logo
२०८१ बैशाख १७ सोमवार



झोल युरिया मल ल्याउन अनुमति

अर्थ |


झोल युरिया मल ल्याउन अनुमति


काठमाडौँ, फागुन २४ गते । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको समस्या कम गर्न झोल नानो युरिया मल बिक्री वितरणका लागि अनुमति दिएको छ ।यसअघि दानादार युरिया मल मात्र आयात गर्न पाइनेमा अब झोल युरिया मल पनि ल्याउन पाइने कृषि तथा पशुपन्छीमन्त्री महिन्द्रराय यादवले जानकारी दिनुभयो ।दाना युरिया मलभन्दा सस्तो र सजिलो तरिकाले उपलब्ध हुने भएकाले त्यसको विकल्पमा किसानले नानो युरिया मल प्रयोग गर्न सकिने मन्त्री यादवले बताउनुभयो ।

नानो युरिया मललाई नेपालमा आयात र प्रयोग गर्न अनुमति दिइएको र सूचीकृत गरिएको सूचना सोमबार राजपत्रमा प्रकाशित भएको छ ।राजपत्रमा उल्लेख भएबमोजिम हालसम्म नेपालमा ५२ प्रकारको मल पाइन्थ्यो । अब नानो युरिया मलसहित ५३ प्रकारको मल पाइनेभएको छ ।यसअघि प्राङ्गारिक मलको मात्र झोल आयात गर्न पाइने व्यवस्था थियो । पहिलो पटक रासायनिक मल पनि झोलका रूपमा पाउने भएको छ । यसको उत्पादन भारतमा हुन्छ । त्यहाँबाट सजिलै तरिकाले खरिद गरेर ल्याउन सकिन्छ ।

नानो युरिया मल नेपालका लागि उपयुक्त छ कि छैन भनी परीक्षणका लािग कृषि मन्त्रालयले मन्त्रालयका सहसचिव रहनुभएका माटो विज्ञ डा. चन्द्र ढकालको नेतृत्वमा एउटा समिति बनेको थियो । त्यो समितिले खुमलटारमा नानो युरिया मलको परीक्षण गरेको कृषि मन्त्रालयका सहसचिव कमलराज गैरेले बताउनुभयो । समितिले काउली तरकारीमा नानो युरिया मलको प्रयोग गरेको छ । यो परीक्षणबाट सकारात्मक परिणाम आएपछि नेपालमा यो नानो युरिया मल प्रयोग गर्न सकिने सिफारिस गरिएको सहसचिव गैरेले बताउनुभयो । काउली तरकारीमा गरेको परीक्षणबाट नानो युरिया मल सस्तो पर्ने देखिएको छ । दाना युरिया मलको तुलनामा यो नानो युरिया मल प्रयोग गर्दा प्रतिहेक्टर आठ हजार १५० रुपियाँ कम खर्च लाग्ने देखिएको छ ।

उत्पादन पनि दाना युरिया प्रयोग गरेकोभन्दा यसको प्रयोगले उत्पादन बढी देखिएको छ । परीक्षण गर्दा अन्य मलको तुलनामा नानो युरिया मल प्रयोग गर्दा प्रतिहेक्टर ४.६७ मेट्रिक टन बढी उत्पादन भएको देखाइएको छ ।यो मल प्रयोग गर्दा लगानी कम र उत्पादन बढी हुने परीक्षणले पुष्टि गरेपछि सरकारले प्रयोगका लागि किसानलाई अनुमति दिएको उहाँले जानकारी दिनुभयो । एक बोरा (५० केजी) दानादार युरिया मल बराबर पाँच सय एमएल नानो झोल मल हुने गरेको छ । पाँच सय एमएल झोल युरिया मलको ३८० रुपियाँ मात्र पर्छ जब कि एक बोरा दाना युरिया मलको मूल्य अनुदानसहित ७५० रुपियाँ पर्छ ।

सहसचिव गैरेका अनुसार दानादार युरिया मल माटोमा छर्न सकिन्छ तर यो नानो युरिया मल बाली उम्रेपछि पातमा मात्र छर्न सकिन्छ । नानो युरिया मल स्पे्र गर्नुपर्ने भएकाले दानादार युरिया मल लगाउन लाग्नेभन्दा अलि महँगो र झन्झटिलो छ ।ठूलो क्षेत्रमा नानो मल छर्नका लागि ड्रोन प्रयोग गर्न सकिन्छ, ड्रोन नभए अरू छर्किने मेसिन नै चाहिन्छ, त्यसका लागि अतिरिक्त खर्च लाग्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?