logo
२०८१ मंसिर ८ शनिवार



पूर्व युवा तथा खेलकुदमन्त्री नेपालीको निधन

राष्ट्रिय |


पूर्व युवा तथा खेलकुदमन्त्री नेपालीको निधन


महोत्तरी समाचारदाता-
जलेश्वर, भदौ १३ गते । प्रजातान्त्रिक आन्दोलनका अग्रणी तथा पूर्व युवा तथा खेलकुद मन्त्री गणेश नेपालीको शुक्रबार साँझ महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित घरमा निधन भएको छ ।
वि.सं. २०६४ को संविधान सभा निर्वाचनमा महोत्तरी निर्वाचन क्षेत्र नं. ३ बाट तराई मधेश लोकतान्त्रिक पार्टीबाट सभासद भई मन्त्री हुनुभएका नेपाली लामो समयदेखि क्यान्सर रोगबाट पीडित रहनुभएको थियो । प्रजातान्त्रिक आन्दोलनकै कारणले उहाँले पुस्तैनी थर तिवारीलाई हटाएर नेपाली लेख्न थाल्नुभएको थियो ।

वि.सं. १९९९ सालमा हालको जलेश्वर नगरपालिका वडा नं. ५ चौरिया गाउँमा जन्मनुभएका नेपालीले आफूपछि पत्नी दानाबती नेपाली, छोराहरु बजरंग नेपाली र ओमप्रकाश नेपालीलाई छाडेर जानुभएको हो । २०४६ सालमा नेपाली काँग्रेस महोत्तरीका निर्वाचित जिल्ला सभापति गणेश नेपाली २०५१ मा नेकपा (एमाले) केन्द्रिय पार्षद तथा नेपाल किसान संगठनका केन्द्रिय सदस्य हुनुहुन्थ्यो । संगठन निर्माण तथा विस्तार र शिक्षाप्रति उहाँको आकर्षण रहेकोले २०२६÷०२७ सालतिर चौरिया, पतैली, मटिहानी, मुसरपटि आदि गाउँहरुमा साक्षरता अभियान अन्तर्गत राती पाठशाला समेत सञ्चालन गर्नुभएको थियो ।

यसै क्रममा तत्कालिन निरंकुश पञ्चायती दलविहिन व्यवस्था २०२८ सालमा पक्राउ परी शान्ति सुरक्षा अन्तर्गत जलेश्वर र सिन्धुली कारागारमा ९ महिना जेल जीवन समेत विताउनुभएको थियो । प्रतिबन्धित नेपाली काँग्रेसबाट प्रकाशित पत्रिका तरुणका तत्कालिन सम्पादक शैलजा आचार्यसँग सम्पर्कसूत्र बनाई वनारसमा निर्वासित जीवन विताइरहुनभएका वि.पी.कोइराला र गोरखपुरमा रहनुभएका गणेशमान सिंहसंग समेत उहाँले सानिन्धयता प्राप्त गर्नुभएको थियो ।
पञ्चायती व्यवस्थाको विरुद्धमा तथा लोकतान्त्रिक व्यवस्था स्थापनाका लागि हरिहर विरही, बलराम शर्मा लगायतका पत्रकारसाथीहरुसँग मिलेर पत्नीका गरगहना बेची विमोचन, हुँकार र ललकारजस्ता पत्रिका पनि उहाँले प्रकाशन गर्नुभएको थियो । त्यसैगरी भारत

प्रवास रहँदा तत्कालिन इन्दिरा गाँधी सरकारको नेपाली काँग्रेसको सशस्त्र आन्दोलन प्रति नकारात्मक धारणा राख्नुभएका नेपालीले ई.सं. १९७४मा नावालिक छोरा बजरंग नेपालीलाई हातहतियार ओसारपसार गर्दा नावालक छोरासहित बलराम शर्मा, भारतीय नागरिक रामचन्द्र ठाकुर, महेन्द्र पाण्डेयसहित भारतको विहार राज्य सीतामढीस्थित सेन्ट्रल कारागारमा जेलनेलसहित गोल घरमा समेत जीवन विताउनुभएको थियो ।

मधेश आन्दोलनमा सकृय भूमिका निर्वाह गर्नुभएका नेपाली हाल राजपाका केन्द्रिय सदस्य समेत रहनुभएको थियो । उहाँको दाहसंस्कार शनिबार दिउँसो २ बजे पैतृक गाउँ जलेश्वर नगरपालिका वडा नं. ५ चौरियामा हुने छोरा बजरंग नेपालीले जानकारी दिनुभयो ।
जिल्लामा पूर्वमन्त्री नेपालीसहित एक सातामै अर्का पूर्वमन्त्री महेन्द्र रायको निधन हुँदा जिल्लावासी शोकमा मर्माहत छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?