logo
२०८१ मंसिर ८ शनिवार



पार्टी एकीकरणबारे राजपामा दुई धार

राष्ट्रिय |


पार्टी एकीकरणबारे राजपामा दुई धार


गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ १३ गते । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले समाजवादी पार्टीसँग एकता गर्ने वा पार्टीको महाधिवेशन गर्ने भन्ने कार्यसूचीमा छलफल गर्नका लागि बोलाइएको राजनीतिक समितिको बैठक स्थगित गरेको छ ।
राजपा नेपालको अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुरको निवासमा बिहीबार बसेको अध्यक्षमण्डलको बैठकले राजनीतिक समितिको बैठक स्थगित गर्ने निर्णय गरेको हो । समाजवादी पार्टीसँग एकीकरण तथा महाधिवेशनका लागि छलफल गर्न शुक्रबार राजनीतिक समितिको बैठक बोलाइएको थियो ।
अध्यक्षमण्डलका संयोजक राजकिशोर यादवले बैठक बोलाउँदा पार्टीमा विवाद भएको थियो । सल्लाह नै नगरी बैठक बोलाइएको भन्दै पार्टीभित्र विभिन्न आरोप–प्रत्यारोप सुरु भएपछि सहमतिका आधारमा एक दिनका लागि बैठक स्थगित गरिएको पार्टीका सचिव सञ्जय यादवले जानकारी दिनुभयो ।
शुक्रबार अध्यक्षमण्डलको बैठक बसेर राजनीतिक समितिको कार्यसूचीबारे छलफल गर्ने अनि शनिबार बैठक बस्ने छलफल भएको उहाँले जानकारी दिनुभयो । समाजवादी पार्टीसँगको एकीकरण कार्यसूची लामो समयदेखि अनौपचारिक वार्ता भए पनि हालसम्म कुनै निष्कर्ष निस्केको छैन । समाजवादी पार्टीसँग एकीकरण गर्नेबारे स्पष्ट पार्नका लागि राजनीतिक समितिको बैठक बोलाइएको राजपा नेपालका अध्यक्षमण्डलका संयोजक राजकिशोर यादवले बताउनुभयो ।
दुई दिनसम्म चल्ने राजनीतिक समितिको बैठकमा विभिन्न दलसँगको एकीकरण, आगामी महाधिवेशन, संसद्मा पार्टीको भूमिका, प्रदेश २ को सरकार सञ्चालनलगायतका विषयमा छलफल हुने बताइएको छ । समाजवादी पार्टीसँग एकीकरण गर्ने कि नगर्ने विषयमा राजपा नेपालमा दुइटा पक्ष देखिएको छ । एउटा पक्षले पार्टीको महाधिवेशन सम्पन्न गरेर समाजवादी पार्टीसँग एकता प्रक्रिया अगाडि बढाउने भनेको छ भने अर्को पक्षले पहिला एकीकरण गर्ने अनि मात्र एकताको महाधिवेशन गर्ने भनेको छ ।
राजपा नेपालका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतो वार्ता समितिका संयोजक हुनुहुन्छ । उहाँले समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेतासँग अनौपचारिक छलफल गर्दै आउनुभएको छ । दुई पार्टीको एकीकरणका लागि हरेक विषयमा छलफल भइरहेको छ तर कुनै कुराको टुङ्गो लागेको छैन । समाजवादी पार्टीका प्रचारप्रसार प्रमुख प्रशान्त सिंहले कुराकानी सकारात्मक रूपमा अगाडि बढेको छ तर निष्कर्ष ननिस्केको दाबी गर्दै यसमा राजपा नेपालको ढिलासुस्तीले त्यस्तो भएको बताउनुभयो ।
राजपा नेपालका अध्यक्षमण्डलका सदस्य महेन्द्रराय यादवले छलफल सकारात्मक रूपमा अगाडि बढेको केही दिनमा टुङ्गो लाग्ने बताउनुभयो । राजपा नेपाल अध्यक्षमण्डलका सदस्य अनीलकुमार झाले भने एकीकरणबारे आफूलाई केही जानकारी नरहेको बताउनुभयो । समाजवादी पार्टीसँग एकीकरणका लागि छलफल हुँदैछ भनी आफूले सञ्चारमाध्यमबाट जानकारी पाएको बताउनुभयो । आफ्नो पार्टीको तर्फबाट गठन भएको वार्ता समितिका संयोजक राजेन्द्र महतोले समाजवादी पार्टीसँग छलफल गरे पनि पार्टीमा त्यसबारे कुनै जानकारी नआएको उहाँले बताउनुभयो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?