logo
२०८० चैत्र १६ शुक्रवार



वैशाख ३० मा स्थानीय चुनाव गर्ने सरकारकाे निर्णयकाे दलहरूद्वारा स्वागत

राजनीति |


वैशाख ३० मा स्थानीय चुनाव गर्ने सरकारकाे निर्णयकाे दलहरूद्वारा स्वागत


काठमाडौं, माघ २४ गते । सरकारले आगामी आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकैपटक गर्ने निर्णय गरेसँग दलहरूले यसकाे स्वागत गरेका छन् । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीहरुबीचमा जेठ ४ मा स्थानीय तहको निर्वाचन गर्ने सहमति जुटेको थियो । तथापि, विगतदेखि नै संविधान बमोजिम वैखाशभित्र स्थानीय तहको निर्वाचन गर्ने भनिए अनुरुप सोमबारको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचन वैशाख ३० मा गर्ने निर्णय गरेको छ । यससँगै सबैजसो दलहरु आगामी चुनावी प्रतिस्पर्धामा भाग लिने मनस्थितिमा छन् ।

पाँच दलको गठबन्धनको सरकारको यस निर्णय सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) ले पनि स्वागतयोग्य रहको प्रतिक्रिया दिएका छन् । ‘मिति घोषणा गर्नुपर्छ भनेर हाम्राे पार्टीले अनुमति दिएकै हो । त्यही घोषणा भएको मितिमा प्रतिस्पर्धामा अघि बढ्नुपर्छ ।’, एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनुभयो ।

वैशाख ३० गते स्थानीय तहको चुनाव मिति घोषणा गरेर सरकारले राम्रो गरेको खतिवडाको भनाई छ । पछिल्लो समय प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको उपस्थिति रहेको थिएन । तर, यस छलफलको भोलिपल्टै सरकारले चुनावको मिति घोषणा ग-यो । ती शीर्ष नेताहरुको छलफलमा नेपालको सहभागीता नरहेकोप्रति पनि यसलाई सामान्य एवम् स्वभाविक रहेको उहाँको बुझाइ छ । यसबाहेक चुनावबारे पार्टीको फरक दृष्टिकोण नरहेको पनि उहाँले बताउनुभएको छ ।

यस्तै, सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले पनि चुनावको मिति घोषणा हुनुलाई स्वभाविकरुपमा लिइनुपर्ने प्रतिक्रिया दिनुभएको छ । अब, घोषणा भएको मितिमा प्रतिस्पर्धामा जानुपर्ने र वैशाख ३० मा नै चुनाव हुने उहाँको भनाई छ ।

यसैगरी, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नेता शेरबहादुर तामाङले पनि स्थानीय तहको चुनावको मिति वैशखभन्दा पर सार्ने कुरा कानुन बमोजिम नभएकोले वैशाख ३० गते घएको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया दिनुभएको छ ।

‘निर्वाचनको मिति पर लाने कुरा मिल्दैनथ्यो । अब, सत्ता गठबन्धन रहन्छ कि रहदैन, यो हेर्न बाँकी छ । गठबन्धनसहित दलहरु आएमा भने एक्लै लड्ने आँट छैन भन्ने हामी बुझ्छौं । अरु कुनै दल एमालेसँगमिलेर चुनाव लड्छ भने पनि यो स्वीकार्य छ ।’, तामाङले बताउनुभयो । तर, पाँच वर्षसम्म अर्कै एजेण्डा बोक्ने र चुनावको बेला चुनावमा गठबन्धन गर्ने कुरा भने लोकतान्त्रिक नहुने उहाँले बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रप) का नेता भुवन पाठक पनि स्थानीय तहको निर्वाच्न वैशाख ३० मा घोषणा हुनु सकारात्मक र स्वागतयोग्य भएको बताउनुहुन्छ । ‘यो एकदमै राम्रो कुरा हो । बीचमा निर्वाचन नहोला र मिति सर्ने भन्ने लगायत संवैधानिक कुराहरुको अन्यौलता थियो । मिति घोषणासँगै यो अन्यौलता टरेको छ ।’, पाठकले बताउनुभयो ।

राप्रपाको केन्द्रीय समितिले बैठकले पाठककै संयोजकत्वमा स्थानीय निकाय निर्वाचन तयारी समिति गठन गरिसकेको अवस्था छ, उहाँ बताउनुहुन्छ । सरकारले चुनावको मिति घोषणा गरेसँगै निर्वाचन आयोगले भने चुनावको तयारी थप तीव्र पारेको जनाइएको छ ।

यसअघि संविधान र स्थानीय तहको निर्वाचन सम्बन्धि ऐन, २०७३ बाझिएको र यसलाई संविधान बमोजिम संशोधन गर्न सरकारले कानुनविद्हरुसँग पनि परामर्श लिएको थियो । यसपश्चात् समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष ओली पहिलो पटक प्रधानमन्त्री निवास बालुवाटारमा पुग्नुभएको थियो ।

अब भने, राजनीतिक दलहरु आगामी स्थानीय तहको निर्वाचनका लागि प्रतिस्पर्धामा उत्रने तयारीमा जुट्ने देखिन्छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?