logo
२०८१ बैशाख ७ शुक्रवार

   बाचौँ/बचाऔँ   



टन्सिललाई हेलचेक्र्याइँ नगरौँ

मुख्य समाचार |


टन्सिललाई हेलचेक्र्याइँ नगरौँ


सरोज ढुङ्गेल

काठमाडौँ, मङ्सिर २६ गते । जडीबुटीकी मीना गिरीलाई नियमित घाँटी दुख्ने तथा टन्सिलको समस्या छ । महिनैपिच्छे नाक–कान–घाँटी रोग विशेषज्ञकहाँ गएर देखाउनैपर्छ । केही दिनअघि मात्र अस्पताल गएर उहाँले उपचार गराउनुभएको थियो ।

उहाँलाई घाँटी सक्सकाउने र दुख्ने समस्या देखिएपछि चिकित्सकले धुलोमैलोबाट जोगिन आग्रह गर्दै औषधि सिफारिस गरे । उहाँले औषधि सेवनपछि केही दिनसम्म ठीक हुने र केही समयपछि त्यही समस्या दोहोरिने गरेको गुनासो गर्नुभयो । कहिलेकाहीँ त मीनालाई टन्सिलसमेत हुने गरेको छ । टन्सिल हुँदा उहाँलाई एन्टिबायोटिक खानुपर्ने हुन्छ ।

जाडो मौसममा टन्सिल हुने सम्भावना धेरै हुने भएकाले चिसोबाट बच्न चिकित्सकहरू सुझाव दिन्छन् । वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ डा. प्रकाश थापाले यस हप्ता आफूले टन्सिलका धेरै बिरामी हेरेको बताउनुभयो । उहाँले धुलोमैलो, धुँवा, खानपानले घाँटीमा असर गर्ने र टन्सिल हुने सम्भावना रहने जानकारी दिँदै जाडो मौसममा चिसो तथा फ्रिजमा राखिएका खाद्य पदार्थ एवं पेय पदार्थ पिउँदा पनि घाँटी दुख्ने र टन्सिल हुने बताउनुभयो । उहाँका अनुसार रुघाखोकी बढ्दै जाँदा पनि टन्सिलको जोखिम रहेको बताउनुभयो ।

कतिपयलाई टन्सिल निको पार्न एन्टिबायोटिक्सको प्रयोग गर्नुपर्ने हुन्छ । नाक, कान, घाँटी रोग विशेषज्ञ डा. दीपेन्द्र श्रेष्ठले टन्सिल सबैको समस्या हो भन्दै कसैलाई नियमित टन्सिल हुन सक्ने बताउनुभयो । उहाँले ब्याक्टेरियाबाट हुने टन्सिलका कारण तत्कालीन र दीर्घकालीन जटिलता एकदमै खतरापूर्ण हुन सक्ने बताउँदै एकपटक टन्सिल भइसकेपछि निको हुने तर बारम्बार बल्झिरहन सक्ने हुँदा सतर्कता अपनाउनुपर्ने सुझाव दिनुभयो ।

सङ्क्रमण फैलिएर टन्सिल ग्रन्थी नजिकै ठूलो फोकामा पिप जम्न सक्ने र सङ्क्रमण फैलिएर घाँटीको भित्री तहसम्म पुग्ने सम्भावना रहन्छ । सङ्क्रमण रगतमा फैलिएर दीर्घकालीन रूपमै असर हुनेगरी मुटु, मिर्गौला, जोर्नी र दिमागमा समेत खतरा पु¥याउन सक्छ ।
बालरोग विशेषज्ञ डा. दिनेश कोइरालाले बालबालिकालाई पनि टन्सिलको समस्या हुन सक्ने बताउँदै टन्सिल हुँदा प्रशस्त आराम गराउने तथा तातो पानी पिउने, चिया वा कागतीपानीमा मह मिसाएर खान दिने, मनतातो पानीमा नुन घोलेर दिनमा चार÷पाँचचोटि कुल्ला गर्न लगाउने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?