काभ्रेपलाञ्चोक बिहावर डिहीगाउँ बस्ने मेरा बुवा जगन्नाथ सापकोट राणाकालमा प्रहरीको जागिरे भएकाले काठमाडौंमा बस्नु हुँदा मरुहिटीस्थित सहिद गंगालालको घरमा डेरा गरि बस्नुहुँदोरहेछ । गंगालाल श्रेष्ठका पिता भक्तलाल श्रेष्ठ सरकारी सेवामा रहनु भएकोले सेवाको प्रकार अर्थात क्षेत्र भिन्न भए पनि कानुनी कुराहरु तथा कतिपय अन्य विषयहरु असहज भएको बेला परामर्श गरी सहज बनाउन सहयोग आदान प्रदान समेत हुने गरेको रहेछ । उक्त समयमा भक्तलाल श्रेष्ठसितको लामो संगतले मेरो बुवा पनि उहाँहरुका परिवारका सदस्य जस्तै हुनुभएको रहेछ । पारिवारिक सहजताका लागि भक्तलालले मेरो आमासित आफ्नी छोरी पुष्पलताको मीत लगाई दिएर सम्बन्ध अझ नजिक र प्रगाढ बनाउनुभएको रहेछ ।
सानै उमेरदेखि गंगालाल तिक्ष्ण बुद्धिका, चञ्चले, उल्फट्याङ काम गर्न रुचाउने, मनमा लागेका कुरा निर्भिकतापूर्वक व्यक्त गर्ने, अन्याय नगर्ने, कसैले अन्याय गरेको थाहा भएमा त्यसको तुरुन्त प्रतिकार गर्ने स्वभावका हुनुहुँदो रहेछ । सानै उमेरदेखि टोल–छिमेक र समाज तथा देशकाबारेमा चिन्तन गर्ने स्वभावले समाजमा गंगालालको बारेमा चर्चा चल्न थालेको रहेछ ।
धेरै वर्षदेखि गंगालालका घरमा डेरा गरी बस्नुभएको र एउटै परिवारका सदस्य जस्ता भए पनि गंगालाल राणा शासनको विरोधमा संगठित रुपमा लागेको कुरा मेरो बुवालाई तथा गंगालालको घर परिवारका अन्य सदस्यहरुलाई पनि जानकारी रहेनछ । पढ्नको लागि दैनिक कलेज जाने आउने गर्नुहुँदो रहेछ । पछि पछि धेरै जसो साँझमा ढिलो घर आउन थालेकाले उहाँको आमाले किन ढिलो गेरको भनेर सोध्दा साथीको घरमा पढ्न गएको थिएँ भनेर भन्नु हुँदो रहेछे।
गंगालाललाई वारेण्ट जारी र पक्राउ गर्ने जिम्मेवारी
गंगालाल राणा शासनको विरोधमा राजनैतिक संगठनमा सक्रिय भएर योद्धाका रुपमा लागि सक्नु भएको रहेछ । काठमाडौंस्थित असन इन्द्रचोक आदि स्थानमा आयोजित जनसभालाई सम्बोधन गरी श्री ३ सरकारको विरोध गरेपछि गंगालालका नाउमा वारेन्ट जारी भएछ । प्रहरी अधिकृत भएकोले मेरो बुवालाई तत्कालै गंगालालका नाउँमा वारेन्ट जारी भएको थाहा भएछ । वारेन्ट काटिएको थाहा हुने बित्तिकै उहाँले गंगालाललाई भगाई तत्काल पक्राउ हुनबाट बचाउने काम गर्नुभए छ ।
वारेन्ट जारीभएपछि मात्र गंगालालका परिवारलाई उहाँ राणा सरकारका विरोधमा लागेको कुरा थाहा भएछ, तत्पश्चात गंगालाल भूमिगत हुनुभएछ । गंगालाल भूमिगत भई धेरै दिन नरदेवीको भित्री चोकमा लुकेर बस्नु भएछ्, तर समय अत्यन्त कठिन भइसकेको रहेछ । तत्कालीन राणा सरकारले आफ्ना विरोधमा लाग्नेहरुको खोजी तीब्र बनाई थुन छेक र सजाय गर्ने कार्य भईरहेको समयमा मेरो बुवा स्वयं प्रहरी सेवामा रहनुभएको र गंगालालकै घरमा डेरा गरी बस्नु भएको हुँदा गंगालाललाई २४ घण्टा भित्र पक्राउ गरिसक्नुपर्ने जिम्मेवारी मेरो बुवामाथि नै आएछ ।
उत्तरा सापकाेटा र जगन्नाथ सापकाेटा
केही मात्रामा भए पनि श्री ३ राणाहरुको गतिविधि भित्रीतहबाट समेत बुझ्नु भएको हुँदा उहाँलाई पनि स्वतन्त्रता र प्रजातान्त्रिक शासन व्यवस्था ल्याउन आवाज उठाउने समूहहरुप्रति सहानुभूतिको अंकुर पलाएको र गंगालालका सबै परिवार आफ्नै परिवारजस्तै भएकोले पनि उहाँले गंगालाललाई पक्राउ गर्नुको सट्टा लुकाउने र सूचना आदानप्रदान गर्न सहयोग पु¥याउने काम गर्दै आउनुभएको रहेछ । गंगालाल लुकेर बसेको ठाउँमा नियमित रुपमा आफू जान नमिल्ने हुँदा मेरो आमा उत्तरकुरमारी सापकोटा मार्फत सूचना आदानप्रदान गर्ने सम्पर्क सुत्र बनाई सहयोग पु¥याउने काम निरन्तर गर्दै आउनुभएछ । गंगालालसित सम्पर्क बनाई सूचना आदानप्रदान गर्ने कार्य उहाँको पेशागत दायित्व, तत्कालीन शासन व्यवस्था आदिको कारण उहाँको लागि निकै कठिन रहेछ । यसैसमयमा उहाँको पिडौंलाको हड्डी भाँचिई अस्पताल भर्ना हुनुभएको रहेछ ।
गंगालालका घरमा डेरा गरि बसेको प्रहरी अधिकृतलाई नै राजद्रोही गंगालाललाई पक्राउ गर्न के कठिनाई रहेछ भनि बुझेर जाहेर गर्न गोप्य रुपमा अन्य राणा शासकले अधिकृतलाई खटाएको र ती अधिकृतबाट गंगालाललाई सहयोग पु¥याउने काम भएको शंकास्पद व्यहोरा जाहेर भएको रहेछ । उक्त शंकास्पद जाहेरीका आधारमा उहाँलाई अस्पतालमा नै प्रहरी हिरासतमा राखिएछ, तर मेरो बुवालाई भने आफू हिरासतमा परेको आधिकारिक व्यहोरा थाहा रहेनछ ।
मेरो बुवा अस्पताल भर्ना हुनु भएको अवस्थामा नै प्रहरी हिरासतमा राखिएको तीन दिन भईसकेपछि उहाँलाई भेट्न मेरो बुवा भन्दा उपल्लो तहका प्रहरी अधिकृत अस्पताल आएर तपाईंलाई राजद्रोहमा सक्रिय रहेको विद्यार्थी गंगालाल श्रेष्ठलाई प्रक्राउ नगरी भगाउन सहयोग गरेको अभियोग लागेको छ, तपाई सतर्क रहनुहोस् भनेपछि मात्र आफू हिरासतमा रहेको थाहा भएछ । तपाईसित सो सम्बन्धमा बयान लिन आजै तपाईंकै मातहतमा कार्यरत श्री.............................. आउँदैछन्, तपाईंले बयान दिंदा आफु गंगालालको घरमा डेरा गरी बसेको भए पनि गंगालालको गतिविधि थाहा नभएको र कुनै प्रकारको सहयोग पनि नगरेको बयान दिनुहोला समेत भनेका रहेछन् । यस्तो कुरा हुँदा हुँदै बयान लिन खटिएका अधिकारी सहित कर्मचारीहरु मेरो बुवा रहनु भएको अस्पतालको बेडमा आइ बयान लिने काम शुरु गरेछन् । मेरो बुवाले पनि उपल्लो अधिकृतको सल्लाहअनुसार नै बयान दिनु भएछ ।
सेवाबाट अवकाश
यत्तिकैमा दिनहरु बित्दै गएछन्, उक्त समयको प्रबिधिले उपचार गर्दा उहाँको गोडा धेरैदिनसम्म सञ्चो भएनछ । एकदिन अस्पतालको बेडबाटै उहाँलाई राणा सरकारबाट बोलावट भएकोले राणा सरकार सामु लगिएपछि सोधनी भएछ, तिमी प्रहरी सेवामा रहेर प्रजापरिषदका सदस्य राजद्रोही विद्यार्थी गंगालाल श्रेष्ठलाई सहयोग पु¥याउने काम गरेको छौ भन्ने कुरा सुन्नमा आयो, के यो सत्य हो ? भनी सोधनी हुँदा सो कुरा सत्य नभएको र आफु लामो समय सल्यान बसेको कुरा जाहेर गर्नुभएछ । सल्यान बसेको बृतान्त प्रस्तुत गर्नुभएपछि उक्त कुरा सोध्ने व्यक्ति (राणा सरकार) विश्वस्त भएर हुनसक्छ— भैगो, ब्राम्हण रहेछौ, अब आइन्दा राजद्रोहीको साथ संगत नगर्नु, राजद्रोही गतिविधिमा लाग्नेहरुलाई कुनै प्रकारको सहयोग नगर्नु र आफूपनि त्यस प्रकारका गतिविधिमा लाग्ने छैन भन्ने व्यहोराको कागज गराई माफी दिनु र आजैका मितिदेखि प्रहरी सेवाबाट अवकाश दिनु भन्ने हुकुम भएछ । उक्त समयसम्ममा गंगालाल पक्राउ परिसकेको हुँदा निजको बयान नसकिएसम्म मेरो बुवालाई पनि हिरासतमा राखिरहनु भन्ने व्यहोरा सुनाई पुनः प्रहरी हिरासतमा राखिएछ ।
केहि दिनपछि गंगालाललाई शोभा भगवतीस्थित विष्णुमतीको किनारामा गोली प्रहार गरी मार्ने तयारी भइरहेको समयमा त्यस स्थानमा मेरो बुवालाई पनि उपस्थित गराएर गंगालालसित मृत्युदण्डको समयमा मृत्युदण्डका लागि गोली प्रहार गर्न आदेश गर्ने अधिकारीले गरेको सम्वाद समेत सुनाइएको रहेछ । उक्त समयमा गंगालाललाई माफी माग भन्दै लामो सम्वाद गर्दा पनि उहाँले माफी माग्नु भएनछ र तीनवटा गोली प्रहार गरेर मृत्युदण्ड दिएपछि मेरो बुवालाई प्रहरी हिरासतबाट मुक्त गरिएछ ।
गंगालाललाई मृत्युदण्ड
सहिद गंगालाललाई मृत्युदण्ड दिनु अगाडि मृत्युदण्ड दिन आदेश गर्ने अधिकारी र गंगालालका बीच भएको सम्वाद अत्यन्त मार्मिक थियो रे । हेर्ने मानिसहरु स्तब्ध, अधिकांश मानिसहरुका आँखाबाट आँसु बगिरहेको थियो रे । यस्तो अवस्थामा सहिद गंगालाललाई पटक पटक माफी माग्न आदेश दिंदा रहेछन्, तर उहाँ अस्विकार गर्नुहुँदो रहेछन्, सोहि समयमा उहाँको छोरा जन्मिएकाले उक्त सुखद् समाचार सुनाएर पुनः माफी माग्न भन्दा पनि उहाँको निर्भिकतामा कुनै प्रकारको कमी आएनछ । र अझ उहाँले यसरी जवाफ दिनुभएछ – ‘मेरो छोरो जन्मिएको भए राम्रो भयो, तर मलाई छोरो जन्मेको मोहमा नफसाउ, सूर्य अस्तपछि चन्द्रमाको उदय भएजस्तै मेरो अन्तसँगै मेरो छोराको जन्म भएकोमा म हर्षित छु । म माफी माग्दिन, आफू एकतन्त्रीय निरंकुश शासन व्यवस्थाको अन्त्य र प्रजातन्त्रको स्थापनाको लागि योद्धाको रुपमा समर्पित भई मैदानमा उत्रेको हुँदा मलाई कुनै प्रकारको डर–त्रास, लोभ, माया–मोह केही छैन । म मर्न तयार छु मलाई गोली प्रहार गरेर मार्ने निरंकुश राणा सरकारले निश्चित गरेको हुँदा छिटो भन्दा छिटो मलाई गोली प्रहार गर, म मरेपछि निरंकुश राणा सरकारको विरोधमा लडाइँ गर्ने लाखौं योद्धा तयार हुनेछन्, जसले राणा शासनको अन्त्य गरि प्रजातन्त्रको स्थापना गर्नेछन् आदित्यादि भनि म माफी माग्दिन भन्ने सम्वादपछि गंगालाललाई गोली प्रहार गरेको दृश्यले मरो बुवा बेहोस हुनुभएछ । उक्त समयमा कलिलो उमेरको युवकको साहस र देशका लागि दिएको योगदान (जीवन आहुति)ले धेरै मानिसमा पे्ररणा र केही मानिसमा भने त्रास फैलाएको रहेछ ।
काभ्रेपलाञ्चोक बिहावर डिहीगाउँ बस्ने मेरा बुवा प्रहरी सेवामा रहँदा गंगालालकै घर काठमाण्डौं प्याफलमा डेरा गरी बस्नुभएको समयमा गंगालालको निर्भीकपना र प्रष्ट बोल्ने बानीबाट उहाँ प्रभावित हुनु भई उहाँले गंगालाललाई असाध्य माया गर्नुहुन्थ्यो रे । असन र इन्द्रचोकको भाषणपछि गंगालाललाई वारेन्ट काटिएको रहेछ । त्यसपछि गंगालाल नरदेवीको भित्री चोकमा लुकेर बसेका रहेछन् । त्यस्तो समयमा पनि मेरो बुवाले पुलिसको जागिरको समेत प्रवाह नगरी रातको समयमा खाना पु¥याई गंगालाललाई खुवाउने र गंगालालले लेखेको पत्र पुष्पलाललाई ल्याएर दिने गर्नुहुँदो रहेछ । केही दिनपछि गंगालालको साथमा उनका भाइ पुष्पलाल (माइलाकाजी) पनि सँगै बसेका रहेछन्, एस.पी. आशा “हामीले प्रजातन्त्र कसरी ल्यायौ” (२०५७ फाल्गुण) पृष्ठ संख्या २०० ।
गंगालालको स्नेहले गर्दा मेरो बुवाले आफूलाई भविष्यमा हुनसक्ने सम्भावित सजायसमेतको वास्ता गर्नु भएनछ, उहाँले यो काम गंगालाल लुकेर बसुन्जेल गर्नुभएको रहेछ । उहाँको पुलिसको जागिर भएकोले कहिलेकाही मेरो बुवा नआउनु हुँदा मेरो आमा उत्तरकुमारीले गंगालाललाई खाना पु¥याउने र उनको मद्दत गर्ने गर्नु भएको रहेछ । पछि सुब्बा नारायणभक्त श्रेष्ठले सिफारिस गराएर जुद्धशमशेरबाट मेरो बुवाको सजाय माफी गराएका रहेछन् । त्यसपछि मेरो बुवा पनि प्रजापरिषद्को सदस्य भएको थाहा पाएका रहेछन्, एस.पी. आशा “हामीले प्रजातन्त्र कसरी ल्यायौ” (२०५७ फाल्गुण) पृष्ठ संख्या २४७ ।
( प्रस्तुत आलेख डा.केशब सापकोटाले तत्कालीन प्रहरी सेवामा रहेका आफ्ना पिता जगन्नाथ सापकोटाका बारेमा आमा उत्तराकुमारी सापकोटाका स्मरण समेटेर हालै प्रकाशन गर्नुृभएको राणाकालीन तालुकदार र मुक्ते घर्ती नामक पुस्तकबाट साभार गरिएको हो )