logo
२०८० चैत्र १५ बिहीवार



स्थानीय तह निर्वाचन नयाँ वर्षको संकल्प हो : प्रमुख आयुक्त थपलिया

राष्ट्रिय |


स्थानीय तह निर्वाचन नयाँ वर्षको संकल्प हो : प्रमुख आयुक्त थपलिया


गोरखापत्र अनलाइन
काठमाडौं, चैत ३० गते । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । बुधबार शुभकामना सन्देश दिनुहुँदै उहाँले हरेक व्यक्तिको जीवनमा कुनै न कुनै नयाँ उमंग, ऊर्जा एवं उत्साह लिएर नयाँ वर्ष आउने विश्वास व्यक्त गर्नुभयो ।

“वर्ष परिवर्तन हुनु भनेको पात्रो फेरिनु मात्र होइन, नयाँ वर्षको अवसरमा व्यक्तिगत जीवनमा केही न केही नयाँ प्रतिबद्धता व्यक्त गर्नु पनि हो” प्रमुख आयुक्त थपलियाले भन्नुभएको छ, “नयाँ वर्ष २०७९ को वैशाख महिनाको ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचन राष्ट्रिय जीवनको सबैभन्दा महत्वपूर्ण ‘न्यू इयर रिजुलुसन’ हो ।”

“नयाँ वर्षको उपलक्ष्यमा म सम्पूर्ण बालिग मतदाता एवं देश विदेशमा रहनु भएका सबै नेपाली दिदीबहिनी दाजुभाइमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै निर्वाचनको महाउत्सवमा सहभागी हुन आग्रह गर्दछु” प्रमुख आयुक्त थपलियाले सन्देशमा भन्नुभएको छ ।

२०७९ वैशाख ३० गते सम्पन्न हुन गइरहेको निर्वाचन लैंगिक तथा समावेशी दृष्टिकोणले उल्लेखनीय हुनुपर्छ भन्ने आयोगको स्पष्ट धारणा रहेको उहाँले प्रष्ट पार्नुभएको छ । स्थानीय तह निर्वाचनमा लैङ्गिक तथा समावेशी प्रतिनिधित्व सुनिश्चित हुनेगरी उम्मेदवार मनोनयनको व्यवस्था गर्न स्थानीय तह निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका ७९ राजनीतिक दलहरूलाई पत्राचार गरी सकिएको उहाँले जानकारी गराउनुभयो ।

“स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १७ को उपदफा (४) मा स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष, प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमध्ये पचास प्रतिशत महिला उम्मेदवार रहने गरी मनोनयनपत्र पेश गर्ने व्यवस्था रहेको तर, दलले एकजना मात्र उम्मेदवारी दिएमा यो उपदफाको प्रावधान लागू हुने छैन भनी उल्लेख भएको सन्दर्भमा आयोगले उक्त व्यवस्थाले एक जना मात्र उम्मेदवारी मनोनयन गर्दा महिलालाई उम्मेदवारी नदिनु भनेको होइन भन्ने कुरा स्पष्ट गर्दछौं” उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।

नेपालको संविधान तथा निर्वाचन सम्बन्धी कानुन बमोजिम तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु आयोगको कर्तव्य र दायित्व भएको चर्चा गर्नुहुँदै प्रमुख आयुक्त थपलियाले निर्वाचनलाई उत्सवका रूपमा लिएर मतदानमा सहभागी हुनु बालिग मतदाताको अधिकार र कर्तव्य दुबै भएको बताउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?