ठाकुरप्रसाद आचार्य
बेनी, माघ १७ गते । म्याग्दीको पर्यटकीय स्थल खोप्राको भ्रमणमा पुगेका चार जना पर्यटक नारच्याङ फर्किने क्रममा बीचबाटोमा अलपत्र परेका छन् ।
अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको माथिल्लो क्षेत्र हुँदै नारच्याङ गाउँ आउन लागेका चार जना नेपाली पर्यटक बाटो बिराएर अल्पत्र परेका छन् । नारच्याङ गाउँ झर्दै गर्दा बाटो बिराएर अंकीत शाह समेत चार जना पर्यटकहरु विहिवारदेखि अल्पत्र परेका हुन् ।
अल्पत्र परेका पर्यटकहरुमा अंकीत शाह सहित १ जना पोखरा र ३ जना काठमाण्डौका बासीन्दा रहेको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिनुभयो ।
हिउँले बाटो ढाकिएको कारण बाटो विराएर जंगलतर्फ अप्ठ्यारो भुभागमा अल्पत्र परेको जानकारी आएपछि खोजीकार्यलाई तिब्र पारिएको छ । विहानैदेखि खोजीकार्य सुरु गरिएपनि अहिलेसम्म उनीहरुलाई भेट्याउन नसकिएको प्रजिअ ढकालले जानकारी दिनुभयो ।
आगो बालेर धुवा मार्फत संकेत दिन अनुरोध गरिएको र अल्पत्र परेको स्थान पहिचान नभएको कारण थप समस्या भएको प्रजिअ ढकालले बताउनुभयो ।
स्थानीय युवाहरुसंगै प्रजिअ ढकाल, प्रहरी नायब उपरिक्षक किरणजंग कुँवर र सशस्त्र प्रहरी समेतको टोली अल्पत्र परेका पर्यटकको खोजीको लागि नारच्याङबाट माथिल्लो भेगतिर लागेका छन् ।
मोबाईलको सम्पर्कबाट आफुहरु अल्पत्र परेको खबर गरेपनि घना जंगल, भिर र बाख्लो हिउँको कारण उनीहरु रहेको स्थानको पहिचान गर्न कठिनाई भएको खोजीको लागि नारच्याङबाट गएका स्थानीय चुपिन पुर्जाले जानकारी दिनुभयो ।