खोप प्रमाणीकरणका लागि पुग्नुभयो । उहाँले बेलुकी ४ बजे मात्र खोप प्रमाणीकरणको प्रमाणपत्र पाउनुभएको छ । दुई दिन यही काममा अलमलिनुभएका दाहालले अब भने सहजै कतार पुगेर आफ्नो कामलाई निरन्तरता दिनुहुनेछ ।
यस्तै खोटाङ चर्खौले घर भई हाल स्वयम्भू बस्दै आउनुभएका नवराज सुवेदी पनि दुई वर्ष विदेशमा काम गरेर नेपाल फर्किनुभएको थियो । डेढ महिनाको बिदा लिएर नेपाल आउनुभएका सुवेदीको समस्या त्यही हो । नेपाल आउनेबित्तिकै कोरोना बढेकाले यतिखेर उहाँ नेपालमै हुनुहुन्छ । जोन्सन एन्ड जोन्सनको खोप लगाइसक्नुभएका उहाँले अब भने विदेश उड्न पाउनुहुने छ । खोप प्रमाणीकरणका लागि उहाँले दुई घण्टा मात्र लाममा बस्नुप-यो । पछि चिनेको साथीमार्फत छिट्टै खोप प्रमाणीकरण गर्नुभयो ।
यसअघि टेकु अस्पतालमा खोप प्रमाणीकरणका लागि हजारौँको लाइन हुने गरेको थियो । उक्त विषय गोरखापत्र दैनिकलगायतले उठाएपछि अहिले सरकारले खोप प्रमाणीकरणका लागि टेकुसहित चार अस्पताललाई तोकेको छ । दाहाल र सुवेदीजस्ता हजारौँ विदेशमा काम गर्न जाने युवाले खोप लगाउन र प्रमाणीकरणका लागि धेरै दुःख झेल्नुप¥यो । चारवटा केन्द्र तोकेपछि अब अन्य विदेश जानेले प्रमाणीकरणका लागि दुःख झेल्नुपर्ने छैन ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले एउटै अस्पतालबाट मात्र खोप प्रमाणीकरणको व्यवस्था गर्दा धेरैले लाइनमा बसेर दुःख पाएको भन्दै तीन स्थानमा उक्त सुविधा थप गरिएको जानकारी दिनुभयो । अब विदेश जानेहरूले खोप प्रमाणीकरणका लागि दुःख नपाउने अवस्था सिर्जना हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
टेकु अस्पतालका निर्देशक डा. अनुप बाँस्तोलाले सुरुमा टेकु अस्पतालबाट मात्रै खोप प्रमाणीकरणका लागि आउँदा समस्या भएपछि सरकारले नयाँ स्थान थप गरेपछि अवस्था सामान्य भइसकेको जानकारी दिनुभयो । वरिष्ठ भाइरोलोजिस्ट डा. वासुदेव पाण्डेले सरकारले यसअघि नै खोप प्रमाणीकरणका लागि ठाउँ तोक्नुपर्ने बताउनुभयो । नेपालीले खोप लगाइसकेपछि पनि खोप लगाएको छु भन्नका लागि दुःख पाउनु ज्यादै दुःखद विषय भएको उहाँ बताउनुहुन्छ ।

स्वास्थ्य मन्त्रालयले एउटा मात्र केन्द्रमा हजारौँको लाइन भएपछि काठमाडौँ र ललितपुरका गरी चार ठाउँबाट कोभिड खोप कार्ड प्रमाणीकरण गर्ने व्यवस्था गरेको छ । टेकुमा खोप कार्ड प्रमाणीकरण गराउनेको चाप अत्यधिक बढेपछि मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै थप तीन ठाउँबाट सो कार्य गर्ने निर्णय भएको हो ।
सो निर्णयअनुसार टेकुसहित मीनभवनस्थित सिभिल अस्पताल, पाटन अस्पताल र बलम्बुको सशस्त्र प्रहरी अस्पतालबाट समेत खोप कार्ड प्रमाणीकरण हुनेछ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तर्गतको खोप शाखा प्रमुख डा. झलक गौतमले अब यस्तो समस्या नहुने विश्वास व्यक्त गर्नुभयो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?