logo
२०८० चैत्र १६ शुक्रवार



गुणस्तरहीन वस्तु नियन्त्रण गर्न प्रहरी अभियान

अर्थ |


गुणस्तरहीन वस्तु नियन्त्रण गर्न प्रहरी अभियान


काठमाडौँ, फागुन ८ गते । दैनिक उपभोग्य वस्तुको शुद्धता तथा गुणस्तरप्रति उपभोक्ता सचेत नहुँदा मिसावट र गुणस्तरहीन वस्तुको बिक्री वितरण फस्टाउँदै गएको छ । दुई महिनामा छवटा ‘कारबाही’मा महानगरीय प्रहरी अपराध महाशाखाले यस्तै मिसावट र गुणस्तरहीन वस्तुको कारोबार फेला पारेको छ । अपराध महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) वसन्त कुँवरले ‘मिसावट र गुणस्तहीन’ वस्तुको प्रयोगलाई उपभोक्ताले सामान्य ढङ्गले लिए पनि जीवनका लागि खतरा बढेको बताउनुभयो ।

“तपाईं हामीले नुहाउन प्रयोग गर्ने स्याम्पु, कपालमा लगाउने तेल, मह, मदिरा, सुर्तीजन्य वस्तु गुट्खा, पानपराग, खैनीलगायतका वस्तुमा मिसावट देखिएको छ,” महाशाखा प्रमुख कुँवरले भन्नुभयो । प्रहरीले मिसावट, नक्कली तथा गुणस्तरहीन वस्तु नियन्त्रण गर्न अभियान चलाएको छ ।

सो महाशाखाले पुस र माघ महिनामा मिसावट, गुणस्तरहीन र नक्कली वस्तु खरिद बिक्रीविरुद्ध छवटा ‘अप्रेसन’ सञ्चालन गरी करिब ५० जनाभन्दा बढी अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले एक करोड रुपियाँभन्दा बढी यस्ता सामान जफत गरेको छ । दैनिक भान्सामा प्रयोग हुने बेसार, दाल, चामल, पिउने पानी, खाने तेल, दूध, मह, घिउ तथा रेस्टुराँमा बन्ने परिकार र मिठाईलगायतका वस्तुमा पनि मिसावट देखिएको भनाइ प्रहरीको छ । प्रहरीले पुस महिनामा मह, सुर्तीजन्य तथा कस्मेटिक वस्तु, पीसीआर रिपोर्ट, औषधिलगायत तीनवटा र माघमा खाद्यान्न, मदिरा, नक्कली नोटको कारोबारलगायत तीनवटा घटना फेलापारेको हो ।

छैन उपभोक्ताको उजुरी
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग निर्देशक हरिप्रसाद पङ्गेनी चाडपर्व र बेलामौकामा बजार अनुगमन हुने र अरू बेला सुराकी तथा उजुरीका आधारमा प्रहरीसँग सहकार्य गरी अनुगमन हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “यस विषयमा आमउपभोक्ता सचेत हुन जरुरी छ । समयमा नै उपभोक्ताबाट उजुरी आउँदैन, आफ्नो स्वास्थ्यप्रति आफँै ख्याल गर्दैनन् । ” उहाँका अनुसार चाडबाडका बेला हप्तामा प्रायः एउटासम्म उजुरी आउने गरेको छ, अन्य समयमा कहिलेकाहीँ मात्रै आउँछ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बजार अनुगमनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुगमन टोली नै खटिने गरेको बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?