केशवराज पौडेल
काठमाडौ, माघ २९ गते । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा यो बर्षमात्रै नभएर अघिल्ला बर्षहरूमा समेत यस्तै मौसमी फ्लू हुने गरेको पाइएको छ । केहीदिनदेखि फैलिएको मौसमी फ्लू कोराना भाइरससँग मिल्दोजुल्दो भएको भन्दै जुगल गाउँपालिकाले स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेपछि सो विषय चर्चामा आएको थियो ।
यस्तो संक्रमण अघिल्ला बर्षहरूमा समेत हुने गरेको स्थानीय शिक्षिका सम्झना तामाङले बताउनुभयो । उहाँ विगत चार बर्षदेखि जुगल गाउँपालिका–३ गुम्बाको क्यावरुङथाङ आधारभूत विद्यालयमा कार्यरत हुनुहुन्छ ।
चीनसँग जोडिएको जिल्ला भएकाले कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिए पनि अघिल्ला बर्षहरूको माघ फागुनमा रुघाखोकी तथा फ्लूजन्य संक्रमण देखिने गरेको, यस पटक भने विद्यालयमा पढ्ने स–साना बालबालिका समेत उल्लेख्य संख्यामा संक्रमित भएको पाइयो ।
उहाँ कार्यरत क्यावरुङथाङ आधारभूत विद्यालयमा समेत एक सयभन्दा धेरै विद्यार्थीमा संक्रमण देखिएको छ । ‘अधिकांशमा रुघाखोकी,ज्वरो र केही विद्यार्थीले बान्ता समेत गर्ने गरेका छन्, हाम्रो विद्यालयमा तीन सय विद्यार्थी रहेकोमा एक सयभन्दा धेरैलाई यस्तो लक्षण देखिएको छ’ अर्की शिक्षिका सम्झना न्यौपानेले टेलिफोन सम्पर्कमा गोरखापत्र अनलाइनलाई बताउनुभयो ।
गाउँपालिकाले गुम्बा डाँडामै स्वास्थ्य शिविर सञ्चालन गरेपछि आफूहरूले हरेक कक्षाका विद्यार्थीको नाम टिपेर स्वास्थ्य शिविरमा लगेको उहाँले बताउनुभयो ।
जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले फ्लूको संक्रमण एकैपटक देखिएपछि माथिल्लो निकायलाई जानकारी गराइएको बताउनुहुन्छ । उहाँ बुधबार बिहानै विशेषज्ञ चिकित्सकको टोली लिएर संक्रमित क्षेत्रमा पुग्नु भएको छ ।
जुगन गाउँपालिका र चीनसँगको सिमानानै जुगल हिमाल र अर्कोतर्फ घना जंगल भएकाले सो ठाँउमा चीनबाट मानिस आउने र नेपालबाट जाने संम्भावना निक्कै कम रहेको स्थानीय दीर्घराज श्रेष्ठले बताउनुभयो ।
संक्रमण फैलिएको क्षेत्र उच्च भागमा समेत घना बस्ती भएको र व्यक्तिगत सफाइमा ध्यान नदिने क्षेत्रमा पर्ने गरेको छ । त्यो भेगमा माघ÷फागुनमा रहेक बर्ष यस्तै खालको फ्लूजन्य संक्रमण फैलिने गरेको पाइएको छ ।
याे पनि पढ्नुहाेस्
गुम्बा गाउँमा कोराना संक्रमणको सम्भावना छैन : स्वास्थ्य अधिकारी