logo
२०८१ मंसिर ८ शनिवार



बालबालिकाका लागि खेली–खेली पढ्ने पुस्तकालय

राष्ट्रिय |


बालबालिकाका लागि खेली–खेली पढ्ने पुस्तकालय


शिवा तामाङ

पनौती (काभ्रे), भदौ ९ गते । काभ्रेको पनौतीस्थित सामुदायिक ज्ञान विकास पुस्तकालय एवं सिकाइ केन्द्रले बालबालिकालाई सानै उमेरदेखि नै अध्ययनमा रुचि जगाउने वातावरण सिर्जना गर्ने उद्देश्यले खेली–खेली पढ्ने वातावरण सिर्जना गरेको छ । केन्द्रले साना विद्यार्थीका लागि खेल्ने ठाउँसहितको पढ्ने कोठाको व्यवस्थासमेत गरेको छ ।
अध्ययनमा बालबालिकाको रुचि घट्दै गएकाले खेली–खेली पढ्ने वातावरण तयार गरेको पुस्तकालयका सहायक लाइब्रेरियन सत्यनारायण नापितले जानकारी दिनुभयो । अचेलका बालबालिका पढ्नभन्दा मोबाइल, टीभी, ट्याब लगायतका ग्याजेटमा बढी आकर्षित भएको धारणा राख्दै उहाँले उनीहरूमा अध्ययनभन्दा चलायमान चित्र हेर्ने, खेल खेल्ने क्रम बढेको बताउनुभयो ।
बालबालिकामा पुस्तकप्रति बढेको नैराश्यताका कारण बिहान÷बेलुकै अतिरिक्त कक्षामा बसाएर वा पाठ्यक्रम रटाएर परीक्षामा नम्बर धेरै ल्याउने बनाउन शिक्षक र अभिभावक दुवैले अतिरिक्त मेहनत गर्नुपरेको छ । विसं २०१२ मा स्थानीय भीमबहादुर प्रधान र न्हुच्छेदास कर्माचार्यको संयुक्त प्रयासमा स्थापना भएको पुस्तकालयको नयाँ संरचनाको निर्माणपछि बालबालिका छुट्टीका दिन त्यहाँ पुग्ने गरेका छन् ।
नापितका अनुसार पुस्तकालय वरपरका स्कुलका विद्यार्थी भने खाजा खाने समयको छुट्टीमा समेत त्यहीँ गएर खेल्दै, पढ्दै समयको सदुपयोग गर्छन् भने टाढा–टाढाका विद्यार्थीलाई स्कुलले पुस्तकालय भ्रमणमा ल्याउने गरेको छ । अभिभावक पनि स्कुल बिदा भएको बेला बालबालिका लिएर यहाँ आउने गरेका छन् ।
पनौतीकै सामुदायिक बोर्डिङ स्कुलका ४० जना विद्यार्थीलाई पुस्तकालय भ्रमणका लागि ल्याउनुभएका शिक्षक समीर खड्काले त्यहाँको राम्रो व्यवस्थापन देखेर विद्यार्थी ल्याएको बताउनुभयो । एकपटक आएपछि विद्यार्थीले नै पुस्तकालय भ्रमणमा लैजान अनुरोध गर्ने गरेको अनुभव पनि शिक्षक खड्काले सुनाउनुभयो ।
पुस्तकालयमै भेटिएकी कक्षा ५ मा अध्ययरत श्रद्धा कर्माचार्यले भन्नुभयो, “यहाँ राखिएका राम्रा–राम्रा पुस्तक पढ्न पाउँदा खुसी लाग्छ, त्यही भएर यहीँ आउन मन लाग्छ ।” संस्थापकद्वय प्रधान र कर्माचार्यले बनाएको कलात्मक घरमा सञ्चालन गरिएको पुस्तकालयलाई व्यवस्थित बनाउन रिड सञ्चार अभियानले आर्थिक सहयोग गरेको नापितले बताउनुभयो ।
पुस्तकालयको नयाँ भवन बनाउन पुष्पदास कर्माचार्य, मुकुन्ददास कर्माचार्य, मिठुमाया कर्माचार्यले जग्गा प्रदान गर्नुभएको हो । पुराताìिवक महìवलाई ध्यानमा राखी इँटा, काठ र चुनासुर्की प्रयोग गरी भवन निर्माण गरिएको छ ।
एक सयमा एक सातापुस्तक घरमै लगेर वा त्यहीँको शान्त र सफा वातावरणमा पनि बसेर पढ्न पाइने व्यवस्था पुस्तकालयले मिलाएको छ । हाल सो पुस्तकालयको आजीवन सदस्य ८४ जना छन् भने सदस्य सङ्ख्या नौ सयभन्दा बढी छन् ।
विसं २०७१ मा निर्माण भएको पुस्तकालयको नयाँ भवनमा श्रव्यदृश्यका सामग्रीसमेत राखिएका छन् । बालकक्ष र ठूलाका लागि गरी हाल पुस्तकालयमा विविध प्रकारका १३ हजार पुस्तक छन् । राम्रो व्यवस्थापन गरेको भन्दै शिक्षा मन्त्रालयले पुस्तकालयलाई सम्मानसमेत गरेको छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?