logo
२०८० चैत्र १५ बिहीवार



व्यापार घाटा १० खर्ब नाघ्यो

अर्थ |


व्यापार घाटा १० खर्ब नाघ्यो


काठमाडौँ, फागुन ११ गते । चालू आर्थिक वर्ष २०७८/७९ को सात महिना पूरा हुँदासम्म नेपालको अन्तर्राष्ट्रिय व्यापार घाटा १० खर्ब नाघिसकेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार माघसम्म नेपालको व्यापार घाटा दस खर्ब १५ अर्ब ८० करोड ८४ लाख रुपियाँ रहेको छ । अघिल्लो आवको सात महिनाको तुलनामा यो ३८.४५ प्रतिशतले बढी हो । गत आवको सोही अवधिसम्म नेपालको व्यापार घाटा आठ खर्ब ७३ अर्ब ५६ करोड रुपियाँ थियो ।

तथ्याङ्कअनुसार नेपालले माघसम्म ११ खर्ब ४७ अर्ब ४६ करोड रुपियाँको निर्यात गरेको छ । अघिल्लो माघको तुलनामा यो ४२.७८ प्रतिशतले बढी हो । निर्यातमा उल्लेख्य वृद्धि देखिएको छ । सात महिनासम्म नेपालले एक खर्ब ३१ अर्ब ६५ करोड रुपियाँको निर्यात गरेको छ जुन अघिल्लो आर्थिक वर्षको सात महिनाको तुलनामा ८८.३० प्रतिशतले बढी हो ।

समीक्षा अवधिसम्म नेपालले सबैभन्दा धेरै ७२ अर्ब ९६ करोड रुपियाँको डिजल आयात भएको छ । त्यसपछि ३९ अर्ब ६६ करोड रुपियाँको कच्चा भटमास तेल, ३४ अर्ब ६९ करोड रुपियाँको एलपी ग्यास, ३३ अर्ब ५६ करोड रुपियाँको पेट्रोल र २९ अर्ब ८६ करोड रुपियाँको अर्ध प्रशोधित फलाम समाग्रीहरूको आयात भएको छ ।

निर्याततर्फ सबैभन्दा धेरै ३६ अर्ब ८५ करोड रुपियाँको भटमास तेलको निर्यात भएको तथ्याङ्कमा उल्लेख छ । ३४ अर्ब १४ करोड रुपियाँको प्रशोधित पाम तेल, पाँच अर्ब सात करोड रुपियाँको उनी गलैँचा, तीन अर्ब ४० करोड रुपियाँको उनी कपडा र दुई अर्ब ७५ करोड रुपियाँको फेल्ट निर्यात भएको छ ।

यसबीचमा नेपालले सबैभन्दा धेरै भारतसँग व्यापार गरेको छ । भारतबाट ६ खर्ब ९६ अर्ब २४ करोड रुपियाँको आयात गर्दा एक खर्ब ६ करोड रुपियाँको निर्यात गरेको छ । चीनबाट एक खर्ब ६५ अर्ब रुपियाँको आयात हुँदा नेपालले ४८ करोड ७९ लाख रुपियाँको मात्र निर्यात गरेको छ । त्यसपछि इन्डोनेसियाबाट ३५ अर्ब ३७ करोड रुपियाँको आयात गर्दा दुई करोड ४३ लाख रुपियाँको मात्र निर्यात गरेको छ ।

संयुक्त अरब इमिरेट्सबाट नेपालले सात महिनामा ३१ अर्ब ७४ करोड रुपियाँको आयात गरेको छ भने २८ करोड ४२ लाख रुपियाँको निर्यात गरेको छ । त्यस्तै संयुक्त राज्य अमेरिकाबाट ३० अर्ब तीन करोड रुपियाँको आयात गर्दा नौ अर्ब ९१ करोड रुपियाँको निर्यात गरेको छ । समीक्षा अवधिभर सबैभन्दा धेरै वीरगञ्ज भन्सारबाट चार खर्ब एक अर्ब रुपियाँको आयात भएको छ । त्यस्तै सोही भन्सारबाट ६० अर्ब रुपियाँको निर्यात भएको देखिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?