केशवराज पौडेल
काठमाडौं,पुस १३ गते । पश्चिमी न्यून चापिय प्रणाली पूर्व सर्ने क्रममा मंगलबारसम्म नेपाल आइपुग्ने भएको छ । यतीबेला जम्मु काश्मिरमाथि रहेको पश्चिमी न्यून चापीय प्रणाली पूर्व सर्ने क्रममा सोमबार रातीसम्ममा नेपाल प्रवेश गर्ने सम्भावना रहेको जल तथा मौसम विभागले जनाएको छ ।
आज रातीसम्ममा नेपाल प्रवेश गरेसँगै त्यसको असर सुरु हुनेछ । सो प्रणालीका कारण मंगलबार नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भू–भागमा हल्का हिमपात हुने सम्भावना छ । यो प्रणाली बुधबार साँझसम्ममा अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भू–भागमा समेत मध्यम देखी भारी हिमपातको सम्भावना रहेको विभागको अनुमान रहेको छ। ।
सो प्रणालीका कारण बुधबार र बिहीबार देशैभरी बदली भई तापक्रममा गिरावट आई देशैभरी चिसो बढ्ने देखिन्छ । बुधबार र बिहीबार देशका पश्चिमी भू–भागका धेरै स्थानहरूमा र मध्य र पूर्वी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना समेत रहेको विभागले जनाएको छ ।
सो प्रणालीको कारणले शुक्रबार समेत बर्षा र हिमपात गराउने सम्भावना रहेको छ । उच्च पहाडी र हिमाली भू–भागमा मध्यम देखि भारी हिमपात हुन सक्ने र पहाडी भेगमा हल्कादेखि मध्यम वर्षा हुने र साथसाथै तापक्रममा गिरावट पनि हुने सम्भावना रहेको हुनाले हिमपात र चिसोबाट बच्न सतर्कता अपनाउन हुन सर्वसाधारण लगायत सबैमा विभागले अनुरोध समेत गरेको छ ।