logo
२०८१ बैशाख १३ बिहीवार



उदयपुरमा ट्युसन पढ्न हिँडेकी छात्राको हत्या

राष्ट्रिय |


उदयपुरमा ट्युसन पढ्न हिँडेकी छात्राको हत्या
छात्राको हत्या भएपछि भेला भएका स्थानीय । तस्बिर: भोटराज राई


भोटराज राई
उदयपुर, चैत्र २२ गते। उदयपुरमा ट्युसन पढ्न हिँडेकी एक छात्राको हत्या भएको छ। जिल्लाको बेलका नगरपालिका–३ बुद्धचौककी १५ वर्षीया छात्रा कविता सुनुवारको  शरीरमा चोटपटकसहित मङ्गलबार बिहान शव भेटिएको हो।

इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाका प्रहरी निरीक्षक तेजप्रसाद दाहालका अनुसार स्थानीयले घरबाट करिब दुई किलोमिटर पर खोलामा छात्राको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

कोशी जनता उच्च माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत सुनुवार मङ्गलबार बिहान ५ बजे ट्युसन पढ्न भनेर घरबाट हिँडेकी थिइन्। घरबाट हिँडेको दुई घण्टापछि उनको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

‘प्रहरी टोलीले घटनास्थलको सुरक्षा घेरा हालेर अनुसन्धान अगाडि बढाएको छ’, प्रहरी निरीक्षक दाहालले भन्नुभयो, ‘घटना शङ्कास्पद रहेकाले गम्भीर रुपमा अनुसन्धान अगाडि बढाएका छौँ।’

घटना लगत्तै स्थानीयले सत्य तथ्य छानबिनको माग गरेका छन्। प्रहरीले घटनाको साेधपुछका लागि दुई जनालाई नियन्त्रणमा लिएको दाहालले जानकारी दिनुभयो।

विद्यालयका प्रधानाध्यापक सूर्यनारायण साह र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बस्नेतले छात्राको हत्याको घटनाले अत्यन्तै दुःखी बनाएको उल्लेख गर्नुभएको छ। संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै विद्यालयमा नियमित आउने क्रममा बाटोमा भएको क्रूर र हिंसात्मक घटनाको घोर भर्त्सना गर्दै घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?