उपेश महर्जन
काठमाडौं, माघ १० गते । कतै सानोतिनो आगलागी भयो भने पनि तपाईं हामी के गर्छौं ? एउटै मात्र उपाय दमकल बोलाउने र कुर्ने । समयमा नै आइपुग्यो भने पनि साँघुरा गल्लीमा दमकल पुग्नै समस्या । थोरै संख्यामा दमकल त्यो पनि दिउँसो ट्राफिक जामले सल्केको आगो निभाउन दमकल कुर्दाकुर्दै धेरै क्षति पुग्ने गर्थ्याे ।
अहिले दमकल पस्न नसक्ने साँघुर घना बस्ती क्षेत्रमा उपयोगी हुने प्रविधि स्थानीय स्तरमै जडान शुरु गरिएको छ । यस्तो प्रविधिको परीक्षण काठमाडौंको घनावस्ती मध्यको एक ओमबहालमा शुक्रबार गरिएको छ । यस्तो उपकरण उपत्यकाका भित्री शहरमा झन् प्रभावकारी भएको देखिएको छ ।
विगतमा दमकल जान नसक्ने सो क्षेत्रमा आगलागीहुँदा आगो निभाउन चाँजोपाँजो मिलाउँदै गर्दा धेरै घरपूर्ण रुपमा खरानी भइसक्थ्ये । तर अहिले जस्तोसुकै अप्ठ्यारो क्षेत्रमा पनि आगो निभाउन सकिने भएको छ ।
शुक्रबार ओमबहाल, यँगालमा एककिलोमिटर क्षेत्र भित्र विना दमकल आगोनियन्त्रण गर्न सकिने गरी पाइप बिच्छाउने तथा उपकरण जडान गरी त्यसको पूर्वअभ्यास गरियो । ३० हजार लिटर क्षमताको पानी ट्याङ्की सहित दमकलमा प्रयोग हुने पानी पम्प गर्ने उपकरण र डिजेल प्लान्टको सहायताले आगो नियन्त्रणगर्न सकिने प्रणालीको सफल परीक्षणभएको हो ।
यस्तो प्रणाली तयरा गर्न पानी ट्याङ्की, पानी पम्पगर्ने प्रविधि सहित करीब १५ लाखको रुपियाँ खर्च हुने बताइएको छ ।
काठमाडौँ महानगरपालिकाको वडा नम्बर २३ का वडाअध्यक्ष मचाराजा महर्जनका अनुसार उक्त परीक्षण सफलभएसँगै वडाका चारवटै कुनामा यस्तो प्रविधिजडान गरेर वडालाई आगलागीबाट हुने क्षतिबाट सुरक्षित गरिने छ ।
वडाको पूर्वउत्तरी मोहडामा वारुणयन्त्र ‘दमकल’भएकाले उरानचोक र बलम्पु चोकमा दुईवटा पानी ट्याङ्की निर्माधीन अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो । चारवटै पानीे ट्याङ्कीलाई दोश्रो चरणमा एक अर्कासँग जोड्ने काम हुने उहाँले बताउनुभयो ।
वडा अध्यक्ष महर्जनले गोरखापत्रलाई भन्नुभयो, ‘यंगाल र उरान चोकमा दुुईवटा डिजेल प्लान्ट स्थापना भए पछि छिमेकी वडाहरु २१,२२, १९ र २४मा आगोजन्य विपद आउँदासमेत यस प्रविधिमा भर पर्न सकिन्छ । त्यसका लागि दुई तीनसय मिटरको दूरीमा आपत् पर्दा पानी तान्न सकिने व्यास्था मिलाइएको छ । काठमाडौंमा यस्तो व्यबस्था राणाकालीन समयमा मिलाइएको थियो । उहाँले विगतमा भएको राणाकालीन पाइप काठमाडौंमा केही स्थानमा देख्न सकिने भए पनि त्यो प्रविधिमा हाल पानीको व्यवस्था नभएको जानकारी गराउनुभयो ।
यस्तो प्रविधिमा पानी ट्याङ्कीदेखि एककिलोमिटर परसम्म दुईइन्चको पाइप मार्फत पाँच÷छ तल्लासम्मको आगो सजिल्यै निभाउन सकिन्छ ।
यस्तो परीक्षण शहरी योजना आयोग तथा काठमाडौँ महानगरपालिकाको समन्वयमा विपद व्यवस्थापनको प्रयोगात्मक तथा प्रशिक्षण कार्यक्रम ओमबहालस्थित निर्माणाधीन धर्मभक्त माथेमा पार्कमा गरिएको थियो ।
सो प्रणालीको उद्घाटनका अवसरमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले दमकलआउनु भन्दापहिलानै हामी मानवीय उद्दारको लागि सक्षम हुने जानकारी दिनुभयो ।
विपद व्यवस्थापन समितिले यस प्रविधि सञ्चालनको लागि युवा जनशक्तिको समूह बनाउने तयारी थालेको छ ।
साथै,मानवीय उद्दारका लागि महानगरले नेपाल एम्बुलेन्स सेवासँग साझेदारी गरी सेवा दिइरहेको बारेमा सबैमा जानकारी गराइएको थियो ।
कार्यक्रममा प्रदेशसभा सांसद राजेश शाक्यले विपदमा मानवीय उद्दारका लागि सबै वडाहरुमा यस्ता कार्यक्रम लानुपर्नेमा जोड दिनुभयो ।