सुरेशकुमार यादव
काठमाडौँ, भदौ ९ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकीकरणका बाँकी कार्य पूरा गर्ने गृहकार्यमा लाग्नुभएको छ ।
पार्टी स्थायी समितिका सदस्य देवेन्द्र पौडेलका अनुसार अध्यक्ष प्रचण्डले एकचरण सबैसँग छलफल गरी सचिवालयको बैठक बोलाउनु हुनेछ । सचिवालयको बैठक मङ्गलबारसम्म बोलाउने तयारी भइरहेको नेता पौडेलले बताउनुभयो । अध्यक्ष प्रचण्डले आइतबार सचिवालय सदस्यहरू ईश्वर पोखरेल र वामदेव गौतमसँग भेटघाट गरी साङ्गठनिक एकताका बाँकी प्रक्रिया टुङ्गो लगाउने विषयमा छलफल गर्नुभएको छ ।
नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आफू उपचारका लागि सिङ्गापुर जानुअघि सचिवालयको बैठक बसाएर पार्टी एकीकरणका कामहरू टुङ्गो लगाउने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिनुभएको थियो । प्रचण्डले सोमबार दिउँसो पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सचिवालयको बैठक बोलाउनु भएको छ । सचिवालयको बैठकले गरेका निर्णयप्रति सात बुँदे असहमति दर्ता गराउनुभएका सचिवालय सदस्य माधवकुमार नेपालसँग पनि अध्यक्ष प्रचण्डले छलफल गर्नुभएको छ । छलफलमा वरिष्ठताका आधारमा भएको कार्यविभाजनमा केही त्रुटि भएको भन्दै प्रचण्डले त्यसलाई सर्वसम्मतिका आधारमा सच्याउन प्रयास गरिने प्रतिबद्धता जनाउनुभएको माधव नेपालको निजी सचिवालय स्रोतले जनाएको छ ।
नेकपामा सल्लाहकार कमिटी, प्रवास कमिटी, ज्येष्ठ कम्युनिस्ट मञ्च, लेखा आयोग, कानुन आयोग, अनुशासन आयोग, केन्द्रीय सम्पर्क–समन्वय कमिटी, विशेष प्रदेश कमिटीलगायतको कार्यविभाजन गर्न बाँकी रहेको छ । पार्टी एकीकरण लगत्तै पूर्णता पाएको नौ सदस्यीय सचिवालय गठन भएको छ । त्यस्तै, ४५ सदस्यीय स्थायी कमिटी रहेको छ भने ४४१ सदस्यीय नेकपाको केन्द्रीय कमिटी रहेको छ । सात प्रदेश कमिटीमा ४२ पदाधिकारी (इन्चार्ज, सह–इन्चार्ज, अध्यक्ष र सचिव) रहेका छन् ।
नेकपाको भूगोलका ७७ जिल्ला कमिटीको अध्यक्ष, सचिव र इन्चार्ज र सहइन्चार्ज तथा छवटा महानगरपालिको इन्चार्ज र सहइन्चार्जको पनि टुङ्गो लगाइसकेको छ । त्यसका साथै २२ वटा जनवर्गीय सङ्गठनको संयोजक र सहसंयोजक, इन्चार्ज, सहइन्चार्जको पनि टुङ्गो लागिसकेको छ ।
नेकपामा तीनवटा आयोग रहेका छन् । जसमा दुईवटा आयोगको नेतृत्व तत्कालीन एमालेको भागमा परेको छ भने एकवटा आयोगको नेतृत्व तत्कालीन माओवादी केन्द्रको कोटामा परेको छ । आयोगहरू ३१ सदस्यीय हुनेछ । जसमा तत्कालीन एमालेको तर्फबाट १८ र तत्कालीन माओवादी केन्द्रका तर्फबाट १३ सदस्य रहने मापदण्डमा उल्लेख छ । तर कुन आयोगमा कसले जिम्मेवारी पाउने त्यसको भने अगामी सचिवालय बैठकबाट टुङ्गो लाग्ने बताइएको छ ।
नेकपाको २२१ सदस्यीय केन्द्रीय सल्लाहकार समिति बन्नेछ । जसमा तत्कालीन एमालेबाट १२१ र तत्कालीन माओवादीबाट १०० जना सदस्य रहने बताइएको छ । नेकपाको ज्येष्ठ कम्युनिस्ट मञ्च २२१ सदस्यीय बन्ने भएको छ । पार्टीको पोलिटब्युरो कमिटी गठन गर्न पनि बाँकी छ । पोलिटब्युरो १४७ सदस्यीय हुनेछ । पार्टीका प्रवक्ता नाराणकाजी श्रेष्ठका अनुसार, पार्टी एकीकरणको टुङ्गो लागिसकेपछि मात्र पोलिटब्युरो गठनको एजेन्डामा पार्टी
प्रवेश गर्नेछ ।