logo
२०८१ मंसिर ८ शनिवार



महिला पत्रकारको ‘बाइलाइन’ गोरखापत्र पहिलो

राष्ट्रिय |


महिला पत्रकारको ‘बाइलाइन’ गोरखापत्र पहिलो



गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ ११ गते । काठमाडौँबाट प्रकाशित राष्ट्रिय दैनिक अखबारमध्ये पछिल्लो तीन महिनामा गोरखापत्र दैनिकमा सबैभन्दा धेरै महिला पत्रकारको ‘बाइलाइन’ छापिएको छ । फ्रिडम फोरम नेपालले सन् २०१९ को अप्रिलदेखि जुन महिनासम्म छापा माध्यमको अनुगमन प्रतिवेदनमा गोरखापत्र दैनिकमा १७ वटा समाचार महिलाको बाइलाइनमा छापिएको उल्लेख छ । पुरुषको बाइलान भने ४६ वटा छापिएका छन् । द राइजिङ नेपालमा भने १३ महिला र ३३ पुरुषका बाइलान छापिएका छन् । अध्ययन हप्ताको एक दिन पहिलो पृष्ठलाई आधार बनाइने छ ।
प्रतिवेदन अनुसार अनलाइनतर्फ भने सेतोपाटी डटकममा सबैभन्दा बढी महिला पत्रकारले समाचार लेखेको देखिएको छ । सेतोपाटीमा १३ वटा महिला र १५ वटा पुरुषको बाइलाइन प्रकाशित भएका छन् । छापा माध्यममा गोरखापत्र, कान्तिपुर, नागरिक, अन्नपूर्ण पोस्ट, रिपब्लिका, द राइजिङ नेपाल, द हिमालयन टाइम्स, द काठमाण्डु पोस्ट र नेपाल समाचारपत्रको समाचार अनुगमन गरिएको छ । अनलाइनमा भने बाह्रखरी, लोकान्तर, अनलाइन खबर, पहिलो पोस्ट, राटोपाटी र सेतोपाटीका समाचार अनुगमन गरिएको हो ।
राष्ट्रिय स्तरका नौवटा दैनिक अखबार र छवटा अनलाइन समाचार पोर्टलको समाचार विश्लेषण गरी प्रतिवेदन तयार पारिएको फ्रिडम फोरमले जनाएको छ । विगतभन्दा यस वर्ष समाचारको विषयवस्तु र बाइलाइनमा महिला देखिने क्रम बढेको फ्रिडम फोरमका लैङ्गिक अनुगमन अधिकृत नानुमैया खड्काले बताउनुभयो । धेरैजसो पत्रकार महिला सामाजिक विषयवस्तुमा समाचार लेख्ने गरेको पाइएको खड्काले बताउनुभयो । तीन महिनाको अनुगमनको क्रममा ६६६ वटा बाइलाइन समाचारमध्ये १३ प्रतिशत महिला र ८७ प्रतिशत पुरुषको पाइएको फोरमले जनाएको छ ।
फ्रिडम फोरमले सन् २०१६ को अक्टोबरदेखि सञ्चारमाध्यममा महिलाको उपस्थितिबारे अध्ययन तथा अनुगमन गर्दै आइरहेको छ । हरेक तीन महिनामा अध्ययनको प्रतिवेदन सार्वजनिक गरिन्छ । हप्ताको एक दिनको अखबार र अनलाइनको गृहपृष्ठमा समावेश समाचारको मात्र अध्ययन गरी रेकर्ड गरिने फ्रिडम फोरमका कार्यकारी निर्देशक तारानाथ दाहालले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?