काठमाडौँ, माघ ३ गते । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्बन्धी विधेयक चाँडै ल्याउने सहमति भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको उहाँहरुबीचको छलफलमा चालू संसद्को अधिवेशनबाट विधेयक ल्याएर शान्ति प्रक्रियाबाट बाँकी काम टुङ्ग्याउने सहमति भएको नेकपा संसदीय दलका उपनेता सुभाष नेम्बाङले जानकारी दिनुभयो ।
“विधेयकका सम्बन्धमा सातै प्रदेशबाट छलफल भई सुझाव आइसकेको छ”, उहाँले भन्नुभयो, “त्यही सुझावका आधारमा यही संसद्को अधिवेशनबाट आयोगसम्बन्धी कानून ल्याउने सहमति भएको छ ।” प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले छलफल सकारात्मक भएकाले शनिबार पुनःआयोगका सम्बन्धमा छलफल हुने बताउनुभयो ।
छलफलमा नेकपाका नेता नेम्बाङ, खिमलाल देवकोटा, काँग्रेस नेता डा मिनेन्द्र रिजाल, रमेश लेखकलगायत सहभागी रहनुभएको थियो । गत चैत मसान्तदेखि आयोग पदाधिकारी विहीन हुँदा शान्ति प्रक्रियाका बाँकी काम टुङ्गिन सकेका छैनन् । पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा दुवै आयोगका पदाधिकारी सिफारिस समिति गठन गरिएको छ । उक्त समितिले अहिलेसम्म पनि नयाँ पदाधिकारी नाम सरकारलाई सिफारिस गर्न सकेको छैन । जसका कारणले सरकारले ती दुई आयोगमा पदाधिकारी नियुक्त गर्न नसकेको हो ।