logo
२०८१ मंसिर ८ शनिवार



चारखालको एक भाग भत्काइयो

राष्ट्रिय |


चारखालको एक भाग भत्काइयो


सरोज आचार्य

काठमाडौँ, भदौ १४ गते । काठमाडौँ महानगरपालिका वडा नं३० कार्यालयले चारखाल अड्डा भवनको एक भाग भत्काइदिएको छ । भवन जीर्ण भएर आफैँ भत्कन थालेपछि वडा कार्यालयले डिल्लीबजार सदरखोरका लागि सुरक्षा गरिरहेको अनाश्रित प्रहरी गुल्मका प्रहरीको सुरक्षार्थ भवन भत्काएको हो ।
वडाध्यक्ष दलबहादुर कार्कीले भवन आफैँ भत्केर गुल्मका प्रहरी दुर्घटनामा पर्नसक्ने भएपछि विभिन्न सरकारी कार्यालयको रोहवरमा भवन भत्काउनु परेको बताउनुभयो । करिब २० रोपनी जग्गा ओगटेको चारखालको चार रोपनी सदरखोर डिल्लीबजारले ओगटेको छ भने १३ रोपनी जग्गा सरकारले हुलाक कार्यालयको भवन निर्माणका लागि दिएको छ ।
सदरखोरका जेलर अरुण पोखरेलका अनुसार, भूकम्पले भत्काएको सदरखोर अड्डा भवनका केही भाग सवलीकरण गरिएको थियो । भूकम्पले जीर्ण बनाएको हुलाक र मालपोत कार्यालयतर्फको आवागमन भागसँग जोडिएको भवन अपर्झट छत भत्किएपछि सुरक्षाका दृष्टिकोणले त्यो भवनको जगैसम्म भत्काइएको हो ।
अनाश्रित प्रहरी गुल्मका निरीक्षक पुरुषोत्तम थपलियाले चारखालका बचेका भाग आफैँ भत्कने अवस्थामा रहेको बताउनुभएको छ । जेलर पोखरेलका अनुसार, हुलाकको जग्गाको केही भाग कारागारले प्रयोग गरिरहेको छ । यो भाग भत्केर जनधनको क्षति नहोस् भन्ने सोचिएको छ । चारखाल भवनमा एक समय जिल्ला अदालत, नापी, मालपोत, भूमिसुधार, सरकारी वकिल कार्यालय, गुठी संस्थान, जिल्ला विकास समितिलगायतका सरकारी कार्यालय सञ्चालनमा रहेका थिए ।
चारखाल कसको ?
यी कार्यालय अन्यत्र स्थानान्तरण गरिएपछि चारखाल भवन बेवारिस जस्तो हुन पुगेको छ । यो भवनलाई व्यावसायिक कम्प्लेक्स निर्माण गर्ने गरी सरकारले भवन खाली गरेको थियो । जेलर पोखरेल र अनाश्रित गुल्मका थपलियाले चारखाल भवन कसको मातहत छ भन्ने आफूहरूलाई जानकारी हुन नसकेको बताउनुभएको छ । महानगरपालिका इन्जिनियर वीरबहादुर कार्कीले भवनको अवस्था र आधिकारिकताबारे थप जानकारी हुन नसकेको बताउनुभयो ।
उहाँका अनुसार, भवनका भाग भकाभक आफैँ भत्कन थालेपछि मानवीय क्षति हुन नपाओस् भनेर विभिन्न सरकारी निकायको अनुरोध र रोहवरमा भवनको एक भाग भत्काइएको हो । सुन्धाराको गोश्वारा हुलाक यही भवन आसपास सरेको र मालपोत कार्यालय पनि यहीँ रहेकाले यहाँ सेवाग्राहीको आगमन र चहलपहल बढेको छ । अड्डा भवन कहिले आफैँ गर्लम्म ढल्ला भन्ने पिरलो छ, एक भाग मात्र भत्काइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?