logo
२०८० चैत्र १५ बिहीवार



कोभिडले तङ्ग्रिन सकेन सफा टेम्पो

अर्थ |


कोभिडले तङ्ग्रिन सकेन सफा टेम्पो


काठमाडौं, चैत ११ गते । कोरोना भाइरसकाे महामारीले थलिएको सफा टेम्पो व्यवसाय अझै तङ्ग्रिन सकेको छैन । ऋणले थलिएपछि बैंक व्याज तिर्न नसक्दा र ब्याट्री फेर्न नसकेपछि ५० प्रतिशत टेम्पो अझै सञ्चालनमा आउन सकेका छैनन् ।

काठमाडौं, ललितपुर र भक्तपुरमा गरी ७१४ वटा सफा टेम्पो सञ्चालनमा रहे पनि हाल चार सय वटा मात्र सञ्चालनमा रहेको र बाँकी थन्किएको अवस्थामा रहेकाे सफा टेम्पो व्यवसायीका अध्यक्ष होमप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

लामो समयसम्म नचल्दा ब्याट्रीले काम गर्न छाेडेपछि थप नयाँ ब्याट्री परिवर्तन गर्न नसक्दा टेम्पो सडकमा गुड्न नसकेको उहाँको भनाइ छ । एक सेट लिथियम ब्याट्री परिवर्तन गर्न १० लाख रुपियाँ लाग्ने र लिड एसिड सेट ब्याट्री परिवर्तन गर्न तीन लाख रुपियाँ खर्च हुने गर्छ । लिथियम पाँच वर्ष टिक्छ भने लिड एसिड ब्याट्री एकदेखि दुई वर्षसम्म मात्र टिकाउ हुने गर्दछ ।

आधाभन्दा बढी टेम्पो ब्याट्री फेर्न रकम अभावकै कारण थन्किएको र सञ्चालनमा रहेका समेत नेपाल विद्युत प्राधिकरणले चार्जिङ शुल्क वृद्धि गरेका कारण व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेको अध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।

प्राधिकरणले यस अघि पाँच रुपीयाँ ३० पैसा प्रतियुनिट शुल्क लिँदै आए पनि वृद्धि गरेर छ रुपीयाँ ६० पैसा पु¥याएको छ भने चार्जिङ स्टेशनमा डिमाण्ड शुल्क अत्यधिक बनाउँदा महँगो पर्न आएको सफा टेम्पो चालक तेजलाल ढुङ्गेलले बताउनुभयो ।

सबै शुल्क जोड्दा सफा टेम्पोले प्रतियुनिट नौ रुपियाँभन्दा बढी तिर्नुपर्ने बाध्यता छ भने डिमान्ड शुल्क भन्दै प्रत्येक चार्जिङ स्टेशनमा २० हजारसम्म तिर्नुपर्ने बाध्यता रहेपछि विद्युतीय सवारीसाधनहरु सञ्चालनमा चुनौती थपिएको उहाँको भनाइ छ ।

सफा टेम्पो व्यवसायीहरुले घरेलुमा दर्ता गरेर सञ्चालन हाल काठमाडौं र ललितपुरमा २८ वटा चार्जिङ स्टेशन सञ्चालन गर्दै आएको छ ।

यता, सरकार र प्राधिकरणले भने आयातित इन्धनलाई कम प्रयोग गर्ने र देशमै उत्पादित विद्युत प्रयोगमा वृद्धि गर्न प्रोत्साहन गर्ने योजनाहरु सञ्चालन गर्ने जनाउँदै आएको छ । तर व्यवहारमा प्रयोग नगरिँदा पछिल्लो समय विद्युतीय सवारी प्रयोगकर्तामा कमी आउने गरेको पाइएको छ ।

ऋणको भारले उठ्न नसकेको सफा टेम्पो र उता इन्धनको मूल्य आकासिएको बेला यो व्यवसायलाई सरकारले थप राहत सुविधा दिनु आवश्यक रहेको देखिन्छ ।

कोरोनाले समस्या बनाएकाे व्यवसायलाई थप सहज बनाउन विभागले नयाँ योजना ल्याउने तयारीमा रहेको यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालले जानकारी दिनुभयो ।

यातायात व्यवस्था विभागले ‘काठमाडौं दिगो सहरी यातायात आयोजना’ अन्तर्गत साना सवारी व्यवस्थापन गर्दै राजधानीको ट्राफिक जाम नियन्त्रण गर्न चरणबद्ध रूपमा सार्वजनिक साना सवारीसाधन विस्थापन गरी ठूला सञ्चालन गर्ने योजना बनाएको छ ।

सोही अनुसार सफा टेम्पो व्यवसायीहरुले चारपाङग्रेमा परिणत गरी १७ सीट क्षमताको टेम्पो सञ्चालनमा ल्याउने तयारी गरे पनि सरकारले साथ सहयोग नगरेको व्यवसायीहरुको आरोप छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?