logo
२०८१ मंसिर ८ शनिवार



विचार संस्थागत गर्न स्कुल विभाग

राष्ट्रिय |


विचार संस्थागत गर्न स्कुल विभाग


गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ ८ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य ईश्वर पोखरेलले पार्टीको विचारलाई संस्थागत गर्ने काम स्कुल विभागले गर्ने बताउनुभएको छ ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री समेत रहनुभएका पोखरेलले पार्टीको संस्थागत निर्णयलाई स्कुलिङका रूपमा प्रस्तुत गर्ने बताउनुभयो । पार्टीको विचारलाई सङ्गठनमा व्यावहारिक रूपमा कसरी लागू गराउने र त्यसमा विभागको भूमिका रहने बताउँदै उहाँले सङ्गठनलाई सुदृढ बनाउने काम पनि विभागले गर्ने बताउनुभयो ।
स्कुल विभागका नवनियुक्त प्रमुखसमेत रहनुभएका सचिवालय सदस्य पोखरेलले पार्टीको विचारलाई थप व्यवस्थित, सङ्गठनलाई सुदृढ र नेतृत्वलाई व्यवस्थित गर्ने काम विभागले गर्ने बताउनुभयो । तत्कालीन नेकपा
(एमाले) को तत्कालीन स्कुल विभागले शनिबार आयोजना गरेको बुझबुझारथ कार्यक्रममा उहाँले पार्टीको कार्यदिशालाई विभागले स्पष्ट रूपमा जनतामा लग्ने काम गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘नेकपासँग चुनौती छ तर त्यसलाई सामना गर्ने पार्टीसँग सामथ्र्य पनि छ । ’’ पार्टीको एकता प्रक्रिया टुङ्गो लगाउन लामो समय लागेको छ तर अब केही दिनमा सबै कुरा टुङ्गिने उहाँले दाबी गर्नुभयो । ‘‘लगभग एकताका सबै काम पूरा भएको छ, केही कुरा बाँकी छन्, तिनलाई पनि चाँडै पूरा गरिने छ’’, उहाँले स्पष्ट पार्नुभयो ।
तत्कालीन स्कुल विभागका उपप्रमुख एवं प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले विभागका कागजात तथा अन्य सामग्री हस्तान्तरण गर्दै विभागीय प्रमुख पोखरेललाई पदभार ग्रहण पनि गराउनुभयो । उहाँले हस्तान्तरण गरिसकेपछि आफ्नो मन्तव्य राख्ने क्रममा स्कुल विभागमाथि ठूलो जिम्मेवारी आएको बताउनुभयो ।
‘‘पहिला वामपन्थी आन्दोलनमा पठन संस्कृति थियो तर अहिले सामाजिक सञ्जालमा अडेको छ’’, मुख्यमन्त्री पोखरेलले भन्नुभयो, ‘‘पढ्ने पढाउने संस्कृतिको विकास स्कुल विभागले गर्नुपर्छ । वामपन्थी विचारका लागि नियमित स्कुलको आवश्यकता भइसकेको छ । ’’ वामपन्थी नेताले मात्र होइन, समाजले पनि वामपन्थीको बारेमा जान्नका लागि त्यहाँसम्म जाने खालको स्कुल निर्माण गर्न उहाँले सुझाव दिनुभयो ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?