केशवराज पौडेल
काठमाडौं, माघ १९ गते । तपाइको घर नजिकै कार लिएर दुईदिनसम्म कसैले निगरानी गरेको देख्नु भयो भने तपाइ सर्तक हुनुपर्ने बेला आएको छ । प्रहरीले दिउँसोमात्रै कार लिएर आएर चोरी गर्ने गिरोहलाई पक्राउ गरेर सार्वजनिक गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा टेकूले कारमा चढेर दिउँसो १२.०० बजेदेखि २.०० बजेसम्म चोरी गर्न गिरोहलाई नियन्त्रणमा लिएको छ । केही दिनसम्म निरन्तर घरको अवस्था बुझेर दिउँसो १२.०० बजेदेखि दुई बजेको बिचमा चोरी कार्यमा पूर्व भगौडा प्रहरीको समुहको संम्लग्नता देखिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी सहकुलबहादुर थापाले जानकारी दिनुभयो ।
नेपाल प्रहरीकै भगौडा हवल्दारले समूह नै बनाएर चोरीमा सक्रिय रहेको पाइएको अनुशन्धानबाट खुलेको एसएसपी थापाले गोरखापत्र अनलाइनलाई बताउनुभयो । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुले प्रहरीकै पूर्वहवल्दार दोलखा जिल्ला स्थायी घर भएका ३० वर्षीय रवि कार्कीलाई चोरी आरोपमा पक्राउ गरेसँगै विभिन्न तथ्य सार्वजनिक भएको हो । प्रहरीले पूर्व भगौडा पूर्वहवल्दारले ग्याङनै बनाएर चोरी कार्यमा संम्लग्न रहँदै आएको तथ्य बाहिर आएको हो । महाशाखाका प्रमुख एसएसपी थापा भन्नुहुन्छ ‘कार्कीसहित भंगालका १९ वर्षीय राजन खनाल र काभ्रेका २० वर्षीय उपेन्द्र खरेल मिलेर चोरीको ग्याङ नै चलाइरहेका थिए ।’
यो समूहले दिउँसोनै कार लिएर चोरी गर्न हिँड्ने गरेको पाइएको एसएसपी थापाले बताउनुभयो । चोरको समुहले अन्तिम पटक काठमाडौंैको भत्केको पु्लमा डेरा गरेर बस्ने विष्णु कार्कीको कोठामा चोरी गरेका थिए । पौषको २८ गते कार्कीको कोठावाट गिरोहले दुई लाख नगद, २० तोला सुनको गहना र सामसुङ कम्पनीको मोवाइल चोरेका थिए । उनीहरुले चोरेको सुन गोकर्णेश्वर–५ मा रहेको निश्चल सुनचाँदी पसलमा गहना बिक्री गरेका थिए । चोरीको माल सस्तोमा किन्ने पसल संचालक खोटाङको रुपाकोट–१२, जालपा घर भइ गोकर्णेश्वर बस्ने ४३ वर्षीय मौलबहादुर विकलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले कार्कीसँग एक लाख २५ हजार नगद र उनीहरुको चोरी कार्यमा प्रयोग गर्ने बा३च ६२७६ नंम्बरको कार समेत बरामत गरेको छ । पक्राउ परेकाहरुले यसअघि २०७५ सालमा समेत घरमा चोरी गरिरहेको समयमा रड सहित फेला पारेको थियो ।
पुराना चोरहरुको रेकर्ड तथा सिसी टिभी फुटेजको आधारमा दिउँसै चोर्ने गिरोहलाई फलो गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको एसएसपी थापाले बताउनुभयो । पक्राउ परेकाहरुसँग बरामत गरिएको सामाग्री बिष्णुबहादुर कार्कीको डेराबाट चोरेको पाइएको एसएसपी थापाले बताउनुभयो ।