logo
२०८१ बैशाख १९ बुधवार



तनहुँ दुर्घटना : उपचारको क्रममा तीन जनाको मृत्यु

मुख्य समाचार |
समाज |


तनहुँ दुर्घटना  : उपचारको क्रममा तीन जनाको मृत्यु
दुर्घटना भएको बस र दुर्घटनापछि उछिटिएको टाटा सुमो। तस्बिर: अमरराज नहर्की


दमौली, फागुन २९ गते। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा आइतबार दिउँसो भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक महिला र दुई पुरुष रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

मृतकको नामथर वतन नखुलेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो। दुर्घटनामा घाइते भएकालाई थप उपचारका लागि चितवन पठाइएकामा तीनको मृत्यु भएको जानकारी प्राप्त खड्काले बताउनुभयो।

मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग २ ख ३०७ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ग ३ च ६०१२ नम्बरको टाटा सुमो एकआपसमा ठक्कर खाएका थिए।

घाइतेमध्ये नौलाई थप उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज पठाइएको थियो। दुर्घटनामा घाइते हुनेमा शुक्लागण्डकी नगरपालिका बस्ने ८० वर्षीय दामोदर पुरी, आँबुखैरेनी गाउँपालिका–४ बस्ने २८ वर्षीया देविका थापामगर, सोही ठाउँका १८ वर्षीया आरती खवास र गोरखाको गण्डकी गाउँपालिका–१ बस्ने ३८ वर्षीया डिनमया नेपाली रहेको प्रहरीले जनाएको छ।

यसैगरी आँबुखैरेनी गाउँपालिका–३ बस्ने ३३ वर्षीया हिरा बसेल, शुक्लागण्डकी नगरपालिका बस्ने ३३ वर्षीय जितेन्द्र शाही, सोही ठाउँ बस्ने ५२ वर्षीया गोमा शाही, ४१ वर्षीया दिनु शाही, कास्कीको पोखरा महानगरपालिका बस्ने ५२ वर्षीय राम शाही र ५२ वर्षीया ज्ञानु शाही घाइते भएका हुन्।

यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?