logo
२०८१ बैशाख ४ मंगलवार



उपत्यकाका प्रजिअहरुको बैठक बस्दै, निषेधाज्ञा थप खुकुलो बनाउने बारे निर्णय हुने

पढ्नै पर्ने |
राष्ट्रिय |


उपत्यकाका प्रजिअहरुको बैठक बस्दै, निषेधाज्ञा थप खुकुलो बनाउने बारे निर्णय हुने


मुकुन्द गैरे

काठमाडौं, असार ६ गते । भोलि सोमबार रातीबाट जारी निषेधाज्ञाको अवधि सकिन लागेको बेला काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक आज बस्दैछ । दिउँसो बस्ने बैठकले आर्थिक गतिविधि चलायमान हुँने गरि निषेधाज्ञाको अवधि थप गर्नेछ । जारी निषेधाज्ञा सातदेखि दश दिनसम्म थप्ने निष्कर्षमा प्रजिअहरु पुगेका छन् ।

यसै गरी अबको थप निषेधाज्ञामा बैंक, बित्तीय क्षेत्र, फेन्सी, भाँडा पसल लगायत भीडभाड् नहुने थप व्यवसाय समय तोकेर चलाउन दिने तयारी भएको जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

यसै गरी निजी सवारी साधनलाई जोर विजोर प्रणालीमा चलाउन दिने विषयमा पनि छलफल भएको उहाँले जानकारी दिनुभयो । सार्वजनिक सवारी साधन भने अबको थप निषेधाज्ञामा चल्न पाउने छैनन् । आज बस्ने वैठकले उक्त विषयमा निर्णय गर्नेसमेत प्रजिअ निरौलाले बताउनुभयो ।

स्मार्ट लकडाउनको विषयमा आफूहरुलाई जानकारी नआएको भए तापनि आर्थिक क्षेत्र चलायमान हुने गरी थप क्षेत्रमा खुकुलो बनाइने उहाँले बताउनुभयो । विस्तारै कोरोना सङ्क्रमणको जोखिम कम भएसँगै सवै क्षेत्र खुला हुनेछ । किराना पसल, डिपार्टमेन्टल स्टोर, तरकारी, फलफूल, दूध, मासु र ग्याँसका पसल बिहान खुल्दै आएका छन् ।

विकास र निर्माणको कामलाई थप खुकुलो बनाई सहज रुपमा चलन दिने तयारी गरिएको छ । पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि भोलि सोमबार रातीबाट सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप