logo
२०८१ बैशाख ८ शनिवार



घरेलु हतियारको प्रयोगले सुरक्षाकर्मीको ज्यान जोखिममा, ६ वर्षमा ११ काे मृत्यु

पढ्नै पर्ने |
खुला |


घरेलु हतियारको प्रयोगले सुरक्षाकर्मीको ज्यान जोखिममा, ६ वर्षमा ११ काे मृत्यु


काठमाडौं, चैत ९ गते । पछिल्लो समय स्थानीय स्तरमा हुने आन्दोलनहरुमा घरेलु हतियारको प्रयोग गर्ने क्रम बढेपछि सुरक्षाकर्मीको ज्यान जोखिममा पर्ने गरेको छ । यस्तै घटनामा विगत ६ वर्षमा ११ जनाको प्रहरीकाे मृत्यु भएकाे छ । 

आइतबार मात्रै मोरङमा १४ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका शिक्षकलाई पक्राउ गर्न खटिएको प्रहरी टोली र स्थानीयबीच झडप हुँदा स्थानीयको चक्कु प्रहारबाट घाइते भएकी महिला प्रहरीको ज्यान गएको छ ।

यस्तै, गत फागुनमा काठमाडौंको नयाँबानेश्वर क्षेत्रमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा प्रदर्शनमा उत्रिएका र प्रहरीबीच झडप भएको थियो । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको थियो ।

प्रहरीले प्रदर्शनकारी छेक्न खोजे पनि भीड सुरक्षा घेरा तोडेर अघि बढेपछि प्रहरीले बल प्रयोग गर्दा प्रदर्शनकारीले ढुङ्गा हानेका थिए । राजधनीमा भएको सो प्रदर्शनमा पनि प्रदर्शनकारीले घरेलु हतियार बोकेका तस्बीर सार्वजनिक भएका थिए सुरक्षाकर्मीले प्रदर्शनकारी भगाउन पानीको फोहोरा, अश्रुग्यास प्रयोग गर्दा दुबै पक्षबीच हानाहान भएपछि उक्त क्षेत्र तनावग्रस्त बनेको र केही प्रहरीसहित प्रदर्शनकारी घाइते भएका थिए ।

२०७२ भदौ ७ गते कैलालीको टीकापुर नगरपालिकामा थरुहट समर्थक प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा प्रहरी वरिष्ठ उपरिक्षक सेती अञ्चलका प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित नेपाल प्रहरीका तथा सशस्त्रका दुई र एक बालकसहित आठ जनाको ज्यान गएको थियो ।

यी त प्रतिनिधि घटना मात्र हुन । यस्ता घटना बारम्बार दोहोरिने गर्छन् । जनताका सेवाका लागि खट्ने प्रहरी नै जनताबाट मारिएका छन् भने कतिपय अवस्थामा सर्वसाधारणको समेत ज्यान जाने गरेको छ । आइतबार प्रदेश प्रहरी गण विराटनगरमा कार्यरत प्रहरी जवान उर्मिला श्रेष्ठ लेटाङ नगरपालिकामा शिक्षकले छात्रामाथि दुर्व्यवहार गरेको विषयमा विवाद बढेपछि प्रहरी र स्थानीयबीच झडप हुँदा श्रेष्ठ मारिनुभएको हो ।

घटनाकोे ढिलो गरी प्रहरीमा खबर आएको र स्थानीयको उग्ररुपका कारण घटना भएको केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारी विष्णुकुमार के.सी.ले बताउनुभयो । उहाँका अनुसार प्रहरी र स्थानियबीच कहिलेकाहीँ यस्ता घटना हुन्छन् । त्यसका लागि आम नागरिक, सामाज समयमा सजग र सचेत भएन भने यस्ता किसिमका घटना दोहोरिरहने हुन्छ ।

यसका लागि प्रहरीलाई घटना हुनुभन्दा अगाडि नै समस्याको बारेमा जानकारी गराउनुपर्ने हुन्छ । र प्रहरी पनि तत्काल त्यहाँ पुगेर समस्याको सामाधान गर्नुपर्ने वातावरण मिलाउनुपर्ने हुन्छ । उहाँले भन्नुभयो,‘हिजो मोङमा भएको घटनाकोे ढिलो गरी खबर आएको र स्थानीयको उप्ररुपका कारण घटना भएको अवस्था छ ।’ विवादित विषय छ भने प्रहरी पनि तयारी साथ जानुपर्ने हुन्छ ।
कल्पना नै नगरेका घटनाहरु हुन्छन् । समस्या भएपछि आफैँ मिलाउने होइन । सम्बन्धित निकायमा खबर गर्नुपर्ने हुन्छ । सम्बन्धित निकायले तत्काल त्यसको जवाफ (रेस्पोन्स) गर्नुपर्ने हुन्छ । एकै चोटी घटनाले उग्ररुप लिएपछि मात्रै प्रहरीलाई खबर भएपछि केहिलेकाहीँ यस्ता किसिमका घटना हुन्छन् प्रवक्ता के.सी.को भनाइ छ ।

आम नागरिक र अन्यले सकारात्मक तरिकाले साथ र सहयोग गरी समस्याको निराकरण गर्नुपर्ने हुन्छ । पछिल्लो समय प्रदर्शनकारीले घरेलु हतियार बोकेर आन्दोलनमा आउने गरेका कारण सुरक्षाकर्मीको ज्यान जोखिममा पर्ने गरेको छ । यस्ता घटनाका लागि सरकारले दीर्घकालीन सोच बनाउनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।

सुरक्षा साधन भए पनि प्रदर्शनकारीले लुकिछिपी प्रहरीलाई आक्रमण गर्दा बच्न सक्ने अवस्था हुँदैन । कुनै पनि घटनाको कानुनी उपचार नखोजी आक्रमण गर्ने मनशाय बनाउने हुँदा यस्ता घटना दोहोरिने गरेको छ ।

समाजशास्त्री मधुसुदन सुवेदीका अनुसार प्रहरीले बल प्रयोग गर्नुपरेमा अन्दोलनकारी मार्कमा पर्ने हुँदा राज्यले दिएको जिम्मेवारी पुरा गर्ने बेला प्रहरी फस्ने गर्छ । प्रहरीलाई स्थिति नियन्त्रण गर्न जथाभावी हातियार प्रयोग गर्ने अधिकार हुँदैन ।

यसका लागि राज्यको तर्फबाट प्रहरीले राजनितिक पार्टी वा स्थानीयबीच भएको विवाद मिलाउन छलफल गर्ने वातावरण मिलाएर छलफल गर्नुपर्ने हुन्छ । उहाँले भन्नुभयो,‘अन्दोलनकारी र प्रहरी दुबै संयमित हुनुपर्छ, केही बर्दी र केही विना बर्दीका प्रहरी अन्दोलनमा हुन्छन् तर प्रहरीलाई फसाउने काम गर्नुभएन ।’ राज्य वा सरकार दुवैले मिलाउने काम गर्नुपर्ने हुन्छ ।

२०७२ पछिका मुख्य घटना
नेपाल प्रहरीको तथ्यांक अनुसार प्रहरी वरिष्ठ उपरिक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरिक्षक केशव बोहरा, प्रहरी निरीक्षक बलराम बिष्ट, प्रहरी हावलदार श्यामबहादुर खड्का, प्रहरी जावान लोकेन्द्रबहादुर चन्द, प्रहरी हावलदार जनकबहादुर नेगीको कैलालीको टीकापुरमा थरुहटसँगको दोहोरो झडपमा परी २०७२ भदौ ७ गते मृत्यु भएको थियो ।
प्रहरी सहायक निरीक्षक गोविन्द वि.क.र प्रहरी जवान रामबहादुर साउदलाई भारतको सीमामा पर्ने जुगडा कैलालीमा अापराधिक समूहले अपरहण गरी २०७७ कात्तिक १ गते हत्या गरेको थियो ।

प्रहरी हवल्दार देवबहादुर पाण्डे थरुहटको आक्रमणमा परी बर्दियामा २०७२ भदौ १८ गते मृत्यु भएको थियो भने प्रहरी जवान संजीवकुमार राईले नेकपा माओवादी नेत्रविक्रम चन्द विप्लव समूहको आक्रमणमा परी भोजपुरमा २०७६ असार २५ गते मृत्युवरण गर्नुपरेको थियो ।

यस्तै, प्रहरी जावान उर्मिला श्रेष्ठ मोरङको लेटाङ–५ मा स्थानीय र प्रहरीबीच झडप हुँदा घाइते भएकोमा उपचारको क्रममा आइतबार मृत्यु भएको छ । यसरी झडपको क्रममा एक महिला प्रहरीसहित ११ जना प्रहरीको मृत्यु भएको छ ।

प्रहरी कर्मचारीको झडपमा परी मृत्यु भएमा प्रदर्शनकारीलाई कर्तव्य ज्यानसम्बन्धी मुद्दामा मुलुकी अपराध संहिता २०७४ अनुसार सजाय हुने कानुनी व्यवस्था छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?