logo
२०८१ मंसिर १३ बिहीवार



ओखलढुङ्गा कोरोना सङ्क्रमणमुक्त जिल्लाः क्यान्सर रोगीले जिते कोरोना

पढ्नै पर्ने |
खुला |


ओखलढुङ्गा कोरोना सङ्क्रमणमुक्त जिल्लाः क्यान्सर रोगीले जिते कोरोना


मनोज भट्टराई

ओखलढुङ्गा, साउन ५ गते । ओखलढुङ्गामा ७२ वर्षीय क्यान्सर पीडित एक ज्येष्ठ नागरिकले कोरोना जित्नुभएकाे छ। उहाँसहित पाँच जनालाई कोरोना निको भएपछि अहिलेका लागि ओखलढुङ्गा कोरोना सङ्क्रमणमुक्त जिल्ला भएको छ ।

हालसम्म जिल्लाको लिखु गाउँपालिकामा पाँच जना र सुनकोशी गाउँपालिकामा एक जना गरी छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । लिखु गाउँपालिकाका ७२ वर्षीय ज्येष्ठ नागरिकलाई कोरोना सङ्क्रमण देखिएपछि स्वास्थ्यकर्मीको निगरानीमा आफ्नै घरमा उपचार गराइएको थियो । हाल उहाँसँगै अन्य पाँच जनालाई कोरोना नेगेटिभ देखिएको छ । चाैध दिन आइसोलेसनमा बसेपछि सबै जनाको पुनः परीक्षण गर्दा सबै जनामा कोरोना नदेखिएको र आइसोलेसनमा भएका सबैलाई आज डिस्चार्ज गरिने स्वास्थ्य कार्यालय ओखलढुङ्गाका प्रमुख सुमन तिवारीले बताउनुभयो । क्यान्सरकै कारण थप उपचारका लागि अस्पतालसम्म नलगिएका ज्येष्ठ नागरिक तथा उहाँको परिवार समेतमा कोरोना नेगेटिभ देखिएको तिवारीको भनाइ छ ।

ओखलढुङ्गामा सोलु कोरिडोरमा कार्यरत १५ भारतीय मजदुरलाई चार दिनअघि कोरोना पुष्टि भएसँगै उनीहरूलाई थप उपचारका लागि जिल्लाबाहिर पठाइएका कारण हाललाई ओखलढुङ्गा कोरोना सङ्क्रमणमुक्त जिल्ला भएको जिल्ला प्रशासन कार्यालय, ओखलढुङ्गाले जनाएको छ । ओखलढुङ्गामा पछिल्लो पटक लिखु गाउँपालिकाको १२५, मानेभञ्ज्याङ गाउँपालिकाको ८१ र सिद्धिचरण नगरपालिकाको २० जनाको नै रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?