logo
२०८० चैत्र १६ शुक्रवार

  उदयपुरमा छात्राकाे हत्या  



एक भारतीय नागरिकसहित दुई जना पक्राउ

मुख्य समाचार |


एक भारतीय नागरिकसहित दुई जना पक्राउ
छात्राको हत्या भएपछि भेला भएका स्थानीय र हत्या गरिएकी छात्रा कविता सुनुवार ।


भोटराज राई
उदयपुर, फागुन २८ गते। उदयपुरको बेलका नगरपालिका–६ किराँत चौककी १६ वर्षीया कविता सुनुवारको हत्या आशंकामा भारत घर भएका एक युवा र स्थानीय एक किशोरीलाई प्रहरीले पक्राउ गरेको छ।

घटनाको अनुसन्धानको क्रममा छानबिन तथा सोधपुछका लागि भन्दै प्रहरीले भारतको सिक्किम राज्य वियुङ घर भएर बेलका बस्दै आएका १९ वर्षीय विनोद ढकाल र उनी बस्दै आएको घरकी १७ वर्षीया सरिता ढकाल (खत्री) लाई पक्राउ गरेको हो।

घटनाको प्रकृति हेर्दा किशोरीको हत्या भन्ने देखिएको र हत्या वा मृत्युको अन्य केही कारण हो भन्ने विषय अनुसन्धानपछि पत्ता लाग्ने इलाका प्रहरी कार्यालय रामपुरका इन्चार्ज प्रहरी निरीक्षक तेजप्रसाद दाहालले जानकारी दिनुभयो। प्रारम्भिक अनुसन्धानमा उनीहरु शंकाको घेरामा परेपछि प्रहरीले छानविन तथा सोधपुछका लागि पक्राउ गरेको हो।

शरीरमा चोटपटकसहित किशोरीको शव भेटिएपछि मंगलबार बिहान स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले घटनास्थलको प्रकृत्ति मुचुल्का उठाएर कानुनी प्रक्रिया अनुरुप शव पोष्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ।

मृतक किशोरी स्थानीय कोशी जनता माध्यामिक विद्यालयको कक्षा १० की छात्रा हुन्। ट्युसन पढ्न बिहान ५ बजे घरबाट हिँडेकी उनी ७ बजे मृत भेटिएकी हुन्। उनको शव घरभन्दा दुई किलोमिटर टाढा यशोदा खोलामा स्थानीयले भेटेका थिए।

दोषीमाथि कारबाही गर्न स्थानीयको माग
स्थानीयले किशोरीको हत्यारा पत्ता लगाई कडा कारबाहीको माग गर्दै रामपुर बजारमा प्रदर्शन गरेका छन्। उनीहरुले घटनाको सूक्ष्म अनुसन्धान गरेर सत्यतथ्य पत्ता लगाई अपराधिलाई कडा कारबाहीको माग सरकारसँग राखेका छन्।

विद्यालयका प्रधानाध्यापक सूर्यनारायण साह र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बस्नेतले छात्राको हत्याको घटनाले अत्यन्तै दुःखी बनाएको उल्लेख गर्नुभएको छ। संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै विद्यालयमा नियमित आउने क्रममा बाटोमा भएको क्रूर र हिंसात्मक घटनाको घोर भर्त्सना गरिएको छ। घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गर्न संयुक्त विज्ञप्तिमा सरकारसँग माग गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?