logo
२०८१ बैशाख २२ शनिवार

  शहिद स्मारक ‘ए’ डिभिजन लिग  



लिगको चौंथो चरण सकिँदा मच्छिन्द्र र मनाङ बलियो

खेलकुद |


लिगको चौंथो चरण सकिँदा मच्छिन्द्र र मनाङ बलियो


काठमाडौँ, मङ्सिर २८ गते । शहिद स्मारक ‘ए’ डिभिजन लिगको चौंथो चरणका खेल सकिँदा साविक विजेता मच्छिन्द्र क्लब र मनाङ मस्र्याङ्दी क्लब बलियो देखिएका छन् । स्टार खेलाडीले भरिएको मच्छिन्द्र र मनाङलाई विदेशी खेलाडीको पनि राम्रो साथ रहेको छ ।

शीर्षस्थानमा रहेको मच्छिन्द्रले लिगमा अपराजित यात्रा कायम राखेको छ । मच्छिन्द्रसँगै अपराजित रहनेमा मनाङ, साविक उपविजेता त्रिभुवन आर्मी र संकटा क्लब रहेका छन् । चार खेलमा तीन जित र एक बराबर नतिजा निकालेको मच्छिन्द्रको १० अंक छ । समान १० अंक बनाएको मनाङ गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ ।

मनाङले पनि तीन जित र एक बराबरी नतिजा आत्मासाथ गरेको छ । तेस्रो र चौंथो स्थानमा रहेको आर्मी र संकटाको समान आठ अंक छ । करिब ३३ प्रतिशत खेल सकिँदा शीर्ष चार टोली उपाधि दौडमा देखिएका छन् । 

सुरुवातमा आक्रामक देखिएको सातदोबाटो युथ क्लब चौंथो चरणमा आएर पराजित भएपछि पाँचौँ स्थानमा झरेको छ । ‘ए’ डिभिजन लिगमा नवप्रवेशी सातदोबाटोले दुई जित एक बराबर र एक हार खेप्यो । चौंथो चरणमा सातदोबाटोलाई एनआरटीको नमिठो झड्का लाग्यो । अघिल्ला तीन खेलमा उत्कृष्ट प्रदर्शन गरेको सातदोबाटो चौंथो राउन्डमा एनआरटीसँग १–० गोलले पराजित भएको हो ।

यसैगरी छैटौँ, सातौँ, आठौँ र नवौँ स्थानमा रहेका थ्री स्टार, ब्रिगेड ब्वाइज, नेपाल पुलिस र एनआरटीको समान पाँच अंक छ । १०औँ स्थानमा रहेको च्यासलको चार अंक छ । समान दुई अंक बनाएको फ्रेण्ड्स र हिमालयन शेर्पा क्लब क्रमशः ११ औँ र १२ औँ स्थानमा छन् । लिगमा एउटै जित निकाल्न नसक्ने चार टोलीमा फ्रेण्ड्स, शेर्पा, जावलाखेल युथ र एपीएफ क्लब छन् । जावलाखेल र एपीएफ रेलिगेसन रेखामा छन् । एक अंक बनाएको जावलाखेल १३औँ र एपीएफ १४ औँ स्थानमा छ । यी दुई टोली लिगको सुरुदेखि चौथो चरणसम्म रेलिगेसनमै रहे ।

२८ खेलमा ५० गोल

लिगमा अहिलेसम्म २८ खेल सम्पन्न भएको छ । जसमा कुल ५० गोल भएका छन् । यो औसत १.७८ गोल हो । लिगमा ३९ खेलाडीले गोल गरेका छन् । दुई आत्मघाती गोल भएको छ । सर्वाधिक तीन गोल गर्ने खेलाडीमा सातदोबाटोका अजयी मार्टिन्स, मच्छिन्द्रका सुनिल बल र संकटाका निरज बस्नेत हुनुहुन्छ । पाँच खेलाडीले दई तथा २९ जनाले एक गोल गर्नुभएको छ । दुई गोल आत्मघाती भएको छ । रेफ्रीले ७७ वटा पहेँलो कार्ड र एउटा रातो कार्ड देखाए ।

पहिलो पटक मोफसलमा खेलिँदै

शहिद स्मारक ‘ए’ डिभिजन लिग पहिलो पटक मोफसलको पोखरामा पनि खेलिने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार लिगको नवौँ चरणसम्मको खेल तालिका सार्वजनिक गरेसँगै पोखरामा तीनवटा खेल हुन लागेको हो । लिगमा मनाङ मस्र्याङ्दी क्लबले तीन वटा खेल पोखरा रंगशालामा खेल्ने छ । पोखरा रंगशालालाई घरेलु मैदान बनाउने निर्णय गरेको मनाङले पाँचौँ, सातौँ र आठौँ चरणको खेल पोखरामा खेल्नेछ ।

मनाङले पाँचौँ चरणमा पुस ३ गते नेपाल पुलिस, सातौँ चरणमा पुस १७ गते ब्रिगेड ब्वाइज र आठौँ चरणमा पुस २४ गते च्यासल युथ क्लबसँग पोखरामा खेल्नेछ । मनाङको आग्रहलाई स्वीकार गरेर एन्फाले पोखरामा लिगका केही खेल सञ्चालन गर्न लागेको जनाएको छ ।

रेफ्रीको निर्णयमा असन्तुष्टि

मैदान भित्र खेलाडीको घम्साघम्सीसँगै मैदान बाहिरको घटनाले पनि लिगलाई रोचक बनाउँदै लगेको छ । तीन महिनासम्म चल्ने लिगमा रेफ्रीको निर्णयलाई लिएर असन्तुष्टि जनाउने क्रम पनि सुरु भएको छ । रेफ्रीको निर्णयमा सबैभन्दा बढी आपत्ति अनाउने प्रशिक्षकमा जावलाखेलका प्रशिक्षक किशोर केसी र च्यासलका प्रशिक्षक बालगोपाल साहुखल हुनुहुन्छ । दोस्रो चरणको खेलमा साहुखलले फुटबलको स्तर उकास्न रेफ्रीको क्षमतामा पनि विकास गर्नुपर्ने टिप्पणी गर्नुभएको थियो ।

‘क्लबको लगानी र खेलाडीको प्रदर्शनले मात्र राम्रो हुने रहेनछ । रेफ्रीले अनावश्यक फल देखाउने । कार्ड दिनु पर्नेलाई नदिने । नदिनु पर्नेलाई दिने काम भयो । एन्फाले रेफ्रीको विषयमा पनि ध्यान दिए राम्रो,’ साहुखलको कथन थियो ।
यसैगरी जावलाखेल प्रशिक्षक केसीले पनि ब्रिगेडविरुद्ध गोलरहित बराबरी खेलपछि रेफ्रीको कडा आलोचना गर्नुभयो । ‘रेफ्रीबाट सही निर्णय भएन भने फुटबल विकास सम्भव छैन । ‘ए’ डिभिजन खेलाउने रेफ्रीको श्रेणी पनि माथिल्लो हुनुपर्छ । फिफा रेफ्रीले किन खेल खेलाई रहेको छैन । यसमा कि एन्फाकै षड्यन्त्र छ ?’ केसीले प्रश्न गर्नुभयो ।

पछिल्लो समय एन्फा पदाधिकारी र फिफा रेफ्रीबीच ‘फिटनेस टेस्ट’ को विषयमा विवाद भएको थियो । त्यसपछि जारी लिगमा फिफा रेफ्रीलाई तुलनात्मक रुपमा कम खेलको जिम्मा दिइने गरेको छ ।

यस्तो छ लिगको पुरस्कार

घरेलु फुटबल विकासका लागि महत्वकांक्षी मानिएको ‘ए’ डिभिजन लिग विजेताले पाउने पुरस्कारको रकम र सहभागी टोलीको घटुवा (रेलिगेसन) को हिसाबले पनि महत्वपूर्ण छ । १४ क्लबको सहभागी लिगको विजेताले ७५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । उपविजेतालाई ५० लाख र तेस्रो हुने टोलीलई २५ लाख रुपैयाँ प्रदान गरिने एन्फाले जनाएको छ ।

यसैगरी लिगमा प्रत्येक खेलको विजेतालाई ५० हजार र खेल बराबरी भएको अवस्थामा दुवै टोलीलाई २५/२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । लिगको ‘मोस्ट भ्यालुएबल’ खेलाडीलाई तीन लाख, उत्कृष्ट गोल रक्षकलाई ‘गोल्डेन ग्लोब’सहित दुई लाख, सर्वाधिक गोलकर्तालाई ‘गोल्डेन बुट’सहित दुई लाख रुपियाँ र ‘राइजिङ प्लेयर’ लाई एक लाख ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।

हरेक खेलको ‘म्यान अफ दी म्याच’ लाई १० हजार रुपियाँ प्रदान गरिएको छ । सिंगल राउन्ड रोविन लिगमा कूल ९१ खेल हुनेछ । तालिकाको अन्तिममा रहने दुई टोली ‘बी’ डिभिजनमा घटुवा हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?