logo
२०८१ मंसिर ८ शनिवार



शक्तिको आराधना गर्दै नरसिंह जात्रा

राष्ट्रिय |


शक्तिको आराधना गर्दै नरसिंह जात्रा


यलु जोशी

ललितपुर, भदौ ४ गते । शान्त स्वभावका नरसिंह पनि छन् भन्ने सबैलाई थाहा नहुन सक्छ । कात्तिक नाचको समयमा निकालिने नरसिंह उग्र रूपका हुन् भने उपाकलं सायाःका नरसिंह शान्त स्वभावका हुन् ।
देव ब्राह्मण समुदायले हरेक वर्षको भाद्र कृष्ण पञ्चमीका दिन उपाकलं सायाः नामबाट नरसिंहको जात्रा चलाउँदै आएका छन् । उपाकलं सायाः नरसिंह जात्रा मङ्गलबार पाटनमा विष्णुका साथै शक्तिको पनि आराधना गरी मनाइएको छ ।
जात्राको सुरुआत कहिलेबाट सुरु भयो भन्ने यकिन तथ्याङ्क नभएको नरसिंह जात्रा मूल समारोह समितिका संयोजक उमेश्वर राजोपाध्यायले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विगतमा श्रीधर नारायणको जात्रा हुने गथ्र्याे भनेर समाजका अग्रजहरूले बताउने गर्छन् । एकपटक जात्राको समयमा केही समूहबाट आक्रमण भएर श्रीधर नारायणको जात्रा रोकियो र नरसिंह जात्रा चलाउन थालिएको भनाइ रहेको छ । ” ललितपुरका राजोपाध्याय ब्राह्मणहरूको उपाकर्म गुठीसँग भने यसको नेपाल संवत् ७५१ (वि.सं. १६८८) देखिको लिखित दस्तावेज छ । जात्रामा नरसिंहको मुकुण्डो लगाई ललितपुरको गाईजात्रा रुटमा परिक्रमा गराइने उहाँले बताउनुभयो ।
नकबहिबाट धलायचा हुँदै क्वालखु, झतापोल, कुम्भेश्वर, क्वबहाल, स्वथ, मङ्गलबजार, सौगल, सुन्धारा, वकुबहाल, चक्रबहिल, तङ्गल, हौगल, तिछुँगल्ली, इखालखु, जेनबहाल, वलाबाट पूर्णचण्डी हुँदै गाःबहालबाट प्यंगःथां, पिम्बहाः स्वनिम्हमै सम्पन्न हुने गर्छ ।
यसरी नगर परिक्रमा गराइँदा नरसिंहको दायाँ र बायाँ लक्ष्मी र सरस्वती पनि सँगसँगै रहेका हुन्छन् । अगाडि भने भक्त प्रह्लादको रूपमा एक जना बालक हातमा धूप लिएर नरसिंहपट्टि फर्केर उल्टो हिँड्ने गर्छन् ।
साथमा भजन समूह, धिमे बाजा समूह, लाखेले त जात्रालाई हर्षोल्लासमय बनाएको थियो । संयोजक राजोपाध्यायले थप्नुभयो, “नरसिंहको पछाडि कपडाबाट बनाइएको दुईवटा पुतली पनि बाँधिएको हुन्छ र नरसिंह हिँड्ने बेला सोही पुतलीलाई लतार्दै जान्छन् । रुन्चे लागेका बालबालिकालाई यो पुतली ढोग्न लगाएमा रुन्चे निको हुन्छ भन्ने जनविश्वास छ । ”
उहाँले जात्राका मुख्य नरसिंह रहेको कारणले सर्वसाधारणले यी पुतलीलाई दुई असुर हिरण्याक्ष र हिरण्यकश्यपु भन्ने गरे पनि ती पुतली हिरण्याक्ष र हिरण्यकश्यपु नभई मधु र कैटभ भएको प्रस्ट पार्नुभयो ।
नरसिंह जात्रा विज्ञ हेरम्वानन्द राजोपाध्यायले मधु र कैटभको बध नारायणले गरेका जानकारी दिँदै भन्नुभयो, “यसमा नारायणलाई साथ दिएका थिए कालीले । मधु र कैटभलाई घिसार्दै हिँडेका उपाकलं सायाःका नरसिंहको अग्र भाग नरसिंह हो भने पछाडिको भाग काली हो । ”
नरसिंह नाचभन्दा अगाडि पनि कालीको पूजा गर्नुपर्ने र नाच सम्पन्न भइसकेर पनि कालीकै पूजा गरेपछि मात्र नाच विधिवत् सम्पन्न हुने परम्पराले नरसिंह र कालीको सम्बन्ध देखिने उहाँले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?