logo
२०८१ मंसिर ८ शनिवार



झारफुकमा विश्वास गर्दा ज्यानै गुम्ने डर

मुख्य समाचार |


झारफुकमा विश्वास गर्दा ज्यानै गुम्ने डर


काठमाडौँ, माघ ३ गते । रोग निको हुने अन्धविश्वासका कारण धामी झाँक्रीकहाँ धाउने प्रचलन कायमै छ । समाजका शिक्षित व्यक्तिसमेत झारफुक गरी रोग बिसेक हुने विश्वासमा धामी झाँक्रीकहाँ पुग्ने गरेका छन् । झारफुकमै विश्वास गर्दा कतिपयले ज्यानसमेत गुमाउनुपरेको छ ।
टोलमा टाँगिएका ‘झारफुकबाट सबै रोगको उपचार गरिन्छ’ वा ‘टुनामुनाबाट मोहनी लगाउने र फुकाउने काम गरिन्छ’ भन्ने जस्ता प्रचार सामग्रीका पछाडि कुद्नेहरू पनि उत्तिकै हुने गरेका छन् ।

प्रहरी प्रवक्ता (डीआईजी) मुकुन्दराज आचार्यले धामी झाँक्री वा मातासँग उपचार गराउने नाममा गएको साउन यता पाँच जनाले ज्यान गुमाइसकेको बताउनुभयो । प्रहरीका अनुसार बोक्सीको आरोप लगाउने तथा झारफुकको बहानामा कुटपिट गर्ने ३५ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ । केही दिनअघि काठमाडौैँमा पनि यस्तै घटना भएको छ । टाउको दुख्ने समस्या भएपछि झारफुक गराउन झाँक्री (माता)सँग गएकी १४ वर्षीया बालिकाको शङ्कास्पद मृत्यु भयो । नागार्जुन नगरपालिका–१, रानीवनमा आफूलाई माता बताउने उमा शाही ठकुरी कहाँ उपचारका लागि लगिएकी १४ वर्षीया बालिका रोशनी श्रेष्ठको मृत्यु भएको थियो ।

टाउको दुःखेको उपचार हुने सुनेर मृतककी आमा राधिका श्रेष्ठले पुस ३ गते छोरी रोशनीलाई झारफुकका लागि भन्दै माता ठकुरीकै घरमै छोडेर आउनुभयो । पुस २४ गते एक्कासि माताले छोरी बेहोस भएको खबर गरेपछि रोशनीलाई स्वयम्भूस्थित मनमोहन अस्पतालमा लगे पनि अस्पताल पु-याउनुभन्दा पहिला नै बालिकाको मृत्यु भइसकेको चिकित्सकले जानकारी दिएका थिए ।

महानगरीय प्रहरी परिसर स्वयम्भूका प्रहरी नायब उपरीक्षक मिलन केसीले आरोपी मातालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको बताउनुभयो । “पोस्टमार्ट रिपोर्टपछि मात्रै मृत्युको कारण भन्न सकिन्छ,” उहाँले भन्नुभयो । मानव अधिकारकर्मी भोजराज तिमल्सिनाले धामीझाँक्रीबाट उपचार गराउँदा भयावह परिणाम आउने गरेको बताउँदै सार्वजनिक नभएका डरलाग्दा घटना थुप्रै हुनसक्ने बताउनुभयो ।

उपचारका नाममा मानव बलि दिएका घटना पनि नेपालमा भएका छन् । प्रहरी प्रवक्ता आचार्यले पाँच वर्षमा २१० वटा बोक्सी आरोपका उजुरी दर्ता भएको बताउनुभयो । “बोक्सा–बोक्सीबाट सुरु भएर उपचारसम्म पुग्छ, त्यसपछि मृत्युका घटना भइरहेका छन्,” उहाँले भन्नुभयो ।
“कुटेर, पिटेर, फुकेर उपचार हुने भए त सबैले घरमै गरिहाल्थे नि,” नेपाल झाँक्री सङ्घका अध्यक्ष चेतबहादुर थिङले भन्नुभयो, “आफूसँग भएको शक्तिको प्रयोग गरेर नछोई उपचार गर्नसक्नु पर्छ भन्ने सङ्घको मान्यता छ । उपचारको नाममा कुटेर पिटेर मानिसको ज्यान लिनेलाई हदैसम्मको कारबाही गरिनुपर्छ । ” जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रवक्ता उमाकान्त अधिकारीले कतिपय दर्ता भएर र कतिपय दर्ताबिना यस्ता काम भइरहेको बताउँदै यस्ता संस्था र तिनले गर्ने गतिविधिको अनुगमन गर्न समस्या भइरहेको स्वीकार्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?