गोरखापत्र अनलाइन
काठमाडौं, पुस २ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस दिएको आरोपमा एकजना सेवाग्राहीलाई नियन्त्रणमा लिएको छ । गोरु ब्यापार गर्न सहयोग गर्न प्रहरी निरीक्षकलाई घुस दिन पुगेका सेवाग्राही पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ पर्ने बसन्तपुर गाउँपालिका ४, रुपन्देही घर भई स्याङ्जाको बालिङ्ग नगरपालिका ८ बस्ने जहरुदिन तेली रहेको जनाएको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार जहरुदिनले गोरु ब्यापार गर्न सहयोग गर्न आग्रह गर्दै प्रहरी निरीक्षकलाई १५ हजार रुपियाँ घुस दिन लागेका थिए । जहरुदिनलाई आयोगको कार्यालयमा उक्त रुपियाँसहित बुझाइएको र थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
त्यसैगरी, जिल्ला प्रहरी कार्यालय, बारामा कार्यरत प्रहरी जवान सरोजकुमार यादबलाई १५ हजार रुपियाँ घुस माग गर्दा पक्राउ गरेको आयोगले जनाएको छ ।