logo
२०८१ जेष्ठ ३ बिहीवार



संविधान रक्षामा ऐक्यबद्धता

राष्ट्रिय |


संविधान रक्षामा ऐक्यबद्धता


दीपक श्रेष्ठ 

काठमाडौँ, भदौ ४ गते । संसद्मा रहेका प्रमुख राजनीतिक पार्टीहरूको सर्वदलीय बैठकमा नेताहरूले गणतन्त्र, सङ्घीयता, लोकतान्त्रिक प्रणाली र संविधानको रक्षाका विषयमा आफूहरू एकताबद्ध रहेको बताउनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार सम्पन्न बैठकमा नेताहरूले यस्तो प्रतिबद्धता जनाउनुभएको हो । बैठकपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ उद्धृत गर्दै भन्नुभयो, “गणतन्त्र, सङ्घीयता, लोकतान्त्रिक प्रणाली र संविधानमाथि एउटा वा अर्को कोणबाट प्रहार भइराखेको स्थितिमा लोकतान्त्रिक गणतन्त्र र सङ्घीयताका लागि सङ्घर्ष गर्ने सबै राजनीतिक पार्टीहरू एकताबद्ध भएर अगाडि बढ्नुपर्छ । ”
नेता श्रेष्ठका अनुसार संसद्मा रहेका प्रमुख राजनीतिक दलका नेताहरूले जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिमाथि कहीँकतैबाट प्रहार भएमा सहन गर्न नसकिने धारणा बैठकमा राख्नुभएको बताउनुभयो । उहाँले बैठकमा प्रधानमन्त्री ओलीले लोकतन्त्रका निम्ति लामो सङ्घर्ष गरेका शक्तिहरूबीच दूरी कम गर्न तथा समझदारी र सहकार्यको प्रक्रियालाई फेरि अगाडि बढाउन बैठक राखिएको बताउनुभयो ।
“देशमा हिंसात्मक गतिविधि हुन नदिन पनि सबै एकताबद्ध भएर अगाडि बढ्नुपर्छ”, प्रधानमन्त्री ओलीले बैठकमा राख्नुभएको धारणा उद्धृत गर्दै नेता श्रेष्ठले भन्नुभयो, “लामो द्वन्द्वपछि देशमा शान्ति स्थापना भइसकेको छ । यस्तो स्थितिमा मुलुकलाई कुनै पनि कोणबाट फेरि हिंसाको बाटोमा लैजान दिनु हुँदैन । त्यसैले हिंसालाई कसैले पनि प्रोत्साहित गर्ने गतिविधि गर्नु हुँदैन । ”
उहाँका अनुसार बैठकमा शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्नुपर्ने, कुनै पनि प्रकारको हिंसात्मक गतिविधि हुन नदिने, संविधान र कानुनविरोधी गतिविधि नियन्त्रण गर्ने तथा आवश्यक परे वार्ताबाट पनि समाधान खोजिनुपर्नेमा नेताहरू एकमत देखिनुभएको थियो । उहाँले आन्दोलनबाट विस्थापित शक्तिबाट हुनसक्ने कुनै न कुनै प्रकारको चलखेलप्रति सचेत हुन खोजिएको बताउनुभयो ।
नेपाली काँग्रेसका नेता कृष्ण सिटौलाले प्रधानमन्त्रीबाट भएको पहललाई काँग्रेसले सकारात्मक रूपमा लिएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले गम्भीर र लचिलो भएर प्रतिपक्षको सहयोगको अपेक्षा राख्नुभएको छ । यसलाई हामीले सकारात्मक रूपमा लिएका छौँ । व्यवस्थाको पक्षमा हामी सधैँ एकसाथ छौँ । ” उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन व्यवस्थाबाट देशले द्रुत गतिमा समृद्धि पाउनुपर्ने र त्यसमा सरकारले अझ गम्भीर भएर काम गर्नुपर्ने सुझाव बैठकमा दिएको बताउनुभयो ।
उहाँका अनुसार बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठनसहित शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने सम्बन्धमा छलफल भएको थियो । शान्ति प्रक्रियालाई छिटै टुङ्गोमा पु¥याउनुपर्छ भन्नेमा सबैको एक मत रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले ‘एब्सुल्युट पावर’ आपूmमा राख्न हुन्न । जस्तै– सुरक्षा परिषद्को कुरा आयो । त्यसमा ल्याइएको विधेकमा केही सच्याउनुपर्छ । ”
बैठकमा सहभागी राष्ट्रिय जनता पार्टीका नेता राजकिशोर यादवले बैठक राष्ट्रिय सरोकार र राष्ट्रिय कार्यभारका विषयमा संसद्भित्र रहेका दलहरूबीच सहकार्य बढाउनेबारे केन्द्रित भएको बताउनुभयो ।
बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, राजपाका नेता महन्थ ठाकुर, समाजवादी पार्टी नेपालका नेता डा. बाबुराम भट्टराईलगायत नेताहरूको उपस्थिति थियो ।
बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे समेत जानकारी गराउनुभएको थियो । बैठक बुधबार पुनः बस्ने नेता श्रेष्ठले जानकारी दिनुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?