हेटौँडा, बैशाख ३ गते । सरकारले कोरोना भाइरसको संक्रमण रोक्नका लागि लक डाउन गरेर अत्याश्यकीय सामग्री मात्र बिक्री बितरण अनुमति दिए पनि पश्चिम मकवानपुरको प्रमुख व्यापारिक केन्द्र मनहरी बजारमा मदिरा र पेयपदार्थको बिक्री बितरण भइरहेको पाइएको छ ।
मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीको नेतृत्वमा मनहरी बजारमा बिहिबार बिहान भएको अनुगमनका क्रममा मनहरी बजारका होलसेल पसलहरुबाट मदिरा तथा पेय पदार्थहरुको बिक्री भइरहेको पाइएको हो । स्थानीय पसलहरु तथा कैलाश र राक्सिराङ गाउँपालिकातर्फ लैजानका लागि लोड गरिएका एउटा बोलेरो भ्यान र दुईवटा अटोलाई समेत नियन्त्रणमा लिई सचेत पारिएको गाउँपालिका अध्यक्ष उप्रेतीले बताउनुभयो ।
इलाका प्रहरी कार्यालय मनहरी, मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समिति, वडा कार्यालय लगायत निकायको संयुक्त सहभागितामा अनुगमन भएको हो । अनुगमनका क्रममा मदिरा र पेयपदार्थ बिक्री गर्न पूर्ण रुपमा बन्देज लगाइने दैनिक उपभोग्य सामग्री बिक्री गर्न भौतिक दुरी कायम गर्न व्यवसायीहरुलाई निर्देशन दिइएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले जानकारी दिनुभयो ।