logo
२०८१ मंसिर २७ बिहीवार



श्रीलङ्काका नयाँ अर्थमन्त्रीद्वारा एक दिनमै राजीनामा

अन्तर्राष्ट्रिय |


श्रीलङ्काका नयाँ अर्थमन्त्रीद्वारा एक दिनमै राजीनामा


कोलम्बो, चैत २२ गते । श्रीलङ्काका नवनियुक्त अर्थमन्त्रीले एकैदिनमा राजीनामा दिनुभएको छ । सोमबार बेलुका अर्थमन्त्रीमा नियुक्त हुनुभएका अलि साब्रीले २४ घण्टा पनि पुरा नहुँदै बुधबार बिहान राजीनामा दिनुभएको हो ।

सोमबार उहाँसँगै अरु तीन गरी चार मन्त्रीले सपथ ग्रहण गर्नुभएको थियो । तत्कालीन मन्त्रीहरूले राजीनामा दिएपछि राष्ट्रपति गोटाबाय राजापाक्षेले उहाँहरूलाई मन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

अहिलेको सांसदभन्दा बाहिरका व्यक्तिहरू सहभागी भएर स्वतन्त्र व्यक्तिहरूको अन्तरिम सरकार बनाउनु पर्ने माग राख्दै उहाँले राजीनामा दिनुभएको हो । त्यसका लागि संसद् सदस्य भएकाहरूलाई संसद् सदस्यबाट राजीनामा गराएर भएपनि जिम्मेबारी दिन सकिने उहाँको भनाइ छ ।

तर, राष्ट्रपतिले भने अहिलेकै सरकारलाई पुनर्गठन मात्रै गर्न थालेपछि आफू त्यसमा सहमत नभएर राजीनामा दिएको साब्रीले स्पष्ट पार्नुभयो ।

देशको अर्थतन्त्र चरम सङ्कटमा पुगेपछि अभाव र समस्या सृजना भएको भन्दै आम नागरिक आन्दोलित भएका छन् । उनीहरूको आन्दोलनलाई दबाउन सरकारले सङ्कटकालसँगै कर्फ्यू जारी गरेको थियो ।

आर्थिक सङ्कटसँगै राजनीतिक सङ्कट पनि गहिरिदै गएपछि तत्कालीन सबै मन्त्री र केन्द्रीय बैंकका गभर्नरले राजीनामा दिनुभएको थियो ।

सरकारमा प्रधानमन्त्री मात्रै रहेपछि राष्ट्रपति राजापाक्षेले सरकारमा सहभागी हुन अन्य दलका नेताहरूलाई आह्वान गर्नुभएको थियो । उहाँकै आह्वान अनुसार सङ्कट समाधान गर्ने अठोटसहित मन्त्री बनेको व्यक्तिले पनि राजीनामा दिने क्रम सुरु भएको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?