दीपक श्रेष्ठ
काठमाडौँ, भदौ ११ गते । विध्वंसकारी स्वभावको अमेरिकन फौजीकीराले नेपाली खेतीमा आक्रमण थालेपछि त्यसविरुद्ध लड्न नेपाली वैज्ञानिक शत्रुजीव (परजीवी कीरा)को खोजीमा लागेका छन् । अमेरिकी फौजीकीराविरुद्ध परजीवी कीराको पहिचान र विकास गरी प्रभावित क्षेत्रमा छाड्ने योजना नेपाली वैज्ञानिकको छ ।
नेपाल कृषि अनुसन्धान परिषद् कीट विज्ञान महाशाखाका वैज्ञानिक परजीवी कीराको अण्डा सङ्कलनका लागि काभ्रे, सिन्धुपाल्चोक र सिन्धुली जिल्ला पुगेका थिए । सो समूहले सिन्धुलीबाट केही शत्रुजीव (परजीवी कीरा)का अण्डा सङ्कलन गरी प्रयोगशालामा पालेर त्यसको जीवन चक्रको अध्ययन गरिरहेका छन् । महाशाखाका प्रमुख डा. प्रेमनिधि शर्माले भन्नुभयो, “परजीवी कीराको अण्डा सङ्कलन गरी प्रयोगशालामा पालिरहेका छौँ । ” उहाँका अनुसार बारुला प्रजातिका परजीवी कीराले शत्रु जीवको अण्डामा नै फुल पार्छ । बालीलाई हानि पु¥याउने कीराको अण्डामै परजीवी कीराले आफ्नो अण्डाको विकास गर्छ । जसले गर्दा शत्रुकीराको अण्डा नस्ट हुन्छ र त्यसको ठाउँमा परजीवी कीरा फैलन्छ ।
महाशाखाले किसानको बालीनालीमा क्षति पु¥याउने र फाइदा गर्ने एक हजार ८०० कीराको पहिचान गरी प्रयोगशालामा राखेको छ । बाह्य देशबाट मुलुकमा भित्रने र यही भएका रैथाने कीराको पहिचान गरी त्यसले बालीमा पु¥याउने क्षतिबारे महाशाखाले अध्ययन गर्दै आएको छ ।
मुलुकका विभिन्न क्षेत्रमा अमेरिकी फौजीकीराले मकै बालीमा क्षति गरेको पुष्टि भएपछि कृषि तथा पशुपक्षी विकास मन्त्रालयले अमेरिकी फौजीकीराको फैलावट अध्ययन र व्यवस्थापनका लागि एकीकृत शत्रुजीव व्यवस्थापन र सर्वेक्षण प्रोटोकल बनाउन वैज्ञानिक, विज्ञको सहभागितामा प्राविधिक कमिटी गठन गरेको छ । मन्त्रालयका सहसचिव डा. हरिकृष्ण केसीको संयोजकत्वमा गठित प्राविधिक कमिटीले केही दिनमै सर्वेक्षण र आईपीएम प्रोटोकल तयार पार्ने छ । त्यसपछि अमेरिकी फौजीकीराको व्यवस्थापनमा कसरी अगाडि बढ्ने भन्ने बाटो खुल्ने जनाइएको छ ।
के हो अमेरिकन फौजीकीरा ?
मकै बालीमा लाग्ने पुतली समूहअन्तर्गत पर्ने रात्रिचर कीरा हो, अमेरिकन फौजीकीरा । यस कीराको लार्भा अवस्थाले मकैलगायत विभिन्न प्रकारका ८० बालीलाई नोक्सानी पु¥याउने गरेको पाइन्छ । यसले जुनेलो, धान, गहुँ, कोदो, उखु, बन्दा, चुकन्दर, बदाम, भटमास, प्याज, कपास, गोलभेँडा, आलुलगायत घाँसेबालीमा समेत क्षति पु¥याउन सक्ने वैज्ञानिक बताउँछन् ।
यो कीराको वयस्क पुतली खाना र बासस्थानको खोजीमा सय किलोमिटर टाढासम्म उडेर जान सक्छ । सन् २०१८ को मे महिनामा भारतको कर्नाटक राज्यमा भेटिएको यो कीरा २०७६ साल वैशाख २६ मा गैँडाकोटमा पहिचान गरिएको किट विज्ञान महाशाखाले जनाएको छ ।
पहिचान कसरी ?
यस कीराको लार्भा अवस्थाले मकैको पात, गुभो, जँुंगा र घोगामा समेत क्षति पु¥याउँछ । फुलबाट भर्खरै निस्केका साना लार्भाले पातको तल्लो सतहबाट हरियो भाग खाएर झिल्ली मात्र बाँकी राख्छ । जसले गर्दा मकैका पातमा सेता लाम्चा झिल्लीसहितका प्वाल देखा पर्छ । बिस्तारै लार्भा बढ्दै जाँदा पातमा कीराले खाएका प्वाल देखा पर्दै जान्छ । लार्भा हुर्कने क्रममा गुभोभित्र प्रवेश गरी मकैको बोटलाई काटेको जस्तो गरी ढाल्न थाल्छन् ।
सुरुको लार्भा अवस्थामा कीरा सेतो वा हल्का हरियो र टाउको कालो रङको हुन्छ । हुर्कदै जाँदा लार्भाको शरीर साधारणतया खैरो र टाउको गाढा खैरो रङको हुन्छ । लार्भाको टाउकोमा अङ्ग्रेजीको घोप्टो वाइ अक्षरको सेतो रङ हुन्छ । पूर्ण विकसित लार्भा तीनदेखि चार सेन्टिमिटरसम्मको हुन्छ । लार्भाको माथिल्लो भागमा पेटको अन्तिमतिर आठौँ खण्डमा ठूला कालो रङका चारवटा थोप्ला वर्गाकार रूपमा देखिन्छ । लार्भाको शरीरको माथिल्लो भागमा तीनवटा पहेँलो रङका धर्का टाउको पछाडिदेखि पेटको अन्तिम भागसम्म समानान्तर रूपमा प्रस्ट देखिन्छ ।
वयस्क पुतली खरानी मिश्रित खैरो रङको हुन्छ । एक पोथी पुतलीले आफ्नो चारदेखि छ दिनको जीवनमा एक हजारभन्दा बढी फुल पार्दछ । दुईदेखि तीन दिनमा फुलबाट निस्किएका लार्भाले सुरुमा एकै ठाउँमा बसेर पातको हरियो भाग खान्छ । लार्भा अवस्थामा पाँचपटक काँचुली फेरेपछि १४ देखि १८ दिनमा माटोमा प्युपा अवस्थामा जान्छ । सातदेखि आठ दिनसम्म प्युपा अवस्थामा अचल बसेपछि वयस्क पुतली निस्कने गर्दछ ।
व्यवस्थापन गर्ने यसरी
वर्षे मकै सकेसम्म ढिलो नगरी समयमै रोप्न विज्ञहरूले सुझाव दिएका छन् । निश्चित ठाउँमा सबैले एकै समय अर्थात् एक हप्ताभित्रै मकै रोपिसक्नुपर्छ । मकैभित्र कोसेबालीलाई अन्तरबालीका रूपमा लगाउँदा कीराको प्रकोप कम गर्न सकिन्छ । यस कीरालाई डेस्मोडियम घाँस मन नपर्ने हुनाले मकैभित्र यो घाँस पनि लगाउन सकिन्छ । खेतबारीको छेउछेउमा नेपियर घाँस लगाएर यो कीरालाई ‘इरिटेड’ बनाउन सकिन्छ । यो कीराले नेपियर घाँससमेत मन पराउँदैन ।
वातावरणलाई हानि नपु¥याउने रासायनिक विषादीको पनि प्रयोग गर्न सकिन्छ । किट विज्ञान महाशाखाका अनुसार ‘इमिडाक्लोप्रिड ४८ प्रतिशत एफएस’ नामक विषादी चार मिलीलिटर प्रतिकिलोग्राम बीउमा उपचार गरेर मकै रोप्न सकिन्छ । त्यस्तै मकैको पातमा सेता लाम्चा झिल्लीसहितको प्वाल देखिएमा निमजन्य विषादी ‘एजाडिराक्टिन १५०० पीपीएम’ पाँच मिलीलिटर प्रतिलिटर पानीमा मिसाएर छर्नुपर्छ ।