logo
२०८१ मंसिर ८ शनिवार



सेनामा भुँडेलाई अवसर कम

राष्ट्रिय |


सेनामा भुँडेलाई अवसर कम



देवबहादुर कुँवर

काठमाडौँ, भदौ ७ गते । नेपाली सेनामा जवान तथा उच्च अधिकारीहरू मोटाउँदै जानुका साथै भुँडे, अल्छी र अस्वस्थ हुन थालेपछि उचाइ र तौलबीचको अनुपात मिलाउनु जरुरी भएको छ । यसका लागि बीएमआई अर्थात् ‘बडी मास इन्डेक्स’ अनिवार्य हुने भनिएको छ ।
बीएमआई ‘फिट’ नभएका सैनिक अधिकारीहरू पदोन्नति र संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनामा जाने अवसरबाट वञ्चित हुने भएका छन् । सैनिक जवानदेखि रथीसम्मका उच्च सैनिक अधिकारीका लागि यो नियम लागू गरिएको नेपाली सेनाले जनाएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सैनिकलाई स्वस्थ, फूर्तिलो र निरोगी बनाउन बीएमआई प्रभावकारी हुने अपेक्षा गरिएको छ । बीएमआईअनुसार शरीरको उचाइ र तौल सन्तुलित हुनुपर्छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले स्वस्थ हुन बीएमआई फिट हुनुपर्ने उल्लेख गरेको छ । जसको उचाइअनुसार तौल हुन्छ, त्यो व्यक्ति स्वस्थ र निरोगी मात्र नभई पूmर्तिलो र मानसिक रूपमा परिपक्व हुने गरेको जानकारी डब्लूएचओले दिएको छ ।
सैनिक प्रवक्ता विज्ञानदेव पाण्डे सैनिक कर्मचारीको आकर्षण स्वस्थ शरीर र फूर्तिलो जीउडाल हुनु अनिवार्य भएकाले फौजीहरूका लागि यो नियम लागू गरिएको बताउनुहुन्छ । बीएमआई सन्तुलित नहुँदा सैनिक कर्मचारी मोटाउने र भुँडे हुँदा उच्च रक्तचाप, मधुमेह, दमजस्ता रोगबाट पीडित छन् ।
पदोन्नति हुन, विभिन्न सैनिक कार्यालय तथा युनिटको नेतृत्व सम्हाल्न र शान्ति मिसनमा खटिनका लागि बीएमआई सन्तुलित हुनु अनिवार्य छ । मेजर तहका सैनिक अधिकृतहरू स्टाफ कलेज पास गरे पनि बीएमआई फिट नभएमा पदोन्नति हुनबाट वञ्चित हुनेछन् । त्यस्तै एनडीसी (नेसनल डिफेन्स कोर्स) पूरा गरेका सहायक रथीहरू उपरथीमा पदोन्नति हुन बीएमआई अनिवार्य गरिएको छ । सेनाले बीएमआई मापनको सम्पूर्ण जिम्मा छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताललाई दिएको छ ।
सामान्य नागरिकले पनि मापन गर्न सक्ने बीएमआई फिट भएमा स्वस्थ र निरोगी हुने सम्भावना धेरै रहन्छ । स्वास्थ्य विशेषज्ञ डा. महेन्द्र विष्ट बीएमआई सेनामा मात्र होइन, आमनागरिकका लागि अनिवार्य भएको बताउनुहुन्छ ।
चिल्लो, पिरो, तेलमा तारेका परिकार, मासु र मदिराको खानपानले विभिन्न रोग लाग्ने गरेको छ । उहाँले भन्नुभयो, “बिहान नियमित प्रातः भ्रमण र शारीरिक व्यायामसँगै यस्ता परिकारबाट टाढा रहँदा स्वस्थ भइन्छ ।” “फौजीहरूका लागि भुँडी बढ्नु, ज्यान मोटाउनु राम्रो होइन,” उहाँले भन्नुभयो, “उचाइअनुसार तौल हुनु अनिवार्य छ । बीएमआई फिट राख्ने कुरामा आमनागरिक सचेत हुनुपर्छ ।” सन्तुलित आहारविहार र नियमित अभ्यासले सबैलाई स्वस्थ बनाउँछ ।
उहाँका अनुसार शरीरको उचाइ प्रतिशतमा राखी सो प्रतिशतको दुई भागले तौललाई भाग गर्दा बीएमआई नतिजा निस्कन्छ । यसरी निस्केको नतिजामा १८.५ पातलो, १८.६ देखि २४.९ स्वस्थ, २५ देखि २९.९ मोटो र ३० सम्मलाई धेरै मोटोमा राखिएको छ । सेनामा बीएमआई अनिवार्य गरिएपछि ‘मासु र मदिरा’को लत हट्ने बताइएको छ ।
यो नियम नेपाल प्रहरी र सशस्त्र प्रहरीमा पनि लागू गर्नुपर्ने सुझाव दिइएको छ । गृह मन्त्रालयले प्रहरी कर्मचारीमा अशोभनीय भुँडी लागेपछि बीएमआई लागू गर्ने विषयमा छलफल भइरहेको जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?