गोरखापत्र अनलाइन
काठमाडौं,माघ १६ गते । ललितपुरको सातदोवाटोस्थित फिट एण्ड फाइन जिम सेन्टरमा जीम गरेर स्टीम वाथकालागि कोठामा छिरेका हस्तकुमार गर्वुजामगर र उहाँकी श्रीमती नेत्रकुमारी पुनको निस्सासिएर निधन भएको छ ।
जीम सेन्टरमा साउना (तातो पानीको वाफ लिने कोठा) मा निसास्सिएर पूर्व मन्त्री तथा नेकपा नेतृ थममाया थापाका स्वकीय सचिव दम्पत्तिको मृत्यु भएको ललितपुर प्रहरीका एसपी दुर्गा सिंहले जानकारी दिनुभयो ।
गर्वुजामगर थममाया थापामन्त्री हुदाँ स्वकीय सचिव थिए । उनीहरु सो जीम सेन्टरमा नियमित जाने गरेको बताइएको छ । जीम सकेर तातोपानीको वाफ लिन कोठामा छिरेका उनीहरुको अक्सिजन अभावका कारण अस्पताल नपु-याउँदै मृत्यु भएको एसपी सिंहले जानकारी दिनुभयो ।
लामो समयसम्म कोठाबाट दुबै जना बाहिर नआएपछि ढोका फोडेर हेर्दा बेहोस अवस्थामा भेटिएको एसपी सिंहले जानकारी दिनुभयो । बेहोस अवस्थामा अस्पताल लगेको उहाँहरुलाई अस्पतालले मृत घोषणा गरेको हो । प्रहरीले फिट एण्ड फाइन जिम सेन्टरमा जीम गरेर स्टीम वाथका संचालकलाई नियन्त्रणमा लिएको छ ।