डा.गणेश गुरुङ
कोभिड १९ महामारी र त्यसले निम्त्याएको विश्वव्यापी बन्दाबन्दीले अर्थतन्त्रमा ठूलो मन्दी आउने आंकलन गरिएको छ । अर्थतन्त्रका विभिन्न अवयवलाई यसले प्रत्यक्षरुपमा प्रभावित गर्ने छ । यस्तै अवयव मध्ये एउटा हो रोजगारी । नेपालले पनि अहिलेसम्म एकमहिनाभन्दा धेरै लामो बन्दाबन्दी सामना गरिसकेको छ कोरोनाका कारण ठूलो मात्रामा रोजगारी प्रभाववित भइरहेको छ । बन्दाबन्दीले आर्थिक गतिवधिसँगै अन्तरराष्ट्रिय आप्रवासन र वैदेशिक रोजगारी ठप्प हुँदा विप्रेशणको अप्रवाह पनि सन् २०२०मा करिव २० प्रतिशतले खुम्चने आंकलन विश्व बैंकको छ । अगिल्लो वर्ष साढे ८ प्रतिशत वृद्धि भएको नेपालको विप्रेशण आप्रवाह यो वर्ष १४ प्रतिशतले ऋणात्मक हुने उसको आंकलन रहँदै आएको छ । यिनै विषयमा केन्द्रित रहेर गोरखापत्र अनलाईनका लागि पत्रकार गोपालचन्द्र सुवेदीले श्रमबजारका ज्ञाता डा.गणेश गुरुङसँग गरेको संवादका अंश
कोरोना महामारीका कारण रेमिट्यान्स आप्रवाह प्रभावित हुने बैदेशिक रोजगारी प्रभावित हुने बेरोजगारी बढ्ने आंकलन गरिएको छ । यसमा नेपालको अवस्था कस्तो हुने देख्नुहुन्छ ?
स्वाभाविक रुपमा अहिलेको अवस्था खराव छ । बन्दाबन्दीले धेरैले रोजगारी गुमाएका छन् । विदेशिएका धेरै नेपाली अहिले बन्दाबन्दीमा छन् । विदेशमा नेपाली श्रमिक अहिले चार खाले अवस्थामा रहेको मैले पाएको छु । एक खाले अहिले पनि काममै छन् । स्वास्थ्य सेवा, सुरक्षा लगायतमा रहेकाले काम पाइरहेका छन् दास्रो खाले पार्टटाइम छन्, तेश्रो कोठामै वा रोजगारदाताले बन्दोबस्त गरे अनुसार बस्ने खाने अवस्थामा छन् । चौथो चाहिँ रोजगारी गुमाएर अलपत्र जस्तै छन् । यो अवस्थाले रेमिट्यान्स त प्रभावित हुन्छ नै । चालु आर्थिक वर्षको पहिलो नौ महिनामा ५ अर्व ८० करोड डलर आएको देखिन्छ । तर अव लगभग ठप्प नै हुन्छ । पूर्वानुमान गरिएको मध्ये १० प्रतिशत मात्रै आउला । सन् २०२० मा त घटने नै भयो । तर यति हुँदा हुँदै पनि आत्तिनुपर्ने अवस्था भने हुनेछैन । विवेकसम्मत कदम चालियो भने हामीले लाभ लिने अवसर पनि आउने छन् ।
श्रम गन्तव्य मुलुकमा आर्थिक मन्दी आउनेकारणले अव वैदेशिक रोजगारीमा गएका समेत नेपाल फर्कन पर्ने खतरा छ भन्ने तर्कहरु पनि सार्वजनिक हुने गरेका छन् । तर तपाई आत्तिनु पर्दैन भन्नु हुन्छ कसरी ?
हो आर्थिक मन्दी आउन सक्छ । तर हाम्रा श्रमिक जाने मुलुक आर्थिक मन्दीका कारण टाट पल्टने अवस्थामा पुग्ने खालका छैनन् । केहि महिना उनीहरुलाई सकस होला तर मलेसिया दुबई कतारजस्ता खाडी मुलुकदेखि युरोप अमेरिका संक्रमणको त्रास हट्नासाथ अहिलेको क्षतिसमेत छिटो भन्दा छिटो पूरण गर्ने गरी पुनरोत्थानका योजना बनाउँदै छन् । उचित योजना र पूर्ण कार्यान्वयनले न ती देश विकाशको तीव्र गतिमा अगाडि बढेका हुन् । अहिले समस्या देखिए पनि विश्व श्रमबजार अझ विस्तार हुनेछ भन्ने मेरो ठम्याइ छ । कालो बादलमा चाँदीको घेरा छ ।
श्रमबजार विस्तार कसरी हुने देख्नु हुन्छ ?
विश्व अहिले घरभित्र बसिरहेको छ । अर्थिक औद्योगिक कृयाकलाप ठप्प छ । उत्पादन निर्माण जस्ता पक्ष बन्दजस्तै छन् । भोलि त उत्पादन निर्माण जस्ता कार्यलाई अहिलेको क्षति पूरा गर्ने गरी थप तिव्रता पाउने हो । त्यो गति बढाउन त श्रम शक्ति चाहियो नि । जस्तो की अहिले कतारको रंगशाला निर्माण रोकिएको छ तर विश्व कप त सरेको छैन । त्यो रंगशाला बनाउन अब पहिले भन्दा धेरै कामदार चाहिने छ । कामको अभाव हुँदैन । यो अवस्था त हाम्रा हरेक श्रम गन्तव्यमा आउनेछ । खाडीमात्र होइन युरोप अमेरिकामा पनि यो अवस्था आउने हो ।
तर कोरोना प्रकोप बढदैजाँदा धेरै नेपाली देश फर्किएका छन् । विदेशमै रहेका पनि काम विहीन भएर बसिरहेका छन् । लक डाउन खुल्नासाथ फर्कने पनि धेरै हुनसक्छन् भन्ने पनि छ । नेपाल भित्रै पनि पर्यटन, उद्योग क्षेत्रमा
रोजगारी गुमिसकेको छ । समस्या त सुरु भइसक्यो होइन र ?
हो । समस्या भएको छ । अहिले त अत्यावस्यक सेवा बाहेक चल्न सक्ने कुरै भएन । तर यहि अवस्थालाई नयाँ प्रस्थान विन्दु बनाउन सकिन्छ नी त्यता हेरौ न । अहिले युवा गाँउ गाँउमा पुगेका छन् सहर छाडेर स्थानीय सरकारहरुले उनीहरुलाई व्यवसायिक कृषि व अन्य उद्यम के हुनसक्छ मा आकर्षण गर्नु पर्दछ । केन्द्र सरकारले पनि यहि बेला उपयुक्त कार्यक्रम बनाउनु पर्छ । रोजगारी जति पनि सृजना हुन्छ । लक डाउनका वेला पनि राष्ट्रिय गौरव लगायतका ठूला पूर्वाधार निर्माणलाई तदारुकता दिने हो भने स्वदेशी श्रम बजार नै फैलन्छ । श्रमिकको माग बढछ । त्यतिमात्र होइन हाम्रा उद्योग कल कारखाना निर्माण क्षेत्रमा भारत बंगलादेशका श्रमिकले काम गर्छन । उनीहरु अहिले स्वदेश गएका छन् । ती स्थानमा नेपालीलाई नै राख्ने अवसर छ । निजी क्षेत्रले पनि यसमा भूमिका खेल्नु पर्छ ।
फेरि नेपाली युवा त स्वेदश भन्दा विदेश नै जान खोज्छन भनिन्छ । अव कोरोना महामारी पछिको अवस्थामा स्वदेशमै काम गर्ने सोच र अवस्था आउन सक्ला त ?
यो प्रवृति चाहि अलिक नकारात्मक नै हो । विदेश गएर जे गरिरहेका छन् त्यहि काम स्वदेशमा गर्न लाज मान्ने गलत प्रवृति छ । काम प्रति सम्मान र सुनिश्चितता नभएर पनि हुनसक्छ । हामी कहाँ सोच त आउँछ । तर व्यवहार उस्तै हुन्छ । ०७२ को भूईचालोमा अग्ला घर भन्दा त साना घर नै ठिक भन्ने धेरै थिए । तर अहिले त अग्ला भवन नै बनेका छन् । स्वेदशकै रोजागारीलाई प्राथमिकतामा राख्दा केहि सकारात्मक अवस्था त आउँछ । तर अवको दिनमा बैदेशिक रोजगारीलाई पनि अझै नयाँ ढंगले अगाडि बढाउन पनि सक्नुपर्ने हुन्छ ।
नयाँ ढंगले भन्नाले ?
अहिले विश्व श्रमबजारमा मन्दी छ । यसले धेरै परिवर्तन ल्याउने छ । धेरै प्रवृत्ति फेरिनेछन् । कामदार आपूर्ति पद्धति प्रभावित हुन सक्छ । धेरैले नयाँ श्रमिक आपूर्ति गर्नुपर्ने छ । त्यसैले एक किसिमको उथल पुथल हुन सक्छ । त्यो अवस्थाको पूवार्नुमन हामीले अहिले गर्नुपर्छ । विभिन्न देशमा रहेका दुतावासहरुले त्यहाँको श्रम बजार निजी क्षेत्रमा कस्तो परिवर्तन आउँदै छ । त्यो नियालेर बस्नुपर्ने हुन्छ अहिले । श्रम गन्तव्य मूलुकमा अब कस्ता कामदार कसरी आपूर्ति गर्ने भनेर अहिले जुट्नु पर्छ । अन्यथा हाम्रा गन्तव्य गुम्न पनि सक्छ । दक्ष र अनुभवी कामदारको माग झन बढने छ । त्यो दक्षता दिने काममा हामीले सोच्नु पर्छ । पर्याप्त तयारीमा अहिलेदेखि नै सम्बन्धित निकायहरु जुट्नुपर्छ ।
यसमा त वैदेशिक रोजगार व्यवसायीहरुको पनि भूमिका आवश्यक होला ?
भूमिका त हुन्छ । तर हाम्रा वैदेशिक रोजगार व्यवसायीहरु प्रतिकृयात्मक मात्र छन्, प्रो एक्टिभ छैनन् । उताबाट मागपत्र जुटाउने यता मान्छे खोज्ने ढर्राका मात्र छन् अधिकाँश । उनीहरुले पनि अध्ययन गर्ने, जनशक्ति विकास गर्ने बजार प्रवर्दन गर्नेजस्ता कार्य गर्नुपर्ने हुन्छ ।
समग्रमा तपाईको भनाई श्रम बजार तात्कालिक रुपम प्रभावित भए पनि त्यस पछिको अवस्था राम्रो नै छ भन्ने हो ?
अवश्य पनि । भविस्यका लागि उचित योजना र त्यसको कार्यान्वयन सहि ढंगले गर्नुपर्छ । आन्तरिक र विश्व श्रमबजारको पूर्ण सदुपयोग गर्ने अवसर नजिकिँदै छ ।