गोकर्ण दयाल
बैतडी, चैत २२ गते । “ओछ्यानमा सुतिरहेकी मेरी नौ वर्षकी छोरीलाई घिसारेर खाने चितुवा यही हो !” विशालपुर डाँफेपीपल गाउँकी गुनडी लोहार आँसु खसाल्दै भीडमा आईपुग्नुभयो । भीडको बीचमा खोरबाट निकालिएको चितुवा थियो । चितुवा गुनडी लोहारको गाउँमै विज्ञले थापेके खोरमा फसेको हो ।
कोरोना भाइरसको त्रासले ११ दिनसम्म घरभित्र बसेका विलापुरबासी शनिबार नरभक्षी चितुवा हेर्न ठूलो भीड जम्मा गरेर घरबाहिर निस्किए । प्रहरीलाई भीड नियन्त्रण गर्न हम्मेहम्मे पर्यो ।
चितुवाले २५ जना बालबालिकाको शिकार गरेर स्वराडलाई शोकमा डुबाएकोले मन थाम्न नसकेर घर बाहिर निस्केको धेरैको भनाई थियो । यद्यपि भीडमा सजकता अपनाईएको थिएन । जनप्रतिनिधिसमेत बिना मास्क भीडमा हुनुहुन्थ्यो ।
डाट्रिङ गरेर खोरबाट निकालिएको चितुवालाई होसमा ल्याउन हतारहातर गाडीमा फलामे पिजडाभित्र राखेर होस खुल्ने औषधि दिएपछि गाडी चल्नुअघि स्वराडमा चितुवा अन्तिम पटक पुनः गर्जियो ।
नेपालकै बढी चितुवा प्रभावित जिल्लाका रुपमा बैतडीको तल्लोस्वराड क्षेत्रमा अझै थप चितवा रहेको बरिष्ठ वन्यजन्तु अधिकृत विष्णुबहादुर लामाले बताउनुभयो । एक÷दुई दिनमै अर्को पनि चितुवा खोरमा फस्छ, लामाले दाबी गर्नुभयो ।
शुक्रबार बिहान मेलौली नगरपालिका –९, विशालपुरको डाँफेपीपल गाउँमा चितुवा खोरमा फसेको थियो । चितवनबाट रातारात बैतडी आईपुगेको विज्ञ टोलीले शनिबार खोरमा फसेको चितुवाको उद्धार गरेर चितवन लगेका छन् । चितुवा पोथी रहेको डिभिजन वन कार्यालयका प्रमुख केशव पराजुलीले बताउनुभयो ।
चितुवाले विशालपुरको डाँफेपीपल गाउँमै गत फागुन अन्तिम साता घरभित्र पसेर नौ वर्षिया बालिका सेतु लुहारलाई ओछ्यानबाटै तानेर बिहान जङ्गलमा लगेर खाएको थियो ।
विज्ञ टोलीले बनाएको काठको खोरमा चितुवा फसेको खबर आएपछि चितुवालाई लिन चितवन राष्ट्रिय निकुञ्जका पाधिकारी शनिबार बिहान बैतडी आईपुग्नुभएको थियो ।
चितुवालाई डाट्रिङ गरेर बेहोस बनाएर गाउँबाट बोकेर सडकमा ल्याईएको थियो । सडकबाट दुईसय मिटरको दुरीमा रहेको मेलौली नगरपालिका–९, डाँफेपीपल गाउँका स्थानीयले खुशीयाली मनाउँदै बरिष्ठ वन्यजन्तु अधिकृत विष्णुबहादुर लामालाई फूलामाला र अबिर लगाएका थिए ।
खोरमा फसेको चितुवाको उद्धार गरेर चितवन लगिएपछि गाउँमा खुशीयाली छाएको मेलौली नगरपालिका –९,का वडा सदस्य भीम भट्टले बताउनुभयो ।
भट्टले भन्नुभयो, “जुन बाटो आएर नौ वर्षिया बालिकालाई खाएको थियो सोही बाटोमा निर्माण गरिएको काठको खोरमा चितुवा फसेको भट्टले बताउनुभयो । खोरभित्र बाख्राको पाठो राखिएको थियो । बाघले पाठोलाई भने मारेको उहाँले जानकारी दिनुभयो । ”
२०६८ साल असारदेखि २०७६ फागुनसम्म बैतडीको तल्लोस्वराड क्षेत्रका मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा चितुवाले अक्रमणमा गरेर २५ जना बालबालिकाले ज्यान लिईसकेको छ भने १३ जना घाईते बनाएको छ
आठ वर्षको अवधिमा चितुवाको आक्रमणमा परेर ज्यान गुमाउने बालबालिकामा विशापुरका वीरबहादुर चन्द (डेढ वर्ष ) उदयदेवका सुनिल साउद (अढाई वर्ष) पञ्चेश्वरकी सुनिता साउद ( १० वर्ष) किथ्थी देवी साउद (२७ वर्ष) र आशाकुमारी कोली (१३ वर्ष) रहेका छन् ।
त्यसैगरि कुलाउकी निर्मला कुमारी ११ वर्ष, विशालपुरका दिपक चन्द ४ वर्ष, नवीन भट्ट ६ वर्ष, सुरज लोहार १० वर्ष, चम्फाकुमारी भट्ट ११ वर्षका रहेका छन् । आमचोराकी सुप्रिया चन्द ४ वर्ष र मञ्जु चन्द ८ वर्षका रहेका छन् ।
त्यसैगरि ज्यान गुमाउनेमा गिरेगाडाका सन्तोष चन्द ७ वर्ष, शर्मालीकी पार्वती चन्द, आमचोराका महेश चन्द ४ वर्ष, विशालपुरकी कोपिला चन्द डेढ वर्ष, र प्रतिष्ठाकुमारी बिष्ट ३ वर्ष, सपना लुहार १६ वर्ष, डम्बर सोनी ८ वर्षका पनि विशालपुरकै रहेका छन् । ज्यान गुमाउनेमा उदयदेवकी ललिता साउद ६ वर्ष, महाकालीका सचिन साउद, उदयदेवका चन्चला साउद ७ वर्ष, उजली साउद १२ वर्ष र शिवनाथका सुदिप मडै ७ वर्षका, सेतु लोहार नौ वर्षका गरि २५ जनालाई चितुवाले आहारा बनाईसकेको छ ।
खोरमा फसेको चितुवाको उद्धार गरेर चितवन लैजाँदा हेर्नेको भीड । तस्बिरः गोकर्ण दयाल