logo
२०८१ माघ ८ मंगलवार

  दृश्य समाचार  



निषेधाज्ञाकाे पहिलाे दिन, निजी सवारी पातलाे, खाद्य पसल खुले

पढ्नै पर्ने |
खुला |


निषेधाज्ञाकाे पहिलाे दिन, निजी सवारी पातलाे, खाद्य पसल खुले


दृश्यमा मनोजरत्न शाही केशब गुरुङ्ग
काठमाडौं, बैशाख १६ गते । कोरोना संक्रमणको दोस्रो लहर रोक्न उपत्यकामा जारी गरिएको पहिलो दिनको निषेधाज्ञामा सार्वजनिक यातायातका साधन सञ्चालन भएनन् । तर निजी तथा अन्य अत्यावश्यक सेवाका साधनको भने सडकमा देखिन्थे । प्रहरीले सडकका विभिन्न चोक तथा गल्लीमा सवारी चेकजाँज गरी विना परिचयपत्र आवतजावत गर्नेहरुलाई होल्डमा राखेको थियो ।


यसैबीच राससका अनुसार सडकमा अस्पताल, सरकारी कार्यालय, बैंकका कर्मचारीलगायतका व्यक्तिहरु बढी सङ्ख्यामा देखिन्छन् ।

सरकारी निर्णयानुसार कर्मचारी कार्यालय जाँदा भीडभाड भएका हुनसक्ने प्रहरी प्रवक्ता वसन्त कुँवरले जानकारी दिनुभयो । अघिल्लो पटक बन्दाबन्दी आवतजावत ठप्प नै गराउने खालको भएको र पासका आधारमा मात्रै हिँड्न पाउने व्यवस्था थियो । अहिले निषेधाज्ञा केही खुकुलो र आदेश पनि त्यहीअनुसारको भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “हामीले निर्णयविपरीत हुँदा तत्काल रेस्पोन्स गरिरहेका छौँ ।”

 प्रहरीले निषेधाज्ञा पालना नगर्नेलाई ‘होल्डिङ सेन्टर’ मा राखेर सम्झाइबुझाइ गरिरहेको छ । उहाँले भन्नुभयो, “हामीले २०० बढी ठाउँमा चेक प्वाइन्ट र ठाउँठाउँमा मोबाइल टोली पठाएर अनुगमन र आवश्यक भएमा कारबाही गरिरहेका छौँ ।”

मुख्य सडक सुनसान हुँदा भित्रि गल्लीमा भने केही पसल खुलेका र मान्छेको आवतजावत पनि देख्न सकिन्छ । भित्रि भागमा नियमित जाँच नभए पनि ‘मोबाइल टिम’ गएर अनुगमन गरिरहेको प्रवक्ता कुँवरले बताउनुभयो । यसले अरुलाई पनि जोखिम गर्ने भएकाले कसैले निषेधाज्ञा पालना नगरेको देखेमा प्रहरीलाई खबर गर्न उहाँले अनुरोध गर्नुभयो । यसको पालना नगर्दा त्यसले असर सबैलाई गर्ने भएकाले नागरिक आफैँ सचेत हुनुपर्नेमा उहाँको जोड छ । मुख्य सडकहरुमा साङ्केतिक रुपमा जाँच गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “होल्डिङ गरेका सवारी साधन र व्यक्ति भोलि ननिस्केलान भनेर चेतना जगाउने हो ।”

उपत्यकामा अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द हुने गरी निषेधाज्ञा लागू गरिएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको यही १३ गतेको निर्णयानुसार आज बिहान ६ बजेदेखि नै उक्त आदेश कार्यान्वयनमा आएको हो । आदेश लागू भएसँगै उपत्यकाका तीनै जिल्लामा अत्यावश्यक कामबाहेकका गतिविधि सञ्चालनमा रोक लगाइएको छ भने अन्य जिल्लाबाट समेत प्रवेश गर्न पाइने छैन ।

आदेशानुसार सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्र्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न पाइने छैन । विवाह ब्रतबन्धको हकमा बढीमा १५ जनासम्म स्वास्थ्य मापदण्ड पालना गर्ने गरी जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने हुन्छ ।

सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन, २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्रमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा तथा आवश्यक आदेश जारी गर्नसक्ने अधिकार दिएको छ । सोही अधिकार प्रयोग गरी उपत्यकामा आजदेखि लागू गरिएको आदेश यही २२ गते राति १२ बजेसम्म जारी रहने छ । यस्तै अन्य दर्जन बढी जिल्लामा पनि आदेश जारी छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?