बेलिना थापा
लमजुङ, वैशाख १३ गते । मजुङको राइनास नगरपालिका ६, स्याउलीबजारमा लियोपर्ड क्याट (चरी बाघ) को बच्चा फेला परेको छ ।
जंगलबाट बस्तीमा आएको चरी बाघलाई वन कर्मचारीले जंगलमा लगेर छोडेका छन् । स्थानीयले फेला पारेको चरी बाघको बच्चालाई वन कर्मचारीले उद्दार गरी जंगलमा छाडेका छन् ।
बिरालो जस्तै देखिने चरी बाघको बच्चालाई स्थानीयको सहयोगमा नियन्त्रणमा लिई वन कर्मचारीले जंगलमा लगेर छाडेको सव डिभिजन वन कार्यालय राइनास–दूधपोखरीले जनाएको छ । शुक्रबार अपरान्ह बस्तीमा परेको चरीबाघको बच्चालाई फरेस्टर प्रमोद सुनार, वन रक्षक ओमप्रकाश घर्ती र श्रीमान श्रेष्ठले उद्दार गरी साँझ जंगलमा छाडेको बताएको छ । उक्त चरीबाघ बच्चा करीब ६ देखि ८ महिनासम्मको अनुमान गरिएको छ ।
फरेस्टर प्रमोद सुनारले चरीबाघको बच्चामा कुनै स्वास्थ्य समस्या नभएपछि जंगलमा लगेर छाडिएको बताउनुभयो । बिहीबार राइनास नगरपालिका १, बोराङखोलामा अन्दाजी डेढबर्षको चरीबाघ मरेको अवस्थामा भेटिएको उहाँले बताउनुभयो । मुचुल्का उठाएर त्यहीं गाढेको उहाँले बताउनुभएको छ । उहाँका अनुसार उक्त चरीबाघ भाले हो । असिना धेरै परेकाले चरीबाघको मरेको हुनसक्ने अनुमान गर्नुभयो ।
शुक्रबार भेटिएको चरी बाघ जंगलमा आगो लागेका कारण बस्तीतिर आएको हुनसक्ने डिभिजन वन अधिकृत मोहनराज काफ्लेले बताउनुभयो । मरेको अवस्थामा बिहीबार फेला परेको चरीबाघ असिनाका कारण मरेको स्थानीयले बताएका उहाँले बताउनुभयो ।
आगोले पोलेको अवस्था भेटिएका केही जंगली जनावर उपचारका क्रममा मरेको उहाँले बताउनुभयो । उहाँका अनुसार गाउँमा मानिसको चहलपहल कम भएकाले पनि जंगली जनावर मानवस्तीमा आएको हुनसक्छ ।
काफ्लेका अनुसार चरी बाघ तराईदेखि ४ हजार ५ सय मिटर उचाईसम्म पाइन्छ । चरीबाघ तराईदेखि उच्च पहाडी भूभागमा पाइने सानो जंगली बिरालो परिवारको जनावर हो । यसको तौल ३ देखि ७ किलोसम्म र लम्बाई ४५ देखि ७५ सेन्टीमिटरसम्म हुन्छ । उहाँले यो नेपालको संरक्षित सूचिमा रहेको स्तनधारी जनावर रहेको बताउनुभयो ।