सिराज खान
नेपालगञ्ज, पुस २६ गते । उपचारका लागि ल्याईएका दाङ र रोल्पाका २ जना कोरोना संक्रमित महिलाको बाँकेमा अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको छ ।
नेपालगञ्ज मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पताल र भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएर उपचार गराइरहेका २ संक्रमित महिलाको आइतवार बिहान तीन घण्टाको फरकमा मृत्यु भएको हो ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले दिएको जानकारी अनुसार गत पुस १० गते भेरी अस्पतालमा भर्ना भएकी दाङ बबई ६ की ८० वर्षीया संक्रमित महिलाको उपचारकै क्रममा आइतवार बिहान ६ः३० बजे मृत्यु भएको थियो भने रोल्पा लिवाङ ४ बाट पुस २५ गते उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर भर्ना भएकी ४२ वर्षीया महिलाको आइतवार बिहान ३ः३० बजे मृत्यु भएको थियो ।
कोभिड १९ उपचारका क्रममा गरिने सबै उपचार बिधि अपनाउँदा समेत उनीहरुलाई बचाउन नसकिएको अस्पतालहरुले जानकारी गराएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताउनुभयो ।
उहाँका अनुसार आइतवार बिहान मृत्यु भएका दुईजनासँगै बाँकेमा उपचार गर्न बाहिरी जिल्लाबाट आएर मृत्यु हुने संक्रमितको संख्या ८२ पुगेको छ । हाल आएर गम्भीर संक्रमितको संख्या बाँकेका अस्पतालहरुमा घट्दै गएको पनि फोकल पर्सन ओलीले बताउनुभयो ।