काठमाडौँ, भदौ २३ गते । जल तथा मौसमविज्ञान विभागले मनसुनी वायुको प्रभावले बुधबार देशभर सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । न्यूनचापीय क्षेत्रको प्रभाव रहनुका साथै मनसुन न्यूनचापीय रेखा औसत स्थान नजिक रहेकाले केही स्थानमा भारी वर्षाको सम्भावना रहेको हो ।
विभागका अनुसार बिहीबारदेखि उक्त न्यूनचापीय रेखा औसत स्थानभन्दा तल सर्ने सम्भावना रहेकाले भारी वर्षा हुनेछैन । “मनसुनको समय अझै बाँकी नै रहेकाले बदलीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना भने कायम रहनेछ”, मौसमविद् प्रतिभा मान्नधरले भन्नुभयो ।
हाल देशभर सामान्यदेखि पूर्णतया बदली रही प्रदेश नं १, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ । राति देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा तथा बाग्मती प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव छ डिग्री र अधिकतम तापक्रम २९ दशमलव आठ डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १५ दशमलव पाँच डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३५ दशमलव शून्य डिग्री सेल्सियस छ ।