logo
२०८१ मंसिर ८ शनिवार



घिउ लाने गाडीमा गड्डी भैंसी नै हिँडे, गोठ रित्तै

पढ्नै पर्ने |
खुला |


घिउ लाने गाडीमा गड्डी भैंसी  नै हिँडे, गोठ रित्तै


गोकर्ण दयाल

बैतडी, मंङसिर ३ गते । भैंसी पालनका लागि प्रसिद्ध मानिएको बैतडी लगायत सुदूर पहाडका रैथाने जातका गड्डी भैंसी तस्करहरुले गाडीमा चढाएर मासु प्रयोजनका लागि सहरतिर खेदे पछि भैंसी गोठ रित्तिदै गएका छन् ।

रैथाने गड्डी जातको भैंसी पालनका लागि प्रसिद्ध मानिएको बैतडी लगायत सुदूर पश्चिमका पहाडी जिल्लामा भैसीमा देखा परेको खरी रोगको उपचार गर्न पशु प्राविधिक गाउँमा नपुगेपछि भैंसीको उपचार होईन, भैंसी तस्कर किसानको दैलोमा पुगेर तस्करी गर्न थालेका छन् ।
दशक अघिसम्म बैतडीमा उत्पादिन भैंसीको घिउ बजारसम्म पुग्ने गर्दथ्यो । अचेल ती बजारमा घिउ होईन, भैंसीनै गाडीमा चढाएर पुर्याउन थालिएको छ ।

पहिले टिनका टिन घिउ तराई र भारतको पिथौरागढ जान्थ्यो । ५÷७ वटा भैंसी नभएको कुनै घर हुँदैन थियो । तर, पछिल्ला वर्षहरुमा भैंसी गोठ रित्तिदै गएपछि भैंसी लोप हुने अवस्थामा पुगेको किसानहरुले बताएका छन् ।
दूधालु भैंसीमा लाग्ने खरी रोगले भैंसी दुब्लाउँदै दूध दिन छोडेपछि ५०÷६० हजारदेखि एकलाख मुल्य पर्ने भैंसी कौडीको भाऊमा मासुका लागि तस्करहरुले पशुसेवा कार्यालय र प्रहरीको आँखा छलेर तराई लैजाने क्रम बढेको पशु सेवा विज्ञ केन्द्र बैतडीका कर्मचारीले बताएका छन् ।
बैतडीमा बार्षिक १५ सयको हाराहारीमा तस्करहरुले भैंसी तस्करी गर्ने गरेको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बैतडी पाटनले जानकारी दिएको छ ।

पशु सेवा विज्ञ केन्द्र बैतडीको तथ्याङ्क अनुसार आ.ब. २०६९÷०७० मा ५८ हजार तीनसय ७० भैंसी रहेको तथ्याङ्क छ । स्थानीय तहको पुनःसंरचनापछि तीन वर्षदेखि भैंसीको तथ्याङ्क अद्यावधिक हुन नसकेको पशुविकास अधिकृत गुमानीदत्त पन्तले बताउनुभयो । भैंसीमा लागेको खरी रोगको उपचार र रोकथाम गर्न कुनै पनि कार्यक्रम नआएको पन्तले बताउनुभयो ।

बैतडी र दार्चुला दुई जिल्ला हेर्ने जिम्मेवारी तोकिएको पशु सेवा विज्ञ केन्द्रमा कार्यालय प्रमुख समेत नभएको पन्तले बताउनुभयो ।

सुदूर पश्चिमका पहाडी जिल्लामा भैंसी घट्दै जानुको मुख्य कारण खरी रोग लागे पछि उपचार नहुँदा ती भैंसी तस्करको जालोमा पर्ने गरेका छन् । सडक छेउको वस्तीमा बाहेक पुश प्राविधिक ग्रामीण भेगमा नजाँदा उपचार सेवा प्रभावकारी बन्न नसकेको किसानहरुले गुनासो गरेका छन् ।
खरी रोग लागेपछि उपचार नपाउँदा तस्करीका कारण बैतडी,बझाङ, दार्चुला लगायतका ग्रामीण बस्तीमा पाईने रैथाने र गड्डी जातका भैंसी लोप हुने अवस्थामा पुगेका छन् । केही वर्षअघिसम्म प्रायः सबैका घर पालिने रैथाने जातका भैंसी अहिले लोप हुन थालेका हुन् । कैलाली, बाँके, काठमाडौंलगायतका जिल्लाबाट भैंसी खरिद गर्न पुग्नेहरुले विभिन्न प्रलोभन देखाएर पहाडबाट ठूलो संख्यामा भैंसी तस्करी गर्ने गरेका छन् ।

खरी रोगले दूधदिन छोडेका भैंसीहरु मासु प्रयोजनका लागि दलालहरु गाउँ पसेर भैंसी निर्यात गर्न थालेका छन् । ६० हजार मुल्य पर्ने भैंसी दोश्रो बेतमै खरी रोगले थाकेपछि १५ हजारमा दलाललाई बिक्रि गर्ने गरेको बैतडीको सिगास गाउँपालिकाका किसान परमल बोहराले गुनासो गर्नुभयो ।
“ भैंसीमा लाग्ने खरी रोगको उपचार गर्न गाउँमा पशु प्राविधिक नहुँदा किसानलाई ठूलो मर्का परेको छ । बिक्रि नगरे पनि खरी रोगले भैंसी मर्ने गरेका छन् । ” परमलले बाध्यता सुनाउनुभयो ।

बैतडीमा मात्रै गरिबी निवारण कोषले किसानहरुलाई २२ करोड बराबर मुल्यका भैंसी वितरण गरेको तथ्याङ्क छ । गरिबी निवारण कोषले बाँडेका भैंसी भकाभक मर्न थालेपछि २०६८ सालमा नाष्टका वैज्ञानिकहरुले अनुसन्धान गर्दा खरी रोग पत्ता लगाएर उपचारको विधि सुझाएका थिए । तर, पशु प्राविधिक गाउँ नगएपछि भैंसी लोप हुने अवस्थामा पुगेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?