अर्जुन काफ्ले
स्याङ्जा, असार ११ गते । स्याङ्जामा बिहीबार बिहान मृत्यु भएका पुरुष ५५ वर्षीया स्थानीय किराना तथा खाजाको पसल गर्ने स्थानीय व्यापारी रहेको खुलेको छ । मृत्यु भएका पुरुष किरानासहितको व्यापार गर्ने र पुतलीबजारबाट सामग्री लिने गरेको तथा छ महिनाबाट घरबाहिर व्यापारबाहेक अन्य कामको लागि ननिस्केको परिवारले जनाएको छ ।
कुनै ट्राभल हिस्ट्री नभई अर्जुन चौपारी गाउँपालिका –४ राम्चेका एक पुरुषको कोरोना भाइरसका कारण बिहीबार निधन भएको छ । यहाँका ५५ वर्षीय पुरुषको पोखरा क्षेत्रीय अस्पतालमा उपचारको क्रममा निधन भएको हो । मृतकले आँधीखोला गाउँपालिका-१, पञ्चमुलमा किराना र खाजाको पसल गर्दैआएका थिए ।
मृतकलाई ज्वरो आएपछि असार ७ गते फेवा सिटीमा अस्पताल पोखरा लगिएकोमा कोरोनाको शङ्कामा उपचार गर्न नमानेपछि गण्डकी क्षेत्रीय अस्पतालमा लगिएको थियो । गण्डकी अस्पतालमा उनकाे स्वाब परीक्षण गर्दा पोजिटिभ देखिएपछि भेन्टिलेटरमा राखेर असार ८ गतेबाट उपचार गरिएको थियो । मधुमेह र उच्च रक्तचापका बिरामी रहेका पुरुष कोरोनाको सङक्रमण देखिएपछि आमा रहेको घरमा असार ३ गते मात्र बाबुको श्राद्धमा पुगेको उनका भाइले जानकारी दिनुभयो ।
कुनै ट्राभल हिस्ट्री नरहेका उनको कसरी कोरोना सर्यो भन्ने थाहा नभएकाे आँधीखोलाका स्वास्थ्य प्रमुख निराजन लामिछानेले बताउनुभयो । मृत्यु भएका पुरुषको सम्पर्कमा रहेका आँधीखोला र अर्जुन चौपारीका ३५ जनाको सूची तयार भएको बताउँदै लामिछानेले शुक्रबार स्वाब लिएर परीक्षण गरिने बताउनुभयो ।
मृतक सङक्रमण भएसँगै भेन्टिलेटरमा रहेकाले कन्ट्याक्ट ट्रेसिङमा समस्या भएको बताउँदै लामिछानेले उहाँको प्रत्यक्ष सम्पर्कमा रहेकाको परीक्षणपछि कोरोना भेटिएमा फेरि नयाँ सूची तयार गरिने बताउनुभयो । अहिलेसम्म उहाँको प्रत्यक्ष सम्पर्कमा आएका घर, छिमेक, नातागोता र बाबुको श्राद्धमा आएका पण्डितसहितका परिवारलाई अर्जुन चौपारी-३, ४ र आँधीखोला-१ का एक सयभन्दा बढीलाई होम क्वारेन्टाइनमा राखिएको छ ।
उनको निधनसँगै स्याङ्जा र गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ । यसअघि स्याङ्जा वालिङ १३ का ५८ वर्षका पुरुषको जेठ २५ गते क्षेत्रीय अस्पतालको आइसोलेसनमा मृत्यु भएको थियो । मधुमेह, मृगौलासहितको रोग रहेका वालिङ-१३ का पुरुष भने भारतबाट आएर क्वारेन्टाइन हुँदै पोखरा आइसोलेनमा मृत्यु भएको हो ।