logo
२०८१ मंसिर ९ आईतवार



तीजका अवसरमा शुभकामना

राष्ट्रिय |


तीजका अवसरमा शुभकामना


गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ १६ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीजजस्ता चाडपर्वको गरिमालाई सम्मानजनक बनाइराख्नु आजको आवश्यकता भएको बताउनुभएको छ ।
हरितालिका तीज, २०७६ को अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले भन्नुभएको छ, “संस्कारयुक्त आदर्श सामाजिक वातावरण तयार गर्न र सदाचार जीवनशैली अपनाउनका लागि यस्ता चाडपर्वको गरिमालाई सम्मानजनक बनाइराख्नु आजको आवश्यकता हो । ”
राष्ट्रपतिले स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपाली दिदीबहिनीमा हर्षोल्लास, सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवं सुस्वास्थ्य र दीर्घ जीवनको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
सांस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीकका रूपमा रहेको यस पर्वमा नेपाली नारीहरूले आफ्नो सौभाग्य र परिवारजनको समृद्धिका लागि व्रत बसेर भगवान् शिव–पार्वतीको पूजा आराधना गर्ने प्रचलन रहिआएको छ ।
यस्ता पर्वले नेपालीहरूलाई एकताको सूत्रमा आबद्ध गर्दै धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्न र एकापसमा खुसी साटासाट तथा मनोरञ्जन गर्ने अवसरसमेत प्रदान गर्दै आएको राष्ट्रपतिको शुभकामनामा उल्लेख छ ।
यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीले हिन्दु महिलाको महान् पर्व हरितालिका तीजको उपलक्ष्यमा शुभकामना दिनुभएको छ । सिङ्गापुरमा स्वास्थ्य उपचार गराइरहनुभएका प्रधानमन्त्री ओलीले ट्विट गर्दै भन्नुभएको छ, “नेपाली महिलाको महान् पर्व हरितालिका तीजको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको हार्दिक शुभकामना । ”
प्रधानमन्त्रीले नेपाली महिलाले सामन्ती संस्कार र प्रचलनको बोलवाला रहेका समयमा समेत तीजलाई थोरै भए पनि राहतको अनुभूति गराउने पर्वका रूपमा मनाउने गरेको स्मरण
गर्नुभएको छ ।
तीजका अवसरमा प्रधानमन्त्रीले जारी गर्नुभएको शुभकामना सन्देशमा भनिएको छ, “नेपालको सकारात्मक सांस्कृतिक परम्परामा महिला मुक्ति वा स्वतन्त्रताको भावना मुखरित गर्ने पर्वका रूपमा तीजको विशेष महŒव छ । ”
उहाँले भन्नुभएको छ, “नेपाली महिलालगायत लामो समयसम्म आर्थिक–सामाजिक अवसरबाट वञ्चित सबैका लागि सारभूत समानताको प्रत्याभूति गर्दै जननिर्वाचित संविधानसभाबाट निर्माण गरिएको संविधानलाई कार्यान्वयन गर्दै पर्याप्त कानुनहरू बनिसकेका छन् । ” उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ, “राजनीतिकलगायत समाजका अन्य क्षेत्रमा नेपाली महिलाको उपस्थिति उल्लेखनीय रहेको छ । महिलाको प्रतिनिधित्व संसद्मा ३३ प्रतिशत र स्थानीय तहमा करिब ४१ प्रतिशत पुगेको छ । यो तथ्यले प्रत्येक नेपालीलाई गौरवानुभूति हुने गरेको छ । ”
यस्तै, नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हरितालिका तीज पर्वले समाजमा सौहार्दता र एकतालाई मजबुत तुल्याउने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले हरेक पर्वको माध्यमबाट आपसी प्रेम, सद्भाव, विश्वास र भाइचारा व्यक्त गर्ने परम्पराले समाजलाई साझा फूलबारीका रूपमा प्रतिविम्बित गर्दै आएको बताउनुभएको छ ।
हरितालिका तीजको पूर्वसन्ध्यामा सभापति देउवाले स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले चेलीहरू माइत आउने र पारिवारिक सम्बन्ध हार्दिक बनाउन भूमिका निर्वाह गर्ने तीजको नेपाली समाजमा विशष महŒव रहेको उल्लेख गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?