दिपकप्रसाद गौतम
वीरगञ्ज, जेष्ठ २० गते । सर्वसाधारणको घरको सेफ्टी ट्याङ्की सरसफाई गर्दा निस्कने फोहर सोझै सिर्सिया नदीफाल्ने गरेको पाइएको छ । श्री क्लिनर्स मूर्ली वीरगञ्जले सेफ्टी ट्याङ्की सरसफाई गर्दा निस्कने फोहर सोझै सिर्सिया नदीमा फाल्ने गरिएको छ ।
बुधबार साँझ श्री क्लिनर्स मूर्ली वीरगञ्जको ना ४ त ७१६३ नम्बरको ट्याक्टरबाट सेफ्टी ट्याङकी सरसफाई गर्दा निस्केको फोहर पाईप लगाएर सोझै सिर्सिया नदीमा फालिएको छ ।
वीरगञ्ज महानगरपालिकाले पनि करोडौं खर्च गरेर वाटर ट्रिटमेन्ट प्लान्ट बनाए पनि महानगरपालिका आफँैले विभिन्न स्थानमा ढल तथा नालाको फोहरको निकास सोझै सिर्सिया नदीमै जोडेको देखिन्छ । करिब ४ दशक अघिसम्म एकदम सफा पानी बग्ने सिर्सिया नदीमा आफूहरु गर्मीयाममा पौडी खेलेको जेष्ठ नागरिक रामनारायण ठाकुर बताउनुहुन्छ ।
बाराको सिमरास्थित रामवनबाट निस्केको सिर्सिया नदी करिब ३ किमिपछि प्रदूषित बन्न सुरु भई वीरगञ्जसम्म आईपुग्दा नदीको पानी पूर्ण–रुपले कालो भइसकेको हुन्छ ।
नदीका किनारमा बनाईएको छठघाटमा छठपर्वको बेलामा पूजाआजा गर्न र नदीका किनारमा सर्वसाधारणले गर्ने गरेको दाहसंस्कार पनि प्रभावित बन्न गरेका छन् ।
हुन त सिर्सिया नदी अनुगमन समितिले २०६७ सिर्सिया खोलालाई प्रदूषित बनाउने ४८ श्रोत प्रष्ट रूपमा किटान गरी प्रतिवेदन पठाएको र स्थानीय प्रशासनले कारबाही गर्ने प्रतिबद्धता जाहेर गरेको थियो ।
तत्कालीन पर्साका प्रमुख जिल्ला अधिकारी नागेन्द्र झाले सिर्सिया नदी अनुगमन समितिका संयोजक रितेश त्रिपाठीबाट प्रतिवेदन बुझ्दै सिर्सिया नदीको प्रदूषणका लागि जिम्मेवार उद्योगहरूलाई आफ्नो कार्यकालमै कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुद्धभएको थियो ।
त्यसबेला पर्सा बारा औद्योगिक करिडोरका ४६ उद्योग, वीरगञ्ज महानगरपालिकाको फोहर र वीरगञ्ज क्षेत्रमा सञ्चालित अवैध मदिरा भट्टीलाई सिर्सिया नदीको प्रदूषणको श्रोत किटान गरिएको थियो ।
छाला, कपडा, फलाम, साबुन, घिउ र मदिरा उद्योगका कारण नदी बढी प्रदूषण भएको प्रतिवेदनमा जनाइएको थियो । हालसम्म तीमध्ये केही उद्योगले मात्र आफ्नो वाटर ट्रिटमेन्ट प्लान्ट निर्माण गरेर प्रयोग गरेका छन् । अधिकांशले अझै खोलामै प्रदूषित पानी र खरानी फाल्ने गरेका छन् ।
गत वर्ष लकडाउनको समयमा खोलाको प्रदूषणमा केही कमी आए पनि अहिले बारा–पर्सामा निषेधाज्ञा जारी रहेकाले करिडोरका उद्योगले आफ्नो उत्पादन ५० प्रतिशत कटौती गरेको भने पनि खोलाको प्रदूषणमा यथावत नै देखिन्छ ।
कुनै पनि निकायले सिर्सिया नदी प्रदूषणमा संलग्न देखिएका उद्योगहरूलाई कारबाहीको दायरामा ल्याउन नसक्नु आश्चर्यजनक रहेको बताउँदै तत्कालीन सिर्सिया नदी अनुगमन समितिका संयोजक त्रिपाठी भन्नुहुन्छ– ‘नदी प्रदुषणका श्रोत पहिचान भइसकेको छ, अब उनीहरूलाई कारबाहीको दायरामा ल्याउनु मात्रै पर्ने हो, ‘त्यसका लागि कुनै नयाँ ऐन वा कानुन बनाइराख्न पनि आवश्यक छैन, प्रचलित कानुनअनुसार नै सहजै कारबाही गर्न सकिन्छ तर खै किन हो पर्सामा आउनुभएका अधिकांश प्रजिअहरू यसप्रति गम्भीर देखिनु भएन । ’
गत वर्ष तत्कालीन प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले सिर्सिया नदीको प्रदूषणको जिम्मेवार एक उद्योगका सञ्चालकलाई कारबाहीको दायरामा ल्याउने प्रयास गर्नु भएको थियो ।
सिर्सिया नदी प्रदूषित कालो पानी र औद्योगिक रसायनयुक्त फोहर लिएर वीरगञ्ज भन्सार छेऊबाट भारत प्रवेश गर्छ । खोलाको प्रदूषण नियन्त्रणका लागि बेला बेलामा नेपाली मात्र नभई भारतीय नागरिकहरूले समेत आवाज उठाउने गरेका छन् ।
पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले आफूले जिल्लाको जिम्मेवारी सम्हालेलगत्तै निषेधाज्ञा सुरु भएकाले सिर्सिया नदीको प्रदूषण रोक्नका लागि केही गर्न नसकेको बताउँदै स्थिति सामान्य भइसकेपछि आवश्यक कदम चाल्ने बताउनुहुन्छ ।